लामो समयको लागि निस्कन नसकिए पनि छोटो समयको लागि पनि अहिले काठमाडौं वरिपरि थुप्रै गन्तव्यहरु भेटिन थालेको छ ।
शैलुङ, आमा यांग्री, चित्लाङ, सुकुटे बीच, हलेसी महादेव, कालिन्चोकजस्ता स्थानहरु एक रात बाहिर बसेर घुम्न जान सकिने स्थानहरु हुन । यहाँ एक रातको बसाईमा घुम्न सकिने केही काठमाडौं नजिकका स्थानहरुको चर्चा गर्ने कोसिस गरिएको छ ।
आमा याङ्ग्री
आमा याङ्ग्री धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले महत्वपूर्ण गन्तव्य हो । समुन्द्री सतहदेखि ३,७७१ मिटर उचाईमा अवस्थित यो सुन्दर पहाड र त्यसमाथि आमा ज्योमो यांग्री मन्दिर पनि छ ।
काठमाडौंबाट झन्डै ९० किलोमिटर उत्तर–पश्चिम दिशामा पर्ने आमा याङ्ग्री ट्रेकलाई मनमोहक पदयात्राको रूपमा लिइन्छ जुन राजधानी काठमाडौंबाट नजिकैको गन्तव्य पनि हो। यहाँबाट लाङटाङ हिमशृंखला, जुगल हिमशृंखला, गौरीशंकर हिमशृंखला, दोर्जे लाक्पा, गणेश हिमाल, ग्याल्जेन पिक, याङ्ग्री हिमाल, भेमाथाङ हिमाल, गान्छेन्पो हिमाललगायतका दुई दर्जनभन्दा बढी हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । पदयात्रामा पर्यटकले ह्योल्मो कला–संस्कृति, भाषा, भेषभूषा र रहनसहनको पनि अवलोकन गर्न पाउँछन । यात्राका क्रममा यो सिजनमा राष्ट्रिय फूल लालीगुराँस ढकमक्क फूलेका छन् । राष्ट्रिय चरो डाँफे पनि यो क्षेत्रमा भेटिन्छ ।
काठमाडौंबाट तार्केघ्याङसम्म सार्वजनिक बसमा जान सकिन्छ । आफ्नो सवारीसाधन भएमा बेस क्याम्पसम्म एकै दिनमा पुग्न सकिन्छ । बेस क्याम्पबाट बिहान ४ बजे हिँड्यो भने दुई–तीन घण्टामा आमा याङ्ग्री पिक पुगेर सोही दिन काठमाडौं फर्किन सकिन्छ । यो ट्रेल दुई दिनमा पूरा हुन्छ ।
हेलम्बु भेगमा पल्चोकी भगवती माई पनि ठूलो धार्मिक आस्था रहेको स्थल हो । आमा याङ्ग्री हेलम्बु हेरिटेज ट्रेल (तल्लो हेलम्बु ट्रेक), माथिल्लो हेलम्बु ट्रेक र गन्जला पास ट्रेकको रुटमा पनि पर्दछ । नयाँखाङ हिमाल (गन्जला चुली), आमा बाङरिमा आरोहण गर्न जाँदा पनि यही बाटो हुँदै जान सकिन्छ ।
शैलुङ
प्राकृतिक सम्पदाले भरिपूर्ण ‘शैलुङ’को नाम तामाङ भाषाबाट राखिएको हो । जसको अर्थ तामाङ भाषामा “शै” भनेको सय र “लुङ” भनेको थुम्का भन्ने बुझिन्छ । सयौँ थुम्काहरूको समूह मिलेर शैलुङ बनेको छ ।
प्राकृतिक, सांस्कृतिक तथा पुरातात्त्विक पर्यटनको राम्रो सम्भावना बोकेको शैलुङ गाउँपालिका बर्खायाममा घुम्न जाने योजना बनाउनु त्यति उचित नहोला ।
शैलुङसम्म पुग्न काठमाडौँबाट मुढेसम्मको सार्वजनिक या व्यक्तिगत यातायात प्रयोग गर्न सकिन्छ । लोकल गाडीहरूले पर्यटकलाई ढुङ्गेसम्म लैजान्छन् । ढुङ्गेबाट अगाडी कालापानीसम्म पुग्न ३ किलोमिटरको बाटो तय गर्नुपर्छ, जसको लागि पैदल यात्रा गर्न सकिन्छ या भाडाका साना गाडी लिएर अघि बढ्न सकिन्छ । कालापानीबाट करिब एक घण्टाको यात्रा तय गरेपश्चात् ‘शैलुङ डाँडा’सम्म पुग्न सकिन्छ । हवाईमार्ग हुँदै हेलिकप्टर प्रयोग गरेर जाने इच्छुक पर्यटकले पनि ढुङ्गेमा अवतरण गर्नुपर्ने हुन्छ ।
शैलुङ गाउँपालिका पुगिसकेपछि घुम्नै पर्ने केही ठाउँमध्ये पहिलो शैलुङ डाँडा रहेको छ । प्रकृतिको काखमा बसेर आफ्ना सारा पिडाहरू भुलाउन यो डाँडा पुग्नेहरूको सङ्ख्या दिनदिनै बढिरहेको छ । १०८ वटा थुम्का–थुम्कीले बनेको मनमोहक शैलुङ डाँडा पुग्दा हृदय पुलकित हुन्छ । त्यसैगरि डाँडाबाट लगभग २१० देखि २२० डिग्रीको पेरिफेरीमा जुगल, गणेश, गौरीशङ्कर आदि हिमाल हाँसिरहेको देख्न सकिन्छ ।
गाउँपालिकामा घुम्ने दोस्रो स्थान चनावती धाम रहेको छ । धार्मिक पर्यटनको राम्रो सम्भावना बोकेको उक्त ठाउँ तामाकोशी र चनावती खोलाको सङ्गममा रहेको छ । धाममा हिन्दु धर्मावलम्बी विशेषगरि स्नान आदिका लागि जाने गरेका छन् । शैलुङमा घुम्ने तेस्रो ठाउँ नाबङखर्क डाँडा रहेको छ । जहाँबाट दोलखा–रामेछाप–सिन्धुपाल्चोक आदि स्थानको दृश्यावलोकन गर्न सकिन्छ । आखिर अग्लो ठाउँबाट संसार हेर्नुको मजा नै छुट्टै छ ।
चौथो स्थान राजा गोल्माको दरबार रहेको छ । पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण यस स्थानमा उक्त दरबारको भग्नावशेष देख्न सकिन्छ, जसलाई स्थानीय गाउँपालिकाले संरक्षण गर्दै आइरहेको छ । करिब १७ औँ शताब्दीतिर निर्माण भएको उक्त दरबार तामाङ राजा गोल्माको दरबार थियो । राजा निसन्तान भएपछि सो राजवंश सकिएको थियो ।
प्राकृतिक रूपमा सम्पन्न शैलुङको पर्यटन प्रवर्द्धनका लागि विभिन्न भौतिक संरचना निर्माण भइरहेको छ । जसमा करिब ५०० मिटर लम्बाइको मिनी ग्रेटवाल एक रहेको छ भने शिलाबाट विशाल शिवको मूर्ति बनाइएको छ ।
हरेक क्षेत्रको आफ्नो मौलिक खानाका परिकार हुन्छन् । शैलुङमा चौरी पालन हुने भएकाले चौरीको दूधका परिकारहरू विशेष रूपमा चाख्नै पर्ने परिकारमा पर्छन् । त्यसैगरि यहाँ विभिन्न जडीबुटीका अचारको स्वाद समेत लिन सकिन्छ ।
तामाङ र नेवार समुदायको अधिकतम बसोबास रहेको शैलुङ गाउँपालिकामा तामाङ समुदायको विशेष नाच, नेवार समुदायको झाँकी आदि पर्यटकको अनुरोध बमोजिम देखाउन सकिने दाहालले बताए । गाउँपालिकामा अन्यत्रभन्दा फरक किसिमले पन्चे बाजा बजाउने गरिन्छ । सांस्कृतिक रूपमा समेत सम्पन्न शैलुङ घुम्दा त्यहाँको संस्कृतिसँग पनि परिचय गर्न सकिन्छ ।
१२८.६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको दोलखा जिल्लाको शैलुङ गाउँपालिका बौद्ध, हिन्दु, क्रिश्चियन र बोन धर्मवालम्बीहरुको आस्थाका केन्द्रको रूपमा परिचित छ । शैलुङ पर्वतको नामबाट गाउँपालिकाको नामाकरण भएको यस ठाउँसम्बन्धी स्थानीयहरू माझ विभिन्न किवदन्तीहरु प्रचलनमा रहेका छन् । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई साङ्गेलुङ भनिन्थ्यो पछि अपभ्रंश हुँदै शैलुङ रहन गएको समेत भन्ने गरिन्छ । समुन्द्री सतहबाट करिब ३४०० मिटर अग्लो यस स्थानमा बहुमूल्य जङ्गली जडीबुटी पाँचऔंले, चिराइतो, मजिटो, च्यातु लगायत पाउन सकिन्छ । शैलुङ डाँडा आफैँमा प्राकृतिक भ्यूटावर हो हो । जहाँबाट उत्तरी क्षेत्रमा रहेको गौरीशंकर, पाथिभरा हिमश्रृंखला, सगरमाथा हिमश्रृंखला आँखै अगाडि देख्न सकिन्छ ।
चित्लाङ
घुम्नका लागि छोटो दूरीको मनोरम पर्यटकीय स्थल खोज्दै हुनुहुन्छ भने चित्लाङ तपाईंका लागि उपयुक्त गन्तव्य हुन सक्छ । शुक्रबार र शनिवारको फुर्सदलाई सदुपयोग गर्दै हरियाली प्राकृतिक दृश्यावलोकन गर्नका लागि चित्लाङ निकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । चैत्य जाने बाटो भएकाले यसको नाम चैतलोङ भयो । पछि अपभ्रंश भएर चित्लाङ रहन गएको स्थानीयहरु बताउँछन् । चित्लाङको उत्तरतर्फ चन्द्रागिरी डाँडा र दक्षिणतिर महाभारत रेञ्ज छ ।
एउटा ऐतिहासिक गाउँ, यसको प्राकृतिक सुन्दरता, यहाँ बस्ने स्थानीयवासीको मौलिकपन, सभ्यता, संस्कृतिबारे बुझ्न चित्लाङ जाने हो । हरिया फाँट र नजिकैको जंगल हेर्दै, गाउँ घुम्दै, स्थानीय मठमन्दिर नियाल्दै, घरेलु खानाको मजा लिँदै, चित्लाङमा रम्न सकिन्छ । त्यति मात्र होइन, अन्य धेरै महत्त्वपूर्ण चिजहरूले पनि सुशोभित छ चित्लाङ । द्वापरयुगमा सप्तऋषिहरूले नुहाउने सप्तऋषी धारामा नुहाउन पनि पाइन्छ ।
चित्लाङको अर्को मज्जा भनेको चित्लाङमै उत्पादित ट्राउट माछा र लोकल बाख्राको दूधबाट उत्पादित चिजको स्वाद लिनु हो ।
चन्द्रागिरी डाडाँको फेदमा रहेको चित्लाङमा अर्गानिक खेती हुन्छ । चित्लाङका होटल, होमस्टे र रिसोर्टमा पनि अग्र्यानिक खानेकुरा प्राथमिकतामा हुन्छन् ।
जैविक विविधताले भरिपूर्ण रहेको ६० जातका अर्किड फूलहरू, चिराइतो, पाँचऔंले, जटामसी, सुनाखरी, लालीगुराँस, मालतागिरी, मजिटो, पाखनवेथजस्ता फूल तथा जडीबुटी पाइन्छन् । यस्तै नास्पाती, भुइँ स्याउ, आरुबखडाजस्ता फल फल्छन् । आरुबखडा तथा नास्पातीबाट वाइन तयार पारेर निर्यात पनि गरिन्छ ।
करिब २० वर्षअगाडि स्थापना भएको ओलिभ फार्म यो ठाउँको प्रमुख आकर्षणमध्ये एक हो । अंग्रेजीमा ओलिभ नामले चिनिने जैतुनको तेल सलादमा प्रयोग गर्ने गरिन्छ ।
एसियामै दुर्लभ मानिएको अल्पाका जनावर यही ठाउँमा मात्रै देख्न पाइन्छ । हेर्दा साना कोरेली गाईजस्ता देखिने यो जनावर ऊनका लागि पालिन्छ । फरक खालको अल्पाकाबाट निकालिने ऊन निकै महँगो हुन्छ ।
चित्लाङमा मृग, बँदेल, चितुवा, काठे भालु, भुइँ भालु, दुम्सीजस्ता स्तनधारी जनवार पनि देख्न सकिन्छ । यो बाहेक संसारको दुर्लभ चरा काँडे भ्याकुर बस्ने ठाँउ पनि चित्लाङ नै हो ।
सबैभन्दा गुलियो मुला चित्लाङमै पाइन्छ भने चित्लाङको नयाँ पौवास्थित खोलामा विसं १९५० तिर बनाइएको १० मिटर लम्बाइ र साढे १ मिटर चौडाइको ढुंगेसाँघु छ । चित्लाङस्थित चन्द्रागिरी पाखाबाट ठूलो ढुंगा छिनाइ त्यसलाई ताछेर साँघुको आकार दिइएको थियो । महिनौं लगाएर साँघुको आकारमा ढुंगा कुँदेपछि पौवा खोलामा ल्याएर हालिएको थियो । करिब १ सय २४ वर्ष अघिदेखि सञ्चालनमा आएको यो साँघुको अहिलेसम्म मर्मत गर्नुपरेको छैन र जोखिम पनि मोल्नु परेको छैन । चित्लाङ पुग्ने स्वदेशी एवं विदेशी पर्यटक ढुंगाको यो साँघु देखेर अचम्मित हुन्छन् ।
चित्लाङ पुगिसकेपछि हाइकिङका लागि राम्रा गन्तव्य धेरै छन् । चित्लाङबाट कुलेखानीको इन्द्रसरोवर तालसम्म हाइकिङ गर्न सकिन्छ । विद्युत आपूर्ति गर्दै आएको इन्द्रसरोवर ताल नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो । यही सरोवरको पानीबाट कुलेखानीमा विद्युत उत्पादन गरिन्छ ।
चित्लाङमा हरियाली घाँसे चौर र नासपातीको घना बगैंचाकै बीचमा काठ, ढुंगा, माटो र टिनबाट बनाइएका स–साना शानदार कटेज देखिन्छन् । दुई रात बस्नेलाई लन्च फ्रि, रातमा क्याम्प फायरको मज्जा ।
काठमाडौंबाट चित्लाङ जान त्यति समस्या छैन । केबुलकार वा आफ्नो सवारीमार्फत बढीमा ३ घण्टामा चित्लाङ पुग्न सकिन्छ ।
काठमाडौंको कुनै पनि ठाउँबाट गाडी चढेर कलंकीसम्म पुग्ने र त्यहाँबाट अर्को गाडीबाटै सिधै केवलकारको स्टेसनसम्म पुग्न सकिन्छ । थानकोट चेकपोष्टबाट करिब डेढ किलोमिटर बायाँतिर गएपछि केबुलकारको बेस स्टेसन पुगिन्छ । केबुलकारमा चढेर २५ सय ५१ मिटरमा रहेको चन्द्रागिरी पुगी चिसो र शान्त वातावरणले मन आनन्दित बनाउँदै घना र हरियाली वनको बाटोबाट २ घण्टामा पदयात्रा गरेर पुगिन्छ चित्लाङ ।
चित्लाङ काठमाडौं उपत्यकादेखि करिब १९ किलोमिटर दक्षिण पश्चिम मकवानपुरमा पर्छ । काठमाडौंको थानकोट गोदाम हुँदै सडक मार्गबाट चन्द्रागिरी पहाड पार गरी मोटर मार्गबाट पनि करिब डेढ घण्टाको यात्रापछि चित्लाङ पुग्न सकिन्छ ।
सुकुटे बीच
आन्तरिक तथा बाह्य पर्यटक सुनकोशी नदीमा र्याफ्टिङ र स्विमिङ गरेर ताजगी हुन्छन्। सुकुटे राजधानी काठमाडौंबाट ६५ किलोमिटर दूरीमा पर्छ। छोटो दूरीमा धेरै कुराको आनन्द र अनुभव लिन पाउने भएकाले अरनिको राजमार्ग बन्देउ कट्नासाथ सिम्लेदेखि बलेफीसम्मको सुकुटे क्षेत्र हजारौँ पर्यटकले भरिएको हुन्छ।
काठमाडौंवासी बाक्लै देखिने सुकुटेमा भारत, चीन, अमेरिका र युरोपियन पर्यटक पनि सराबर नै भेटिन्छन्। पर्यटक मुख्यतः र्याफ्टिङ, स्विमिङ र सुनकोशी नदीमा टहल्न लोभिएका छन्।
चीनसँगको अन्तर्राष्ट्रिय मार्ग कोदारी, छिमेकी जिल्ला दोलखाको कालिञ्चोक र भर्खरै खुला गरिएको भर्जिन हिमाल जुगल आरोहणमा आउने पर्यटकको ट्रान्जिट प्वाइन्ट भएकाले सुकुटे पर्यटकीय हब बनेको हो।
सुकुटेमा सञ्चालित होटेल र रिसोर्टमा अन्तर्राष्ट्रियस्तरको खाने, बस्ने, रमाइलो गर्ने र साहसिक खेलहरू खेल्न पाइन्छ।
भोटेकोशी नदीको शिर बोर्डरल्यान्डबाट कञ्चन पानीमा र्याफ्टिङ गर्दै दोलालघाटसम्म आएर पर्यटकले आनन्द लिन्छन्। पर्यटकले र्याफ्टिङ, कायाकिङ, जंगल सफारी, क्याम्पिङ, स्विमिङ र साइकल राइडिङ गरेर समय बिताउँछन्।
त्यसैगरी, परिवारसहित आएका पर्यटक बालबालिका लिएर जिपलाइन, स्काई साइक्लिङ, पिङ, जायन्ट पिङ, हामुक, केबलकारमा रमाइरहेका भेटिन्छन्। सुकुटे क्षेत्रमा रहेका १५ होटेल तथा रिसोर्टले पर्यटक तान्न विभिन्न व्यावसायिक उपाय अपनाएका छन्।