शेयरबजारको एक वर्षे यात्राः नेप्से करिव १२०० अंकको वृद्धि देखिएतापनि शेयरबजार बढेन भनेर लगानीकर्ताले गर्ने गनगन भने घटेको छैन

Nov 04, 2024 06:37 AM Merolagani



देब गुरागाँई

पूँजीबजार (शेयरबजार)को प्रमुख उद्देश्य कम्पनीहरूलाई पूँजी उठाउन सहयोग गर्नु र लगानीकर्ताहरूलाई कम्पनीमा हिस्सेदारीको लाभ प्रदान गर्नु हो।

यहाँ शेयरहरूको मूल्य विभिन्न कारणः आर्थिक, राजनीतिक, प्राकृतिक प्रकोप र कम्पनीका आन्तरिक अवस्थाको आधारमा लगानीकर्ताको मनोविज्ञानमा परेको असरका बावजुद शेयरको माग र आपुर्तिमा हुने बदलावका कारण शेयरको मुल्य घटबढ भइरहेको हुन्छ। शेयरबजारमा जो कोही पनि आफ्नो सम्पती सिध्याउने उद्देश्यले आउदैनन्। नाफा कमाउन वा सम्पतीको वृद्धि गर्न लगानीको उपयुक्त विकल्पको रुपमा शेयरबजारलाई रोज्ने गर्दछन्। तर एक निश्चित अवधिलाई लिएर गरिएका अधिकांश अनुसन्धान वा विश्लेषणमा लगानीकर्ताले शेयर बजारबाट कमाउने वा सफल हुने भन्दा गुमाउने वा घाटा बेहोर्नेको संख्या बढि देखिन्छ। त्यसैले भनिन्छ शेयरबजारमा करिब करिब ९० प्रतिशतले घाटा ब्यहोरेका हुन्छन्, केवल १० प्रतिशत मात्र सफल भएका हुन्छन्, तैपनि शेयरबजारमा हरेक वर्ष लगानीकर्ताको संख्या भने बढ्दै गईरहेको पाईन्छ । पछिल्लो एक वर्षयता शेयरबजारमा देखिएको उतारचढावमा लेखकको अनुभव यस आलेखमा प्रस्तुत गरिएको छ।

स्मरण रहोस् शेयरबजारमा एक वर्षको समय भनेको लामो समय होईन। ३६५ दिन वा सो भन्दा कम समयमा बिक्री गरिएको शेयरमा लाग्ने पूँजीगत लाभकर नै बढि लिने नीतिगत व्यवस्था गरिएको हुन्छ। एक वर्ष अघि २०८० सालको तिहार भन्दा अगाडी कार्तिक २३, २०८० (नोभेम्बर ९, २०२३) का दिन नेप्से परिसूचक १८५२ मा बन्द भएको थियो भने हाल २०८१ सालको तिहार अघि ३० अक्टोवर २०२४ मा नेप्से परिसूचक २६७७ मा बन्द भएको छ। यसरी हेर्दा परिसूचक ८२५ विन्दुले सकारात्मक भएको देखिन्छ। यद्यपि यस अवधिमै २०८१ भाद्र २ गते नेप्से परिसूचक ईन्ट्राडेमा ३०४८.१५ विन्दुसम्म पुगेको थियो भने क्लोजिङ्गडेको उच्च इन्डेक्स भने २०८१ श्रावण ३१ गते नेप्से परिसूचक ३०००.८१ विन्दु पुगेको थियो। यसै अवधिमा मेरोलगानी डटकमले मिति २०८० मंसिर २३ गते लेखकसँग लिएको भिडियो र लिखित अन्तरवार्ता जसको शिर्षक थियो ‘लगानीकर्ताले के कुरा थाहा पाउनु पर्छ भने अब बजार बढ्ने नै हो, अहिले लगानी नगरे कहिले गर्ने?’ मा लेखकले ढुक्कसँग लगानी गर्न सुझाउनु भएको थियो। यही अवधिमा भएको राजनैतिक परिवर्तन र मौद्रिक नीतिले लिएका खुकुला प्रावधानका कारण हौसिएका लगानीकर्ताको मनोविज्ञानले नेप्से परिसुचक १८०० को विन्दुदेखि वृद्धि भई ३००० विन्दुसम्म पुगेको पाईन्छ।

वि.सं. २०८१ श्रावण ३२ गते एक मिडियामा प्रस्तुत ‘पोर्टफोलियो हेरेर रमाएर मात्रै हुँदैन, समयमा बेचेर पैसा बनाउन पनि जान्नुपर्छ’ भन्ने शिर्षकको भिडियो अन्तरवार्तामा लगानीकर्तालाई नाफा बुक गर्न सुझाव सहितको शेयरबजारको उतार–चढाव र आगामी यात्राका विषयमा लेखकले गहन विश्लेषण प्रस्तुत गर्नु भएको थियो। यही क्रममा मिति २०८१ भाद्र ६ मा पनि मेरोलगानी डटकममा प्रकाशित एक आलेखमा ‘साना लगानीकर्ताका लागि बुलिश शेयर बजार के हो?’ भन्ने शिर्षकमा साना लगानीकर्तालाई यस्तो बजारमा अब के गर्ने भन्ने विषयमा प्रशस्त टिप्स समेत लेखकले प्रदान गर्नु भएको थियो, जहाँ उच्च बुलिश सेन्टिमेन्टमा साना लगानीकर्ता शेयरबजारमा अत्याधिक जोखिममा पर्ने भएकोले यस्तो वेला बजारबाट पैसा झिकेर आफ्ना आवश्वयकता पुरा गर्नु उपयुक्त हुने सुझाव रहेको थियो, जुन आलेख मेरोलगानी डटकमको आर्काइभमा गई हेर्न सकिन्छ। यो एक वर्षको यात्रामा शेयरबजारमा करिब १२०० अंकको वृद्धि देखिएतापनि शेयरबजार बढेन भनेर लगानीकर्ताले गर्ने गनगन भने घटेको छैन। शेयरबजारमा लगानी गरेर कमाउन चाहने धेरै व्यक्तिहरूले अन्ततः घाटा भोग्ने गरेको धेरै उदाहरण पाईन्छ। यस्तो किन हुन्छ र यसका मुख्य कारणहरू के के छन्? जुन निम्नानुसार उल्लेख गरिएको छः

क) ज्ञानको अभाव

धेरैजसो लगानीकर्ताहरूले शेयरबजारको गहिरो ज्ञान र यसको कार्यप्रणालीबारे पर्याप्त जानकारी नहुनाले गलत निर्णय लिन्छन्। बजारको ट्रेन्ड, कम्पनीको वित्तीय अवस्था, आर्थिक सूचकाङ्कहरू जस्ता महत्वपूर्ण पक्षहरूलाई नबुझेको अवस्थामा सही लगानी गर्न गाह्रो हुन्छ।

ख) भावनात्मक निर्णयहरू

शेयरबजारमा भावनाले धेरै प्रभाव पार्न सक्छ। डर, लोभ, आश्चर्य जस्ता भावनाहरूले लगानीकर्ताहरूलाई अनियन्त्रित निर्णयहरू गर्न बाध्य पार्दछ, जस्तै गलत समयमा बेच्न वा किन्न भावनात्मक निर्णय भयो भने त्यो कुरा महंगो सवित हुनसक्छ।

ग) स्पष्ट रणनीतिको अभाव

धेरैजसो लगानीकर्ताहरूले स्पष्ट लगानी नीति वा योजना नबनेको अवस्थामा बजारमा प्रवेश गर्दछन्। लक्ष्य, जोखिम सहिष्णुता, लगानीको समयसीमा जस्ता महत्वपूर्ण पक्षहरूलाई ध्यान नदिनुनै मुलतः घाटाको कारण बन्छ।

घ) जोखिम व्यवस्थापनको कमी

सही जोखिम व्यवस्थापन बिना ठूलो रकम लगानी गर्दा, बजारको उतार–चढावले ठूलो घाटा पुर्याउन सक्छ। प्रोफिट बुकिगं, स्टप–लसको प्रयोग, पोर्टफोलियोको विविधीकरण जस्ता उपायहरूको प्रयोग नगर्दा घाटा बढेर जान्छ।

ङ) अत्याधिक व्यापार (ओभरट्रेडिंग)

बारम्बार खरिद र बिक्री गर्दा कारोबार शुल्कहरू बढ्छ र सही समयमै निर्णय लिन गाह्रो हुन्छ। यसले दीर्घकालीन लाभलाई नकारात्मक असर पुर्याउँछ। छिटो छिटो कारोवार गर्दा पनि नाफा लिएर निस्किएको भएता पनि पुनः त्यो रकम बजारमै लगाउदा बजार चत्रको उच्च विन्दुमा परेको अवस्थामा घाटा ब्यहोर्न पुग्दछ।

च) भीड पछ्याउने प्रवृत्ति

साथीभाई, परिवार वा सामाजिक सञ्जालमार्फत आएका टिप्सहरूलाई बिना विश्लेषणनै पालन गर्दा गलत शेयरमा गलत समयमा लगानी गर्न पुग्दछन्, जसले घाटा पुर्याउन सक्छ।

छ) विविधीकरणको अभाव

सबै लगानी एउटै शेयरमा वा केही सीमित शेयरहरूमा मात्र गर्दा त्यसले जोखिम उच्च बनाउछ। लगानीको विविधीकरणले जोखिमलाई कम गर्न सहयोग पुर्याउँछ। यस विषयमा लगानीकर्ताले कम ध्यान पुर्याउदा घाटा हुन सक्छ।

ज) बजारको अस्थिरता

अर्थतन्त्र, राजनीतिक अवस्था, प्राकृतिक प्रकोप जस्ता बाह्य कारकहरूले बजारमा अनिश्चितता ल्याउँछ। यस्ता परिस्थितिहरूलाई सही तरिकाले विश्लेषण र व्यवस्थापन गर्न नसकेमा घाटा हुन सक्छ।

झ) मूलभूत विश्लेषणको बेवास्ता

कम्पनीको वित्तीय स्वास्थ्य, व्यवस्थापन, बजार स्थिति जस्ता आधारभूत तत्वहरूको विश्लेषण नगरी शेयरमा लगानी गर्दा सही निर्णय लिन गाह्रो हुन्छ।

ञ) उच्च शुल्क र लागतहरू

ब्रोकरेज शुल्क, लाभ कर, डिपी शुल्क, डिम्याट शुल्क लगायतका खर्चहरू बढी हुँदा कुल नाफा घट्न सक्छ। यस्ता खर्चहरूलाई न्यूनतम राख्न लगानीकर्ताले ध्यान पुर्याउन महत्वपूर्ण हुन्छ।

 

निश्कर्षः

शेयरबजारमा जोकोही पनि नाफा कमाउन वा आफ्नो सम्पतीलाई बढाउन लगानीको उपयुक्त माध्यमको रुपमा प्रयोग गर्न आउने गर्दछन्। यसरी आउने लगानीकर्ताले लगानीको उद्देश्य अनुरुप कारोबार व्यवहार तय गर्न जरुरी हुन्छ जसको लागि शेयरबजारको आधारभूत ज्ञान हासिल गर्नु पर्दछ। एक स्पष्ट लगानी योजना बनाउनु पर्दछ। भावनात्मक निर्णयहरूबाट टाढा बस्नु पर्दछ। जोखिम व्यवस्थापनका उपायहरू अवलम्बन गर्नु पर्दछ। लगानी विविधीकरणलाई मुख्य रुपमा ध्यानमा राखेर लगानी गर्नु पर्दछ। नियमित रूपमा बजारको विश्लेषण गर्न अपडेट रहनु पर्दछ। सावधानीपूर्वक योजना, निरन्तर शिक्षा, र अनुशासित रणनीतिले मात्र शेयरबजारमा सफल हुन मद्दत पुर्याउछ।

(लेखक शेयरबजार जानकार हुन्।)




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।