तीन बीमा कम्पनी सीईओविहीन, पद रिक्त भएको तीन महिना भित्र नयाँ नियुक्ति गर्नुपर्ने निर्देशनको धज्जी उडाउँदै कम्पनीहरु

Nov 28, 2024 10:58 AM MeroLagani



नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई कायम मुकायमको भरमा लामो समय संस्था नचलाउन निर्देशन दिएको भए पनि सो निर्देशनको पालना हुन सकेको छैन । अहिले पनि इजाजतप्राप्त बीमा कम्पनीमध्ये ३ वटा कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन अवस्थामा सञ्चालन रहेका छन्।

बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको संस्थागत सुशासन निर्देशिका २०८० (पहिलो संशोधन)को दफा २५(११) को प्रावधानअनुसार बीमकको प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको मितिले ३ महिनाभित्र नियुक्त गरिसक्नुपर्नेछ । सो निर्देशन अनुसार कायम मुकायम सीइओलाई तीन महिनाभन्दा बढी समय काम गर्न दिन नहुने व्यवस्था छ तर सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी र निजी क्षेत्रको आइएमई लाइफ इन्स्योरेन्स लामो समयदेखि सीईओविहीन अवस्थामा सञ्चालन भइरहेका छन् । त्यसैगरी युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवणकुमार रावलको अकस्मात निधन भए लगत्तै यो संस्था पनि सीइओविहिन छ ।

बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै राष्ट्रिय बीमा संस्थान ऐन २०२५ खारेजी भएपछि लिमिटेड कम्पनीमा बाध्यात्मक रुपान्तर भएको राष्ट्रिय जीवन बीमा कम्पनीमा सीईओ नियुक्त हुन सकेको छैन। २०८० कात्तिक २१ गते कम्पनीमा रुपान्तरण भएको सरकारी स्वामित्वको यो जीवन बीमकमा पहिलो सीईओ नियुक्तिका लागि गत असोज १६ गते दरखास्त आह्वान गरिएको थियो। तर, शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा कुल पूर्णांक ५५ को ६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्ने उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सिफारिस समितिले सर्टलिस्ट गर्नुपर्ने प्रावधान छ। तर, कुनै पनि उम्मेदवारले ६० प्रतिशत अंक प्राप्त गर्न नसकेकोले सर्टलिस्टका लागि छनोट नभएको सूचना समितिले मंसीर ५ गते प्रकाशित गर्यो । समितिले मंसिर ६ गते फेरि सूचना निकालेर सीईओका लागि दरखास्त आह्वान गरेको छ।

सरकारी स्वामित्वको कम्पनी सीईओविहीन भएको १ वर्ष पूरा भइसकेको छ। हाल राष्ट्रिय जीवन बीमा कम्पनीको नेतृत्व निमित्त सीईओका रुपमा नायब महाप्रबन्धक महेश रिमालले गरिरहेका छन्।
राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ नियुक्तिका लागि यसको सञ्चालक समितिले गत वैशाख ११ गते नै सीईओ छनौट तथा सिफारिस कार्यविधि २०८१ स्वीकृत गरेको थियो। कम्पनीमा रुपान्तरण भएको ६ महिनापछि बल्ल कार्यविधि स्वीकृत भएको थियो। मन्त्रिपरिषद्को कात्तिक १६ गतेको बैठकले संस्थानलाई ५० करोड अधिकृत पुँजी र १८ करोड १० लाख २० हजार रुपैयाँ कायम राखी कम्पनीमा परिणत गर्ने निर्णय गरिएको थियो। नियामकको निर्देशनबमोजिम चुक्तापुँजी थप गर्ने र प्राथमिक शेयर निष्कासन गर्नुपर्ने बाध्यकारी दायित्व कम्पनीमा रहेको छ ।

आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारीबाट कवि फुयाँलले राजीनामा दिएयता नयाँ सीईओ नियुक्त गरिएको छैन । हाल यो कम्पनीको नेतृत्व निमित्त सीईओका रुपमा नायब सीईओ दिनेश अमात्यले गरिरहेका छन्। फुयाँलको राजीनामा आइएमई लाइफको सञ्चालक समितिले गत भदौ ९ गते स्वीकृत गरेको थियो। कम्पनी सीईओविहीन भएको तीन महिना बितिसक्दा पनि अहिलेसम्म कम्पनीले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सकेको छैन ।

युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ श्रवणकुमार रावल रावलको गत कात्तिक ८ गते हृदयघातका कारण निधन भएको थियो। उनको निधनसँगै कम्पनीमा सीईओ पद रिक्त रहेको छ। हाल कम्पनीको नेतृत्व निमित्त सीईओको जिम्मेवारी डोरिन्द्ररमण दाहालले गरिरहेका छन्।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।