सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५ सय ३३ जना पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । चालु आर्थिक वर्षको बजेटमा नेपालको पर्यटक आगमन १६ लाख पुर्याउने लक्ष्य राखिएको थियो जुन लक्ष्य भने पुरा नहुने भएको छ । कार्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत सम्भारको लागि भनेर १४ घण्टा मात्रै सञ्चालनमा रहेको छ जसले गर्दा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले ३० प्रतिशत उडान कटौती गरेका छन् । उडान कटौती बाबजुद पनि नोभेम्बर महिनामा १ लाख पर्यटक नाघ्नु भनेको राम्रै उपलब्धी रहेको नेपाल पर्यटन बोर्डका निर्देशन मणिराज लामिछानेले बताए । ‘उडान कटौती नहुँदो हो त पर्यटक संख्या अझै बढ्ने रहेछ ।’–उनले मेरो लगानीसँग भने ।
सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६५३ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०२३ को नोभेम्बरमा यो संख्या १ लाख ८ हजार ६३० पुगेको हो । नेपालमा अक्टोबर, नोभेम्बरलाई पिक सिजन मान्ने गरिन्छ ।
गत नोभेम्बरमा सबैभन्दा धेरै पर्यटक आउने प्रमुख १० देशहरुमा भारत, सयुक्त राज्य अमेरिका, चीन, संयुक्त अधिराज्य, बंगलादेश, अष्ट्रेलिया, थाइल्यान्ड, श्रीलंका, जर्मनी र फ्रान्स रहेका छन् । नोभेम्बरमा भारतबाट सबैभन्दा धेरै १९ हजार ९१५ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् जुन कुल पर्यटकको १७ दशमलब ४ प्रतिशत हो । त्यसैगरी अमेरिकाबाट १० हजार ९८१ जना, चीनबाट ९ हजार ४५८ जना, बेलायतबाट ६ हजार ६११ जना, बंगलादेशबाट ५ हजार १४८ जना, अष्ट्रेलियाबाट ४ हजार ८२९, थाइल्यान्डबाट ४ हजार ४६२, श्रीलंकाबाट ४ हजार ३९५ जना, जर्मनीबाट ३ हजार ९२६ जना र फ्रान्सबाट ३ हजार ८४१ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । टप १० पर्यटक स्रोत गन्तव्य राष्ट्रमध्ये भारत, बंगलादेश र श्रीलंका दक्षिण एसियाबाट रहेका छन् ।