कार्यविधि संशोधनसँगै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा/आउँदा बिदाइ र स्वागतमा अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधिकारीको सङ्ख्या कटौती भएको गृह मन्त्रालयले जानकारी दिएकाे छ।
“भिभिआइपी विदेश भ्रमणमा जाँदा विमानस्थलमा पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्थासम्बन्धी प्रस्ताव चार दिनअघि मात्र संशोधनसहित मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । यससँगै, भिभिआइपीको स्वागत र बिदाइ व्यवस्थित र प्रभावकारी बनाउन कार्यविधि संशोधन गरिएको गृह मन्त्रालयले जनाएकाे छ ।
यसअघि, राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा फर्किंदा उपराष्ट्रपतिसहित २३ जना पदाधिकारी विमानस्थलमा उपस्थित हुनुपर्ने व्यवस्था रहेकाे थियाे । तर अब भने, कार्यविधि संशोधनपछि राष्ट्रपति विदेश भ्रमणमा जाँदा वा आउँदा उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीसहित १४ जना पदाधीकारी विमानस्थलमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । सुरक्षा व्यवस्थापन कार्यविधि–२०८०, पहिलो संशोधन भई आजदेखि नै कार्यान्वयनमा आएको हाे ।
यसअघि, मिनी कारकेडसम्म उपराष्ट्रपतिसहित १३ जना पदाधिकारी उपस्थित हुने व्यवस्था कटौती गरेर ९ जना पदाधिकारीमा सीमित गरिएको छ । त्यसैगरी, राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किंदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारीको सङ्ख्या पनि घटाइएको हाे ।
नयाँ कार्यविधिअनुसार अब उपराष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्किंदा प्रधानमन्त्रीसहित १२ जना पदाधिकारी उपस्थित हुनुपर्ने व्यवस्था संशोधन भई प्रधानमन्त्रीसहित सातजना उपस्थित हुनुपर्ने व्यवस्था कायम भएको छ । त्यस्तै, विदेश भ्रमणमा जाँदा र फर्किंदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म जाने पदाधिकारी सातबाट घटाएर चारमा सिमित गराइएकाे छ । अब प्रधानमन्त्री, परराष्ट्रमन्त्री, उपराष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मात्र उपराष्ट्रपतिको औपचारिक भ्रमणका क्रममा विमानस्थलमा उपस्थित हुनुपर्नेछ ।
यस्तै, यसअघि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किंदा कार्यवाहक प्रधानमन्त्रीदेखि प्रमुख जिल्ला अधिकारीसम्म गरी २१ जना पदाधिकारी विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुनुपर्ने व्यवस्था रहे पनि संशोधित कार्यविधि अनुसार अब भने, विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीसहित १२ जना पदाधिकारी उपस्थित हुनुपर्नेछ ।
त्यसैगरी, यसअघि प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किंदा अन्तर्राष्ट्रिय विमानस्थलमा अति विशिष्ट कक्षदेखि जहाज चढ्न जाने मिनी कारकेडसम्म कार्यवाहक प्रधानमन्त्रीसहित ११ जना उपस्थित हुने व्यवस्था रहेकाे थियो । उक्त स्थानसम्म कार्यवाहक प्रधानमन्त्रीसहित ६ जना पदाधिकारी उपस्थित हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।
यस्तै, राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा र फर्किंदा सभामुख र राष्ट्रियसभा अध्यक्ष विमानस्थल पुग्नुपर्ने व्यवस्था संशोधन पनि हटाइएको छ । अब प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष विमानस्थल जानुपर्ने छैन ।