सातामा सामान्य घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Dec 07, 2024 06:15 AM Merolagani



यस साता नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। गत साता २७४८.०५ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.४८ प्रतिशत अर्थात १३.१२ अंक बढेर २७३४.९३ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये तीन कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन नेप्से बढेको थियो। यस साताको सोमबार र मंगलबार नेप्से बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १३.४९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.३३ अंक घटेको छ।

नेप्से घटेपनि यस साता कारोबार रकम भने बढेको छ। गत साता दैनिक औषतमा ७ अर्ब ८८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ८ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १५.२७ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या २५.६३ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १७.७१ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण ०.४४ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १९ अर्ब रुपैयाँ घटेर ४५ खर्ब ३६ अर्बमा झरेको छ।

१३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १९.९९ प्रतिशत बढेको छ। त्यस्तै, यस साता जीवन बीमा र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। अंकका आधारमा पनि यस साता व्यापार उपसमूहकै परिसूचक सर्वाधिक ८४५.२८ अंक बढेको छ। गत साता ४२२९.१९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता ५०७४.४७ विन्दुमा पुगेको छ।

यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.४३ प्रतिशत घटेको छ। गत साता ३६३८.२५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २७०.२८ अंक घटेर ३३६७.९७ विन्दुमा झरेको छ।

यस साता चार कम्पनीको १ करोड ७९ लाख ८२ हजार ९३७.७२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता एभरेष्ट बैंक, कामना सेवा विकास बैंक, अपि पावर र सिईडिबी होल्डिङ्गस लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ४५.३६ प्रतिशत बढेको छ। त्यस्तै, यस साता जोशी हाइड्रोपावरको शेयरमूल्य करिब ३८ प्रतिशत बढेको छ भने दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे २६ प्रतिशत बढेको छ। यस साता नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक २३ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने अप्पर साङ्गे हाइड्रोपावर, नेपाल दूरसञ्चार कम्पनी, बोटलर्स नेपाल (बालाजु) लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




comments powered by Disqus