नेप्से सूचक आइतबार मात्रै घटेको होइन, गत बुधवारदेखि नै घट्दो लयमा छ। गएको तीन कारोबार दिनमा सूचकले ८६.८५ अंक गुमाएको छ। गत मंगलबार २७७५.८५ अंकमा रहेको सूचक आइतबार २६८९ अंकमा बन्द भएको छ। शेयर बजार घट्नु पर्ने कुनै प्रमुख र गतिला कारण बजारमा देखिएको छैन। तर सूचकमा भने मनोवैज्ञानिक असर परिरहेको विश्लेषण बजारमा गरिएको छ।
बजारले लामो समय देखि २७ सयको लाइन पार गर्ने प्रयास गरेको भएपनि सूचकले उक्त बिन्दु पार गर्न सकिरहेको थिएन। पटक पटक उक्त बिन्दुलाई तोड्ने प्रयास विफल हुँदै आएको छ। पछिल्लो समय फेरि एक पटक सूचक तल्लो बिन्दु उन्मुख छ। यद्यपि अहिले लगातार बजार घट्नुको प्रमुख कारणको रुपमा भने राजनीतिक वृत्तमा आएका सरकार परिवर्तन देखि लिएर मन्त्रीमण्डल फेरबदलका कुराले बढी प्रभाव पारिरहेको बताइएको छ। “अहिले बजार घट्नु पर्ने कुनै कारण देखिँदैन। तर पछिल्लो समय मन्त्रीमण्डल परिवर्तन हुन सक्ने व्यापक हल्ला बजारमा भइरहेको छ। सोही कारण बजार घटेको अनुमान गर्न सकिन्छ,” नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले मेरो लगानीसँग भने।
दोस्रो बजारमा राजनीतिक प्रभाव पर्छ नै। जसलाई स्वभाविक मान्नु पर्छ। पछिल्लो समय शेयर बजारले रुचाएका विष्णुप्रसाद पौडेल अर्थमन्त्री नरहने हल्ला बजारमा चलिरहेको छ। शेयर बजार मैत्री मानिएका पौडेल गएपछि शेयर बजार घट्छ भन्ने मानसिकता एकथरी लगानीकर्तामा छ। यसैगरी अर्काथरी लगानीकर्ता यसैको प्रेसरमा शेयर बजार घट्ने र त्यही बेला शेयर किनौला भनेर पर्ख र हेरको अवस्थामा गएका छन्। जसले गर्दा पनि सूचकमा निरन्तर दबाब पर्दै गएको अनुमान गरिएको छ। तर अहिलेको गिरावट भने लामो समय नरहने अर्काथरी लगानीकर्ताको अनुमान छ। शेयर बजारमा राजनीतिक प्रभाव जति छिटो पर्ने गर्छ। त्यति नै छिटो उक्त प्रभाव समाप्त हुने गरेको उदाहरण पछिल्लो समय देखिएका छन्। चाहे त्यो रवि लामिछाने गिरफ्तारीको विषय होस् वा दुर्गा प्रसाईँ पक्राउ पर्दाको असर शेयर बजारमा क्षणिक परेको थियो। त्यसैगरी अहिले मन्त्रीमण्डल फेर बदल हुने विषय पनि सोमबार-मंगलबार बाटै हराएर जाने अनुमान लगानीकर्ताहरूले गरिरहेका छन्।
शेयर बजार घट्दै गर्दा कारोबार रकम समेत घट्दै गइरहेको छ। गत सोमबार १० अर्ब ५४ करोडको कारोबार भएको बजारमा त्यसपछि भने कारोबार रकम घट्दो छ। मंगलबार ८ अर्ब ५२ करोडमा झरेको कारोबार रकम बुधवार बढेर ९ अर्ब १३ करोडमा उक्लिएको थियो। जुन दिन सूचक समेत घटेको थियो। सूचक घट्ने र कारोबार रकम बढ्नुले भने शेयर सप्लाई अधिक आएको अनुमान गरिएको थियो। तर बिहीबार भने सूचक सँगै कारोबार रकम समेत घटेको थियो। उक्त दिन कारोबार रकम घटेर ८ अर्ब ३६ करोडमा खुम्चिएको थियो। तर आइतबार सूचक सँगै कारोबार रकम थप खुम्चिएको छ। आइतबार कारोबार रकम ७ अर्ब ४६ करोडमा खुम्चिएको छ। बजार घट्दै गर्दा कारोबार रकम घट्नुलाई भने स्वभाविक मान्नु पर्ने बताइएको छ। “शेयर बजार घट्दा कारोबार रकम बढ्नुलाई राम्रो मान्न सकिँदैन। तर सूचक घट्दा कारोबार रकम घट्नु राम्रो हो। यसले शेयर मूल्य घटाएर लगानीकर्ता शेयर बिक्री गर्न तयार छैनन् भन्ने जनाउँछ। जुन दोस्रो बजारको लागि राम्रो हो,” रानाभाटले भने।