आईतवार कला परिषदमा आयोजित फोटो प्रदर्शनी अवलोकन पश्चात सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन। उनले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर आएका समाचारहरुमा कुनै सत्यता नभएको बताए ।
उनले यस्तो समाचारको विषयमा प्रतिक्रिया दिन लायक समेत नभएको उल्लेख गरे । उनले गलत प्रचार गर्नेहरुले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढ्यो भनेर मनको लड्डू घ्युसँग खानु बाहेक अरु केही नभएको भन्दै गलत समाचारले कसैलाई पनि फाइदा नगर्ने बताए। उनले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको उल्लेख गरे । उनले केपी शर्मा ओली प्रधानमन्त्री भएर सन् २०१६,२०१८ र २०२४ मा गरेकाे चीन भ्रमण सफल र उपलब्धिपूर्ण भएको जिकिर गरे । उनले भ्रमणबाट नेपालले महत्वपूर्ण उपलब्ध हासिल गरेको भन्दै त्यसले नेपालको दीर्घकालिन विकास सहयोग पुग्ने बताए ।
उनले भने,‘ प्रधानमन्त्री र मेरोबीचमा दूरी बढेको भन्ने समाचारहरु प्रतिक्रिया दिन लायक होइनन् । यो विषयमा सच्याई सानो अंश पनि छैन । दूरी बढ्यो भनेर मनको लड्डु घ्युसँग खानु मात्रै हो । गलत समाचारले कसैलाई पनि फाइदा गर्दैन । प्रधानमन्त्रीको यस पटकको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको छ । सन २०१६,२०१८ र २०२४ को चीन भ्रमण सफल र उपलब्धीपूर्ण भएका छन् । भ्रमणबाट नेपालले महत्वपूर्ण उपलब्ध हासिल गरेको छ । नेपालको दीर्घकालिन विकासको लागि प्रधानमन्त्रीको चीन भ्रमण महत्वपूर्ण छ ।’
सञ्चारकर्मीहरुले गरेका मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकारका काम सम्बन्धित प्रश्नमा अर्थमन्त्रीले अर्थतन्त्रमा रहेका समस्याका चाङलाई एक–एक गरी पन्छ्याउँदै अगाडि बढीरहेको बताए। उनले सरोकारवालाहरुसँग समन्वय र सुझावसहित सरकार अर्थतन्त्र सुधारमा लागेको बताए। उनले पछिल्लो चार महिनामा सरकारले केही उल्लेख्य कामहरु गरेको दाबी गरे । उनले नीतिगत रुपमा रहेका अन्योल र दुविधालाई धेरै हदसम्म स्पष्ट गरेको बताए । उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दा पछिल्लो समय अर्थतन्त्रले गति लिन थालेको बताए । उनले बैंकको ब्याजदर सिंगल डिजिटमा ल्याउन सफल भएको पनि बताए । उनले गत वर्ष चार महिनाको अवधिमा ३ प्रतिशत मात्रै राजश्व वृद्धि रहेकोमा यो वर्ष चार महिनामा अहिले १७ प्रतिशतले राजश्व वृद्धि भएको बताए ।
उनले भने,‘हामी सरकारमा आउँदा विगतका केही बाँझहरु थिए । अर्थतन्त्रमा समस्याका चाङ थिए । ती समस्यालाई एक–एक गरी पन्छाउँदै सरकार अगाडि बढिरहेको छ । पहिला समस्या के हुन् र समाधान के हुन्छ भनेर छलफल गरौं । सरोकारवालाहरुसँग समन्वय र सुझावसहित छलफल गरौं । सरकार बनेपछि केही उल्लेख्य कामहरु भएका छन् । नीतिगत रुपमा रहेका अन्योल र दुविधालाई धेरै हदसम्म स्पष्ट गरेका छौं । सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दा पछिल्लो समय अर्थतन्त्रले गति लिन थालेको छ । बैंकको ब्याजदर सिंगल डिजिटमा ल्याउन सफल भएका छौं । तरलता सहजताको अवस्थामा छ । मूल्यवृद्धिलाई सीमाभित्रै राख्न सकेका छौं । राजश्व वृद्धिका कुरा गर्दा पनि गत वर्ष चार महिनाको अवधिमा ३ प्रतिशत मात्रै राजश्व वृद्धि थियो । चार महिनामा अहिले १७ प्रतिशतले राजश्व वृद्धि भएको छ । क्रमस उत्पादन,उत्पादकत्व वृद्धि,रोजगारी सिर्जना लगायतका क्षेत्रमा केन्द्रित हुन चाहेका छौं । अहिले पनि अर्थतन्त्रमा सरकारले देखेको समस्या बैंकको तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि र राजगारी सिर्जनाका निम्ति सदुपयोग गर्न सक्नुपर्छ भन्ने विषय सोचिरहेका छौं । उत्पादन र निजी क्षेत्रको मनोवल बढाई अर्थतन्त्रलाई गतिशिल बनाउने दिशातर्फ सरकारको प्रयास भइरहेको छ ।’
उनले सरकार उत्पादन,उत्पादकत्व वृद्धि,रोजगारी सिर्जना लगायतका क्षेत्रमा केन्द्रित हुन चाहेको बताए। उनले बैंकको तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि र राजगारी सिर्जनाका निम्ति सदुपयोग गर्न सक्नुपर्ने आवश्यकता रहेको बताए । उनले उत्पादन र निजी क्षेत्रको मनोवल बढाई अर्थतन्त्रलाई गतिशिल बनाउने दिशातर्फ सरकारको प्रयास भइरहेको उल्लेख गरे ।