प्रसंग हो—मुम्बईदेखि करिब ३ सय किलोमिटर टाढाको सौंदाला गाउँको । बस्तीका घरहरु हेर्दा ‘झुपडवस्ती’ जस्तो लाग्ने यो त्यस्तो गाउँ हो—जहाँ महिलामाथि शारिरिक हिंसाको त कुरै छोडौं, मानसिक र सांस्कृतिक हिंसा समेत हुँदैन । कतिसम्म भने चर्काे स्वरले गाली गलौज पनि गर्न पाइदैन ।
कसैले चर्काे स्वरले गाली गरे ५ सय रुपैंया (नेपाली ८ सय) तिर्नुपर्छ । त्यसको प्रतिवादमा चर्काे स्वरले बोल्ने पनि त्यति नै जरिवाना तिर्नुपर्छ ।
गाउँ पंचायतले विधवा विवाहलाई प्रेरित गरेको छ । तर, कुनै विधवाले विवाह गर्न नचाहेमा दबाव दिइदैन । तर, त्यस्ति महिलाले सिन्दुर र मंगलसूत्र लगाउनै पर्छ । पतिको निधनमा अन्य अभिभावकको जस्तो दुख बार्न पाइन्छ तर चुरा फोड्ने लगायतका कामहरु गर्न पाइदैन ।
महिला माथि मात्र होइन, पुरुषमाथि पनि महिलाले कुनै किसिमको दवाव र विभेद गर्न पाइदैन । सामाजिक तडकभडकलाई पूर्णरुपमा निषेध गरिएको छ । बाहिरबाट गएर कसैले चर्काे बोल्यो, अपशब्द बोल्यो वा कुनै हिंसाजन्य गतिविधि गर्यो भने उ तत्कालै गाउँ निकाला हुन्छ र उस्ले निश्चित अवधिसम्म गाउँ छिर्न पाउँदैन ।
गाउँ पंचायतले आर्थिक कार्यमा संलग्न हुन नसक्ने वृद्ध, वृद्धा र असक्तलाई समाजिक सुरक्षाको ग्यारेण्टी गरेको छ भने कमाउन सक्ने मान्छेले अनिवार्यरुपमा काम गर्नु पर्छ । उस्ले जहाँ गएर भए पनि आर्थिक उपार्जनको काम गर्नै पर्छ । त्यसमा महिला पुरुष भन्ने छैन, शारिरिकरुपमा सक्षम हुँदा पनि जस्ले काम गर्दैन, त्यसलाई गाउँ पन्चायतले जरिवाना तिराउँछ । १० वर्ष सम्मको बालबालिकालाई मोवाइल प्रयोग गर्न पूर्णरुपमा प्रतिबन्ध छ । कसैले लुकेर प्रयोग गर्न दियो र त्यो कुरा थाहा भयो भने पंचायतले जरिवाना तिराउँछ । ‘अरुले के गर्छन् भनेर होइन, हामीले के गर्नुपर्छ भन्ने मान्यता लिएर हामी काम गर्छाैं’ गाउँ पन्चायतका सरपन्च (प्रधानपन्च) शरद अरगडे भन्छन् ।
यो गाउँ अहिले मात्र महिलामैत्री वा हिंसा विरोधी भएको होइन, दुई दशक अगाडि नै भएको हो । सन् २००८ मा त यो गाउँलाई महाराष्ट्र सरकारले महिला हिंसा विरोधी नमुना काम गरेकोमा सम्मान नै गरेको थियो ।