लाइफ इन्स्योरेन्स कम्पनीको ८० प्रतिशत लगानी मुद्दती निक्षेपमा, अन्य विकल्पमा एकदमै न्यून लगानी

Dec 13, 2024 11:07 AM Merolagani



जीवन बीमा कम्पनीहरुले लगानीयोग्य रकमको औसत ८० प्रतिशतसम्म रकम मुद्दती निक्षेपमा लगानी गरेका छन् । जीवन बीमा कम्पनीमध्ये पनि एक बीमा कम्पनीले आफ्नो लगानीयोग्य रकमको ९४ प्रतिशतभन्दा बढी रकम मुद्दती निक्षेपमा राख्ने गरेका छन् ।

चालु आवको पहिलो त्रैमाससम्म कुल लगानी रकममध्ये मेट लाइफ इन्स्योरेन्सले वाणिज्य बैंक र फाइनान्स कम्पनीमा गरेर कुल लगानीको ९४.२७ प्रतिशत रकम मुद्दती निक्षेपमा लगानी गरेका हुन । बीमा कम्पनीहरुले संकलन गरेको प्रिमियम लगानी गर्न नेपाल बीमा प्राधिकरणले लगानी सम्बन्धी निर्देशिका जारी गरेको छ ।

बीमा प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन), २०८० अनुसार नेपाल राष्ट्र बैंकको ऋणपत्र वा बचत पत्र, बैक तथा वित्तीय संस्थामा मुद्दति निक्षेप, घरजग्गा, नेप्सेमा सुचीकृत कम्पनीको शेयर, बैंक तथा वित्तीय संस्थाले जारी गरेको अग्रवाधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा लगानी गर्न सक्नेछन् । त्यसैगरी जीवन बीमा कम्पनीले सहायक, कम्पनी, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, लगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा, स्वास्थ्य क्षेत्र र सेवामूलक क्षेत्रमा समेत लगानी गर्न सक्ने व्यवस्था लगानी निर्देशिकामा छ । लगानी निर्देशिकामा जुनसुकै लेखिएको भए पनि जीवन बीमा कम्पनीहरुले अधिकांश लगानी योग्य रकम मु्द्दती निक्षेपमा नै लगानी गरेको बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणले प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुले लगानी गरेको तथ्यांक विवरण अनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र पूर्वाधार बैंकको सम्पूर्ण मुद्दती निक्षेप गरेर कुल ५ खर्ब ४३ अर्ब ८७ करोड ६५ लाचख ५६ हजार रुपैयाँ लगानी गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले सबैभन्दा बढी वाणिज्य बैंकहरुमा ४ खर्ब ८८ अर्ब ३९ करोड ८ लाख ५६ हजार रुपैयाँ, पूर्वाधार बैंकमा १ करोड ८० लाख रुपैयाँ, विकास बैंकहरुमा ४६ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ, फाइनान्समा ७ अर्ब ३१ करोड ६८ लाख रुपैयाँ बराबरको मुद्दती निक्षेप जम्मा गरेका छन् । चालु आवको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले कुल ६ खर्ब ७७ अर्ब ५९ करोड २३ लाख ६२ हजार रुपैयाँ लगानी रहेकोमा त्यसको ८०.२७ प्रतिशत अर्थात ५ खर्ब ४३ अर्ब ८७ करोड ६७ लाख ५६ हजार रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
१४ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै लगानी नेपाल लाइफ इन्स्योरेन्सको १ खर्ब ७४ अर्ब ५६ करोड २० लाख ४१ हजार रुपैयाँ लगानी पोर्टफोलियो रहेको छ । त्यसमध्ये १ खर्ब ४२ अर्ब ४९ करोड ६ लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दती, विकास बैंकको मुद्दती १४ अर्ब ८१ करोड मुद्दती गरेर कुल १ खर्ब ५७ अर्ब ३० करोड ६ लाख रुपैयाँ म्ुद्दती निक्षेपमा लगानी रहेको छ । यो कुल निक्षेपको ९०.११ प्रतिशत हो ।

लगानी आकारको आधारमा दोस्रो ठूलो लगानी पोर्टफोलियो रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)को बै‌ंक तथा वित्तीय संस्थाको मुद्दतीमा ८४.०९ प्रतिशत लगानी रहेको छ । १ खर्ब ३ अर्ब ४४ करोड ७० लाख रुपैयाँ लगानी पोर्टफोलियो रहेको एलआइसीले वाणिज्य बैंकमा ८२ अर्ब ४४ करोड ४५ लाख रुपैयाँ, विकास बैंकमा ३ अर्ब ८४ करोड ३ लाख रुपैयाँ र फाइनान्स कम्पनीमा ७० करोड रुपैयाँ गरेर कुल ८६ अर्ब ९८ करोढ ८५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेका छन् ।

त्यसैगरी हिमालयन लाइफले ४१ अर्ब ५८ करोड, नेसनल लाइफले ५० अर्ब ६९ करोड, राष्ट्रिय बीमा संस्थाले ३७ अर्ब ३७ करोड, एसियन लाइफले २३ अर्ब ८७ करोड, सुर्यज्योतिले २३ अर्ब ९ करोड, सिटिजन लाइफले १२ अर्ब २९ करोड, सानिमा रिलायन्स लाइफले ११ अर्ब ८३ करोड, रिलायन्स नेपाल लाइफले ९ अर्ब ८ करोड, आईएमई लाइफले ८ अर्ब ७० करोड, प्रभु महालक्ष्मी लाइफले १० अर्ब २७ करोड र सन नेपाल लाइफले सबैभन्दा कम ६ अर्ब ९३ करोड रुपैयाँ रकम मुद्दती निक्षेपमा राखेका छन् । अधिकांश जीवन बीमा कम्पनीहरुले कुल मुद्दती निक्षेप मध्ये पनि अधिकांश रकम वाणिज्य बैंकमा मुद्दती खाता खोलेर जम्मा गरेको देखिएको छ ।

नेपाल पूर्वाधार बैंकमा नेसनल लाइफ इन्स्योरेन्सले १ अर्ब २५ करोड, सूर्यज्योति लाइफले ३५ करोड, सिटिजन लाइफले १० करोड, रिलायवल नेपाल लाइफले १ करोड गरी कुल १ अर्ब ८० करोड रुपैयाँ निक्षेप जम्मा गरेका छन् ।

विकास बैंकमा नेपाल लाइफले सबैभन्दा बढी १४ अर्ब ८१ करोड रुपैयाँ मुद्दती निक्षेप राखेका छन् भने सबैभन्दा कम मेट लाइफले १० करोड रुपैयाँ मुद्दती निक्षेप राखेका छन् । एलआईसीले ३ अर्ब ८४ करोड, हिमालयन लाइफले ६ अर्ब १२ करोड, नेसनल लाइफले २ अर्ब ३८ करोड, राष्ट्रिय बीमा संस्थानले ३ अर्ब ५४ करोड, एसियन लाइफ इन्स्योरेन्सले २ अर्ब २१ करोड, सुर्यज्योति लाइफले ३ अर्ब ३० करोड, सिटिजन लाइफले १ अर्ब ८७ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ९३ करोड, रिलायवल नेपालले लाइफले २ अर्ब ४७ करोड, आईएमई लाइफले १ अर्ब ७६ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ५० करोड र सन नेपाल लाइफले ४९ करोड १५ लाख रुपैयाँ म्ुद्दती निक्षेप राखेका छन् ।

हिमालयन लाइफले फाइनान्स कम्पनीमा सबैभन्दा बढी २ अर्ब ५८ करोड रुपैयाँको मुद्दती निक्षेप राखेका छन भने सबैभन्दा कम सन नेपाल लाइफ इन्स्योरेन्सले १ करोड रुपैयाँ मुद्दती निक्षेप राखेका छन् । नेपाल लाइफ, मेट लाइफ र सिटिजन लाइफले फाइनान्स कम्पनीमा कुनै पनि मुद्दती निक्षेप राखेको छैन । फाइनान्स कम्पनीमा बीमा कम्पनीहरुले पोर्टफोलियोको अत्यन्तै न्यून रकम मात्रै मुद्दती निक्षेपमा राखेका छन् ।

 




comments powered by Disqus