सोमबार नेप्से परिसूचक २८.९१ अंक बढेर २६१२.२० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.४८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१९ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन साढे ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२८ स्टकको ५५ हजार ९३८ पटकको कारोबारमा ४ अर्ब ४३ करोड २४ हजार रुपैयाँबराबरको ८९ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सपोर्ट लघुवित्त वित्तीय संस्था, सुपर मादी हाइड्रोपावर र बाराही हाइड्रोपावर पब्लिकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन बलेफी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अन्य स्टकहरुको मूल्य गिरावटदर भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्सको १८ करोड ८४ लाख ६६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन जोशी हाइड्रोपावरको करिब १२ करोडको शेयर किनबेच भएको छ भने मोलुङ्ग हाइड्रोपावर कम्पनीको साढे ११ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक २.४६ प्रतिशत बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ४.२१ प्रतिशत घटेको छ।