राप्रपाले नीति संवाद थाल्यो, भारतसंगको विद्युत व्यापार सम्झौताबारे सूर्यनाथ उपाध्यायसंग संवाद

Jan 05, 2025 11:51 AM Merolagani



राप्रपाले विभिन्न क्षेत्रका विज्ञहरुसंग विभिन्न विषयमा अन्तर्क्रिया गर्न “संवाद श्रृंखला” प्रारम्भ गरेको छ। राप्रपा सम्बद्ध नीति, अनुसन्धान विभागले संवाद कार्यक्रमको थालनी गरेको हो।

श्रृंखलाको पहिलो संवादमा शनिबार “नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौताका दुरगामी प्रभावहरु” विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त, जलश्रोतका जानकार एवं समून्नत नेपाल गुठीका अध्यक्ष सूर्यनाथ उपाध्यायसंग जलश्रोतका विविध विषयमा अन्तर्क्रिया भएको प्रबक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। ‘हामी राजनीतिक, आर्थिक, सामाजिक र सबैखाले विषयमा विषयगत विज्ञहरुसंग निरन्तर छलफल कार्यक्रम चलाउॅछौं’, श्रेष्ठले भने, ‘विगतमा संवादका विभिन्न कार्यक्रमहरु भएका छन् अब यसलाई बहस श्रृंखलाकै रुपमा अघि बढाउॅछौं, राप्रपालाई देशको अग्रणी पार्टी बनाउन हरेक हिसाबले तयार हुने कार्यक्रमहरु बनाईरहेका छौं।’

शनिबारको संवाद कार्यक्रममा जलश्रोतमा नेपालको सम्भावना, उर्जा क्षेत्रमा विगतमा भएका नीतिगत त्रुटी, अन्तर्राष्ट्रिय मंचहरुमा नेपालको प्रतिबद्धता, उर्जा र भूराजनीतिदेखि अहिले के भइरहेको छ, के हुनुपर्थ्यो र के के गर्न सकिन्छ र राप्रपाको धारणा के हुनुपर्छ उपाध्यायले धारणा व्यक्त गरेका थिए।

‘नेपालको दीर्घकालीन हितका लागि यतिखेर हामीले अवलम्बन गर्ने उर्जा सम्बन्धि नीतिको समीक्षा गऱ्यौं,’ उनले भने। यसैगरी जलश्रोत व्यवस्थापन विज्ञ तेजेन्द्र केसीका सन्धि ऐन, नेपालको संविधान र सन्धि सम्झौताको अनुमोदन, सम्मिलन, स्विकृति वा समर्थन सम्बन्धि प्रावधान, अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय नीति बीचको विरोधाभास सगायतका विविध विषयमा प्रस्तुति दिएका थिए।

पहिलो संवाद कार्यक्रममा राप्रपा अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री, उर्जामन्त्री राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष एवं पूर्व जलश्रोतमन्त्री पशुपति शमसेर जबरा, पार्टीका पदाधिकारीहरु, कार्यसम्पादन समितिका सदस्यहरु, प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरु लगायतको सहभागिता रहेको थियो।

त्यस अवसरमा अध्यक्ष लिङ्देनले छोटो समय उर्जामन्त्री भएर नेपालको उर्जा क्षेत्रको समस्या, सम्भावना, चुनौति र अवसरका बारे बुझ्न पाएको भन्दै आफ्नो अनुभव र उर्जा नीतिबारे पार्टीको धारणा व्यक्त गरे। उनले कुनै आयोजना भारतलाई नदिने चीनलाई दिने, चीनलाई नदिने भारतलाई दिने नीति गलत हुने, यस्तो अभ्यासले नेपाल भूराजनीतिक चक्रव्यूहमा फस्न सक्ने भएकाले नेपालले नेपालको हितलाई सर्वोपरि राखेर दीर्घकालीन नीति तय गर्नुपर्नेमा जोड दिए। नेपाललाई आत्मनिर्भर र समृद्ध तुल्याउन उर्जा क्षेत्रमा चमत्कारिक रुपान्तरणको खॅाचो रहेको धारणा व्यक्त गर्दै अध्यक्ष लिङ्देनले वैदेशिक रोजगारीमा गएका नेपाली र गैर आवासीय नेपालीलाई उर्जा क्षेत्रमा लगानीको वातावरण बनाउन र लगानी सुरक्षाको सुनिश्चितता प्रदान गरिनुपर्नेमा जोड दिए।

विभागका प्रमुख, पार्टीका कार्यसम्पादन समितिका सदस्य प्रा.डा.गीताभक्त जोशीले कार्यक्रमको औचित्य र संवाद श्रृंखलाको उद्देश्यबारे प्रष्ट्याएका थिए।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।