चालु वर्ष कुन कम्पनीले बोनस शेयर पचाए, कुन कम्पनीको पच्न वाँकी ? यस्तो देखियो तथ्याङ्कमा (सूचिसहित)

Jan 09, 2025 06:17 AM Merolagani



सुवास निरौला

दोस्रो बजारमा लगानी गर्ने मध्ये केही लगानीकर्ता कम्पनीले दिने प्रतिफलमा रमाउने गर्छन्। कोही भने पूँजीगत लाभ (क्यापिटल गेन) मै बढी रुचाउँछन्।

दोस्रो बजारमा दीर्घकालीन लगानी गर्नेले राम्रो प्रतिफलको अपेक्षा गर्दै लगानी गर्ने गरेको देखिन्छ। यसैगरी अल्पकालीन लगानीकर्ताले भने पूँजीगत लाभलाई नै बढी महत्त्व दिने गर्छन्। दीर्घकालीन लगानीकर्तालाई यसपटकको बजारले धेरै निराश पारेन। यसवर्ष प्रतिफल दिएका केही कम्पनीले  बोनस पचाएका छन् भने केही पचाउने क्रममा देखिएका छन्।

मेरो लगानीले यसपटक प्रतिफल दिएका ७० कम्पनीको अवस्था जाँच गरेको छ। प्रतिफल दिएका कम्पनीहरूको बुक क्लोज भएको मितिमा तय भएको अन्तिम कारोबार मूल्य र बुधवार तय भएको अन्तिम कारोबार मूल्यसँग दाँजेर हेरेको छ। त्यसमा पनि लाभांशको रुपमा बोनस शेयरलाई मात्रै हेरिएको छ। नगद लाभांशलाई दाँजिएको छैन। जस आधारमा लाभांशको रुपमा बोनस शेयर दिएका ७० कम्पनीमा १४ ले बोनस शेयर पचाएर माथिल्लो मूल्य तय गरिसकेका छन् भने वाँकी पचाउन बजारमा सङ्घर्षरत छन्। 

लाभांश दिएर पनि बुधवारसम्म सबैभन्दा धेरै मूल्य तय गर्ने कम्पनीमा सुपर मादि जलविद्युत कम्पनी देखिएको छ। उसले आफ्ना शेयधनीलाई पाँच प्रतिशत बोनस शेयर दिएको थियो। बुक क्लोजका दिन उसको अन्तिम कारोबार मूल्य ६०७ रुपैयाँ तय भएको थियो। बुधवार कम्पनीको शेयर मूल्य १५ सय ४० रुपैयाँ तय भएको छ। जुन बुक क्लोजका दिन तय भएको मूल्य भन्दा एक सय ५३.७१ प्रतिशत बढी हो। यस हिसाबले हेर्दा दीर्घकालीन र कम्पनीको लाभांशलाई हेरेर लगानी गर्ने दोस्रो बजारका लगानीकर्ताको दुवै हातमा लड्डु परेको छ। किनकि बोनस पनि पचेको छ भने शेयर मूल्य आकासिएको छ। बोनस शेयर पचाएर माथिल्लो मूल्य तय गर्ने अर्को कम्पनी सिइडिबि हाइड्रो पावर  हो। उसको बुक क्लोज मितिमा तय गरेको मूल्य भन्दा बुधवार ९९.८८ प्रतिशत बढी मूल्य तय भएको छ। कम्पनीले आफ्ना शेयधनीलाई ११ प्रतिशत बोनस शेयर दिएको थियो। 

बोनस शेयर पचाएर माथिल्लो मूल्य तय गर्ने कम्पनी १४ वटा देखिएका छन्। जसमा धेरै जसो जलविद्युत कम्पनी छन्। बोनस शेयर पचाउने समूहमा जलविद्युत,विकास बैंक,बिमा,वित्त र लगानी समूहका कम्पनी परेका छन्। अरू समूहका कम्पनी  बोनस शेयर पचाउने क्रममा छन्। बुधवारको मूल्य सँग दाँजेर हेर्दा अहिले नै बुक क्लोज मितिमा तय भएको मूल्य कम्पनीहरूले भेट्टाउन खोजिरहेको भए पनि धेरै जसो कम्पनीले दिएको बोनस शेयरलाई बुधवार तय भएको मूल्यसँग गणना गर्दा उनीहरू पनि अहिले नाफामा नै देखिएका छन्।

तर केही कम्पनीको मूल्य भने निक्कै तल खस्किएको छ। जसमा सूर्योदय ओमी लघुवित्तको मूल्य सर्वाधिक धेरै खस्किएको छ। उसको बुक क्लोजका दिन तय भएको मूल्य भन्दा बुधवार कायम भएको मूल्य ३५.०६ प्रतिशत कम छ। संस्थाले आफ्ना शेयरधनीलाई १४.०१ प्रतिशत बोनस शेयर दिएको थियो। उसको मूल्य ३५ प्रतिशत बढे मात्रै शेयर धनीको लागि बोनस पच्ने स्थिति हुन्छ। यद्यपि बोनस शेयरलाई आजको मूल्यसँग तुलना गर्दा पनि शेयर धनी नोक्सानमा नै देखिन्छन्।

यस्तै अर्को सूचिकृत संस्था आशा लघुवित्तको स्थिति पनि उस्तै उस्तै छ। उसको पनि बुक क्लोजको दिन तय भएको मूल्य भन्दा २४ प्रतिशत कम छ। उसको नोक्सान पनि धेरै छ। सूर्योदय ओमीमा जस्तो धेरै नोक्सानी आशाका शेयरधनीलाई छैन।

तर यो बुधवार तय भएको मूल्यको आधारमा देखिएको हो। आउने दिनमा धेरै कम्पनीले लाभांश पचाउन सक्ने देखिन्छ। यस आधारमा हेर्दा दोस्रो बजारले दीर्घकालीन लगानीकर्तालाई धेरै ठुलो नोक्सानीमा पारेको छैन। शेयर बजारमा प्रतिफल कै लागि लगानी गर्ने लगानीकर्ताको लागि अझै नेपालको शेयर बजारमा धेरै सम्भावना रहेको देखाउँछ। दोस्रो बजार क्षणिक लाभका लागि मात्रै नभएर दीर्घकालीन लगानीको लागि अझै पनि सुरक्षित नै  देखिन्छ।        




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।