ह्यापिनेश इन्डेक्समा चीन ६० औँ स्थानमा छ भने भारत १२६ औँ स्थानमा छ। नेपालमा अझै पनि २० प्रतिशत भन्दा बढी नागरिक गरिबीको रेखामुनि रहेको सरकारी तथ्यांक छ। नेपालभन्दा पछाडि भारतसँगै पाकिस्तान, श्रीलङ्का र बाङ्ग्लादेश पनि छन्। प्रतिवेदनको सर्वाधिक पुछारमा कङ्गो, सिएरा लिओन, लेसथो, लेबनान र अफगानिस्तान छन्।
यो दाबी संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्क (सस्टेनेबल डेभलपमेन्ट साेल्यूसन्स नेटवर्क)ले गरेको हो।

सबैभन्दा खुसी राष्ट्र भनिने फिनल्याण्डका मानिसहरू आफैं डिप्रेसनसँग संघर्ष गरिरहेकाे पनि खबर बाहिरिएका छन्।
यस्ताे अवस्थामा के खुशी सूचकांक (ह्याप्पीनेस इण्डेक्स) आधारहीन छ? अथवा फिनल्याण्डमा नै केही परिवर्तन हुँदैछ?
खुशीको परीक्षण गर्ने प्रक्रिया किन सुरु भयो?
केही वर्षअघि, विश्वका शीर्ष नेताहरू र नीति निर्माताहरू आफ्नाे प्रयासले देशको प्रगति भइरहेको छ कि छैन र ठूला घरहरू तथा कारखानाहरू निर्माण भइरहेका छन् कि छैनन् भन्ने कुरामा अलमल्लमा परेका थिए। साे समयमा, त्यहाँ घुम्नका लागि पार्क र संग्रहालयहरू पनि थिए तर पनि के यी सबै जनताको लागि पर्याप्त छन् ? के मानिसहरू खुसी छन्? भन्ने प्रश्न उब्जियाे । त्यसैले, संयुक्त राष्ट्र संघले यसको उत्तर खोज्ने काम गर्यो।
सन् २०१२ मा, संयुक्त राष्ट्र संघले एक रिपोर्ट सुरु गरेकाे थियाे । साे रिपाेर्टको नाम वर्ल्ड ह्याप्पीनेस रिपाेर्ट थियो । यस रिपाेर्ट मार्फत् जीडीपी वा सामाजिक संरचनामध्ये कुन पक्षले मानिसहरूलाई खुसी राख्छ भन्ने पत्ता लगाउने संघककाे चाहना थियाे। यो सोंच पछाडिको कारण संयुक्त राष्ट्र संघ वा अमेरिका थिएन तर एउटा सानो देश, भुटान थियो। ७०को दशकमा, भुटानका राजा जिग्मे सिंग्ये वाङचुकले आफ्नो लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा कुल राष्ट्रिय खुशी बढी महत्त्वपूर्ण छ भन्दै संसारलाई चकित पारेका थिए। बिस्तारै, यो विचार फैलियो र संयुक्त राष्ट्र संघसम्म पुग्यो।
अब, हरेक वर्ष विभिन्न राष्ट्रहरूमा केही प्यारामिटरहरू लिएर सर्वेक्षण गरिन्छ र संख्याको आधारमा श्रेणीकरण गरिन्छ।
रिपोर्टमा सोधिने ६ वटा ठूला प्रश्नहरू
- तपाईंको खल्ती कति भरिएको छ?
- के-कसैले तपाईंलाई खराब समयमा साथ दिन्छ?
- तपाईं कति समय बाँच्ने आशा गर्नुहुन्छ?
- के तपाईंले आफ्नो जीवनका प्रमुख निर्णयहरू आफैं लिन सक्नुहुन्छ?
- के तपाईं अरूप्रति उदार हुनुहुन्छ?
- तपाईंको देशमा भ्रष्टाचार कतिकाे कम छ?

सर्वेक्षणले के भन्छ?
ह्याप्पीनेस इंडेक्स करिब १५० देशहरूमा गरिने सर्वेक्षणका आधारमा गरिन्छ । यसकाे जिम्मेवारी ग्यालप वर्ल्ड पोललाई दिइएकाे छ।
फिनल्याण्ड विगत सात वर्षदेखि यस सूचीकाे शीर्ष स्थानमा छ। डेनमार्क, नर्वे र आइसल्याण्ड जस्ता देशहरू पनि शीर्ष स्थानमा छन् तर फिनल्याण्ड लगभग सधैंजसाे अगाडि रहेकाे छ।
तर यो सर्वेक्षण पनि ट्विस्टबाट अछुतो रहेन। कैयाैं राष्ट्रहरूले यो अध्ययनको कुनै अर्थ छैन भन्न थाले।विज्ञहरूले जानाजान केही देशहरूलाई अगाडि राखिन्छ भने केहीलाई पछाडि पारिन्छ।
यसका धेरै प्रतिवेदनहरूमा भारतलाई पाकिस्तान र बंगलादेशभन्दा पछाडि राखिएको छ। उदाहरणका लागि, २०२३ को प्रतिवेदनमा, भारत १२६औं स्थानमा थियो तर पाकिस्तान र बंगलादेश भारतभन्दा अगाडि थिए। यो पहिले पनि भइसकेको बताइएकाे छ।
अमेरिकाद्वारा सर्वेक्षणमा आपत्ति
अमेरिकीहरूले आफूहरू आर्थिक रूपमा अगाडि रहेकाे दाबी गरेका छन्। विश्वका अधिकांश मानिसहरूले अमेरिकाको सपना देखे पनि, संघकाे खुशीको वरीयतामा याे राष्ट्र अझै पनि पछाडि छ। अमेरिकी सरकारले आधिकारिक रूपमा प्रतिवेदनलाई चुनौती नदिए पनि आश्चर्य र क्रोध निश्चित रूपमा व्यक्त गरेको थियो। वासिङ्टनका प्रमुख थिंकट्याङ्कहरूले पनि यो प्रतिवेदन वास्तविकताबाट अलग रहेको मान्छन्।
यस प्रतिवेदनलाई केही हदसम्म पक्षपाती भएकाे बताइएकाे छ।फिनल्याण्डमा डिप्रेसनको प्रतिशत द्रुत गतिमा बढिरहेको छ। राष्ट्रिय स्वास्थ्य संस्थानका अनुसार कुल जनसंख्याको करिब ९ प्रतिशत मानिस ठूलो डिप्रेसनबाट पीडित छन्।
आत्महत्याकाे सोंच बढ्दाे
युरोपेली संघले पनि एउटा स्तब्ध पार्ने प्रतिवेदन जारी गरेको छ । उक्त प्रतिवेदनमा फिनल्याण्डका नागरिकहरूमा आत्महत्या गर्ने प्रवृत्ति अन्य युरोपेली देशहरूको तुलनामा धेरै बढी रहेको उल्लेख गरिएकाे छ। ९०को दशकमा यो कम थियो । यसको अर्थ फिनिश मानिसहरू त्यतिबेला साँच्चै खुसी थिए। तर, त्यसपछि यो धेरै बढ्यो । यस देशमा १४ देखि २४ वर्ष उमेर समूहकाे एक तिहाइ मृत्यु आत्महत्याका कारण हुने गरेकाे छ
यस विषयमा फिनल्याण्डले आफ्नै मूल्याङ्कन गरेर एउटा प्रतिवेदन जारी गरेकाे छ । यसको नाम इन द श्याडाे अफ ह्याप्पीनेस (खुशीकाे छायाँमा)। यस प्रतिवेदन अनुसार, फिनल्याण्डमा धेरै युवाहरूले आफूलाई संघर्ष गरिरहेको मानिरहेका छन्। तर अगाडि पनि उनीहरूको संघर्ष समाप्त हुँदैन । खासगरी, यस देशमा ८० वर्षभन्दा माथिका मानिसहरूले पनि आत्महत्या गरिरहेका छन्।

के कारणले निम्तियाे समस्या ?
यसबारे फिनल्याडमा मानसिक स्वास्थ्यमा काम गर्ने धेरै विभागहरू गठन गरिएका छन् । तर धेरै कुराहरूले बाधा पुर्याइरहेका छन्। उदाहरणका लागि, यहाँको सामाजिक संरचना यस्तो छ कि मानिसहरू परिवार वा साथीहरूसँग बस्नुको सटाे एक्लै बस्न रुचाउँछन्। यस्तो अवस्थामा, थोरै तनावले पनि तपाईंलाई गहिरो तनाव महसुस गराउन सक्छ। फिनल्याण्डको हावापानी पनि डिप्रेसनको लागि उपयुक्त ठाउँ हो। यो देशमा धेरैसमयसम्म अध्यारो र जाडो हुन्छ । तर, गर्मीमा पनि तापक्रममा उतारचढाव भइरहन्छ। प्रकाशको अभावले पनि सानै उमेरमा डिप्रेसनको सुरुवात हुन सक्ने बताइन्छ।
फिनल्याण्डमा मानसिक स्वास्थ्य उपचारमा ठूलो अनुदान दिइए पनि समस्या निम्त्याइरहेको छ। यहाँ शहरी भागमा बसाेबास गर्नेहरू छिटो अस्पताल पुग्छन् । यस्तै, दुर्गम क्षेत्रका मानिसहरू महिनौंसम्म लाइनमा पर्खि रहन्छन्। खाँचोमा परेकाहरूले पहिले सहयोग पाउन् भन्नका लागि के परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यतिबेला बहस चलिरहेको छ।
संयुक्त राष्ट्र संघकाे तथ्याङ्कमा फिनल्याण्ड सबैभन्दा खुसी देश भए पनि त्यो देशको वास्तविक तस्वीर नभएकाे अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
एजेन्सी ।