ग्राण्डलाई प्रभुले लगेपछि जनता बैंकलाई किन पर्यो चिन्ता ?

Feb 06, 2015 Hari Gajurel



 

जनता बैंक (JBNL)ले समस्यामा परेको ग्राण्ड बैंकलाई सस्तोमा किनेर ठूलो बैंक हुने सपना साँचिरहेको थियो । तर, कुरा चल्दाचल्दै ग्राण्ड बैंकलाई प्रभु बैंकले किनेपछि जनताका संचालकहरुको सपना भताभुङग भएको छ ।

ग्राण्डलाई किन्ने तयारीसँगै मेगा बैंकसँग पनि मर्जको कुरा चलाएका जनताका संचालकहरु मेगाले पनि मर्जमा लैजाने ईच्छा त्यागेपछि यतिखेर छाँगाबाट खसे झै भएका छन् । 

नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले आफ्ना छोराको नाममा लगानी गरेको जनता बैंकले ग्राण्ड समस्यामा परेको मौका च्याप्दै २६ रुपैयाँसम्मको स्वाप रेसियो प्रस्ताव गरेको थियो । जनताको यस्तो हेपाहा प्रस्तावबाट आक्रोशित भएका ग्राण्डका अध्यक्ष स्वरुप गुरुङ कोनेले जब प्रभुका देबीप्रसाद भट्टचनसँग हात मिलाए, त्यसपछि जनताका संचालकहरु नराम्ररी जिल्लिए । कमलादीस्थित ग्राण्ड बैंकको भब्य र सुन्दर भवनलाई केन्द्रीय कार्यालय बनाउने जनताको सपना सपनामै सिमित भएको छ । आफुले तल्लोस्तरको स्वाप रेसियो प्रस्ताव गरेको बैंकलाई प्रभुले ६० भन्दा माथिको आकर्षक स्वाप रेसियो दिएर किनेपछि जनताका संचालकहरुको निन्द्रा भंग हुनु स्वभाविक थियो । यसै कारण पनि ग्राण्डका अध्यक्ष कोनेले प्रभुका अध्यक्ष भट्टचनसँग सम्झौता गरेपछि भनेका थिए– प्रभुसँग जोडिन पाउँदा गौरव लागेको छ । 

ग्राण्ड बैंक गत आर्थिक बर्षको अन्त्यमा दुई अर्ब चुक्ता पूँजी भन्दा बढी रकमले घाटामा गएर राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाही भोगिरहेको थियो भने जनता बैंकको बित्तीय अवस्था पनि आशलाग्दो थिएन । स्रोतका अनुसार यही बेला गभर्नर खतिवडाले पनि दुबै बैंकलाई मर्जमा जान दबाब दिईरहेका थिए । केही दिन भित्रभित्रै घनिभुत छलफल चलाएर ग्राण्ड प्रभुको शरणमा गएको थियो । एक्विजिशनको  सहमति माग्न आएपछि मात्र राष्ट्र बैंकका अधिकारीले ग्राण्ड प्रभुमा विलय हुने कुरा थाहा पाएका थिए । 


नेकपा एमाले निकटकै अधिकांश संस्थापक शेयरधनीहरु रहेको मेगा बैंकले त्यस्तै प्रकृतिका शेयरधनीहरु रहेको जनतालाई मर्जमा लैजाला भनी आश गर्नु स्वभाविक थियो । तर, मेगाले जनतालाई मिसाउनु भन्दा राम्रा बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई गाभ्दा फाईदा हुने देखेपछि त्यतैतिर लागेको छ । मेगाले पश्चिमाञ्चल बिकास बैंकलाई आफुमा मर्ज गर्ने निर्णयमा हस्ताक्षर गरेर अहिले जनता बैंकलाई गतिलो जवाफ दिएको ठानिएको छ । मर्ज भाँडिएको बारेमा जनताका अधिकारीहरुसँग प्रतिक्रिया लिन खोज्दा कोही पनि सम्पर्कमा आउनु भएन ।


मर्ज गर्ने उपयुक्त संस्था नपाएर जनता बैंक अहिले तड्पिएको बताईन्छ । यस आर्थिक बर्षको दोस्रो त्रैमाससम्म दश करोड रुपैयाँ खुद नाफा गरेको जनता बैंकलाई लिन अरु ठूला बाणिज्य बैंक तयार नभएको र उसँग बिक्न साना फाईनान्स र बिकास बैंकहरु पनि उत्साहित नभएकाले मर्जमा जाने जनताको चाहना त्यसै सेलाउन लागेको छ । जनताले मेगासँग चर्को स्वाप रेसियो मागेकाले मर्जको कुरा भाँडिएको थियो । कम स्वाप रेसियो र संचालकहरुको मामिलामा लचक भएमा जनतालाई मेगाले लिने कुरा मिल्नसक्ने संभावना भने बाँकी नै रहेको छ ।


जनतासँग मर्जका लागि टुरिजम बिकास बैंकले पनि ईच्छा ब्यक्त गरेको थियो । बित्तीय अवस्था र कमाई जनताको भन्दा राम्रो भएकाले टुरिजमले जनतासँग चर्को स्वाप रेसियो माग्यो तर जनताका संचालकहरु बिकास बैंकलाई आफुभन्दा बलियो ठान्न तयार भएनन् र अन्ततः टुरिजमसँग पनि मर्ज प्रक्रिया भाँडियो ।
 




हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन सकिने

Jul 16, 2025 06:17 AM

हिमालयन बैंक लिमिटेड (HBL) ले आज (असार ३२ गते) देखि थप सर्वाजनिक निष्काशन अर्थात फर्दर पब्लिक इस्यू (एफपीओ) गर्दैछ। बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले बैंकले एफपीओ जारी गर्न लागेको हो।