खराव कर्जाले मानिसहरू आत्तिएको जस्तो देख्छु तर मलाई कति पनि अत्त्याएको छैन: भुवन दाहालसँग अन्तर्वार्ता

Jan 24, 2025 06:03 PM merolagani



बैंक तथा बित्तीय संस्थाहरूले दाेश्राे त्रैमासकाे बित्तीय विवरण सार्वजनिक गरेका छन् । ठीक यही समयमा केही विकास बैंक र फाइनान्सकाे वित्तीय अवस्था माथि केन्द्रीय बैंकले कारवाही र सचेत गराएका खवर पनि आएका छन्। त्यही भएर पनि वित्तीय बिवरणप्रति सर्वसाधारणले चासाे देखाएकाे अवस्था छ ।

 

समग्रमा याे पटक कस्ताे वित्तीय बिवरण आयाे त ? बैंकहरूले देखाएकाे खराव कर्जाले के संकेत गर्छ ? बैंकहरूले किन कर्जा प्रवाह गर्न सकेका छैनन् ? यिनै प्रश्नहरू लिएर मेराे लगानीका उप सम्पादक सुवास निराैलाले सानिमा बैंकका पूर्व कार्यकारी अधिकृत तथा बैंकर्स एशाेसिएसनका पूर्व अध्यक्ष भुवन दाहालसँग कुराकानी गरेका छन् ।

 

भर्खरै मात्रै बैंक वित्तीय संस्थाले दोस्रो त्रैमासको बित्ती विवरण सार्वजनिक गरे। तपाईको नजरमा समग्रमा कस्तो आयो विवरण ?

मैले हेर्दा जस्तो अपेक्षा गरिएको थियो त्यस्तै नै आएको जस्तो लाग्छ। केही मानिसहरूले धेरै खराब आउँछ भन्ने अनुमान गरिरहनु भएको थियो। त्यस्तो पनि आएन र फेरि इनकरेजिङ पनि आएन। समग्रमा भन्दा औसत देखिएको छ। यति भन्दा भन्दै पनि केही राम्रा पक्षहरू पनि छन्।

यसपटक खुद व्याज आम्दानी घटेको एउटा कारण चाहिँ नेपाल राष्ट्र बैंकको नीतिले काम गरेको जस्तो देखिन्छ। नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा ९० दिन भन्दा बढीको ओभर ड्यु इन्ट्रेस्ट छ भने वा ९० दिनसम्म इन्ट्रेस्ट रियलाईज भएको छैन भने त्यसलाई ससपेण्ड गर्नुपर्छ भन्या छ। कति बैंकले गर्नु भएको होला कतिले गर्नु भएको छैन पनि होला। यो पनि घट्नुको एउटा कारण हुनसक्छ। कतिपय बैंकहरुको चाँहि ४ प्रतिशत भन्दा कम इन्ट्रेस्ट स्प्रेड भएको कारणले पनि खुद व्याज आम्दानी घटेको छ।

अहिले पनि लोन लस प्रोभिजनिङ धेरै छ। तर यति भन्दा भन्दै पनि गत वर्षको ६ महिनामा छुट्टाएको प्रोभिजनिङ रकम भन्दा अहिले छुट्टाएको प्रोभिजनिङ रकम कम छ। पहिले भन्दा अहिले अर्को कुरा पनि राम्रो देखिएको छ त्यो भनेको कर्जाको बृद्धिदर हो। अहिले ६ महिनामा नै कर्जाको बृद्धिदर  पाँच प्रतिशतको हाराहारीमा छ। यसपटक केन्द्रीय बैंकले कर्जाको ग्रोथ रेट जुन राखेको छ झण्डै त्यो टार्गेट भेटिन्छ कि भन्ने देखिएको छ। त्यो भनेको धेरै लामो समय पछि यस्तो देखिएको हो।  वाणिज्य बैंकको कर्जाको ग्रोथको भोल्युम डिपोजिट भन्दा अलिकति मात्रै कम छ। त्यो पनि अर्को राम्रो पक्ष हो।

अहिलेको त्रैमासमा त्यति राम्रो विवरण आउँदैन भन्ने त पहिले नै अनुमान गरिँदै आएको थियो। तर अनुमान गरिए जस्तो खराब पनि आएन र उत्पात राम्रो पनि आएन। खराब अवस्थाको पनि एउटा बटन लाइन हुन्छ। अहिलेको विवरणले यही नै बटन लाइन हो भन्ने देखाउँछ कि थप खराब हुने अनुमान गर्न सकिन्छ ?  

मलाई कस्तो लाग्छ भने अहिले खराब ऋण बढेको छ। अहिले वाणिज्य बैंकहरुको नै खराब कर्जा पाँच प्रतिशत नाघ्न थालेको छ। त्यसले गर्दा धेरै मानिस आत्तिएको जस्तो देख्छु। तर मलाई त्यसले कति पनि अत्त्याएको छैन। किन भन्दा म जुन बैंकमा काम गर्थे त्यसको नै खराब कर्जाको अनुपात निक्कै माथि थियो। तपाइलाई नढाँटी भन्दा २०५८ मा म नबिल बैंकमा काम गर्थे। २०५८ असार हुनुपर्छ। त्यस बेला नबिल बैंकको १६ प्रतिशत निष्क्रिय कर्जा थियो। तर त्यसको लागि प्रोभिजनिङ गरिएको हुनाले नबिल बैंक डुब्छ भनेर कसैले सोचेको अवस्था थिएन। भन्नुको अर्थ एनपिएल बढ्दैमा तर्सिनु पर्दैन। तर एनपिए अनुसार प्रोभिजनिङ गरिएको छ कि छैन भनेर हेर्नु जरुरी हुन्छ।

अब जहाँसम्म बटम लाईन हो कि होइन भन्ने प्रश्न छ। त्यसमा बैंकर साथीहरूसित कुरा गर्दा औसतमा झण्डै १० प्रतिशत जति एनपिएल होलाकी भन्ने कुरा आएका छन्। किन भन्दा अझै पनि राष्ट्र बैंकले दिएको रि सेड्युलिङ र रि स्टचरिङ गर्ने सुविधाले धेरै ऋणको प्रोभिजनिङ भएका छैनन्। त्यसले गर्दा त्यो ऋण असल हुन्छन् कि खराबमा राख्नु पर्ने हो त्यसको टुङ्गो लागि सकेको अवस्था छैन। ल त्यसलाई खराबमा नै जोडेर १० प्रतिशत नै भयो भने पनि मलाई आत्तिनु पर्छ जस्तो लाग्दैन।  किनभने बैंकले अहिले नै झण्डै पाँच प्रतिशत प्रोभिजनिङ गरिसकेका छन्। जति पनि कर्जा दिएको हुन्छ त्यो बिना धितो दिएको हुँदैन। त्यसैलाई बिक्री गर्दा पनि केही न केही पैसा उठ्छ नै।

त्यसकारण रिटन अफ इक्युटिलाई हेर्ने हो भने आउने छ महिनासम्म पनि त्यति राम्रो देखिँदैन। यो वर्ष गर्नु पर्ने सबै काम भयो भने अर्को वर्षदेखि सम्भवतः बैंकहरुले राम्रो विवरण प्रकाशित गर्न सक्छन् जस्तो लाग्छ। त्यसले गर्दा अहिलेको विवरणलाई शेयरधनीको नजरबाट हेर्दा प्रतिफल पाउन अझै एक वर्ष लाग्न सक्छ। तर निक्षेपकर्ताको नजरबाट हेर्दा अहिले कुनै जोखिम छैन।

अहिले बैंकहरुले पाँच प्रतिशतसम्म खराब कर्जा देखाउन सुरु गरेका छन्। त्यसलाई सामान्य रुपमा लिन थालिएको छ। तपाईले पनि भन्नु भयो कि १० प्रतिशतसम्म हुन सक्छ। भनेपछि आउने त्रैमासमा पाँच प्रतिशत भन्दा पनि बढी हुने सम्भावना छ ?

रि सेड्युलिङ र रि स्टचरिङ गर्ने सुविधा हटे १० प्रतिशत पुग्छ कि भन्ने मेरो आशय थियो। तर मैले आर्थिक गतिविधिमा  क्रमिक सुधार देखिरहेको छु। जस्तै आयात बिस्तारै बढ्न थालेको छ। निर्यात पनि केही हदसम्म ठिक ठिकै छ। राजस्व पनि सुधार हुँदै छ। बैंकहरुको नै कर्जा ग्रोथ नै गएको ६ महिनामा पाँच प्रतिशतको हाराहारीमा छ। बैंकहरुको फि इनकम र फरेन एक्सचेन्ज इनकम बढेको देख्दा आउने दिनमा यो प्रतिशत बढेर जान्छ जस्तो लाग्दैन। तर यहाँ मुख्य कुरा भनेको बैंकहरुले लिएको धितोमा निर्भर हुने भयो। धेरैजसो बैंकहरुले घरजग्गा धितोमा ऋण दिएका छन्। यदि धितो लिएका घरजग्गा सहजै बिक्री भए भने एनपिएल बढ्दैन। तर भएन भने सोच्नु पर्ने हुन्छ।

अलि बढी चुक्ता पूँजी हुनेको खराब कर्जा पाँच प्रतिशत र कम चुक्ता पूँजी भएकाहरूको ४० प्रतिशतसम्म पुग्नुमा चुक्ता पूँजी नै हो कि अरू कारण छन् ?

चुक्ता पूँजीसँग खराब कर्जाको सम्बन्ध नै हुँदैन। अहिले खराब कर्जा बढ्नुको प्रमुख कारण भनेको आर्थिक गतिविधिमा आएको सुस्तता नै हो। कोभिड पछि कुनै सेक्टर अझै लयमा आउन सकेका छैनन्। जसमा निर्माण क्षेत्र अझै समस्यामा नै छ। त्यसले गर्दा कुन क्षेत्रमा कर्जा प्रवाह भएको छ भन्ने विषयले महत्त्व राख्छ। वाणिज्य बैंकको भन्दा विकास बैंक र वित्त कम्पनीको खराब कर्जा अनुपात अलि बढी देखिन्छ।  ऋण दिँदा धितो मात्रै हेर्ने तर क्यास फ्लो कम हेर्ने गरिएको कारण यस्तो भएको हुन सक्ने अनुमान मेरो छ। वाणिज्य बैंकहरुले ऋण दिँदा क्यास फ्लो हेर्नै पर्ने नियम हुन्छन्। फेरि विकास बैंक र वित्त कम्पनीमा छैन भन्न खोजिएको होइन। तर नियम कति हेरियो हेरिएन भन्न खोजेको हो।  जहाँ घरजग्गा मात्रै हेरेर ऋण लगानी भएको छ। त्यहाँ घरजग्गाको कारोबार कम हुने बित्तिकै समस्या त हुने नै भयो।

कर्जाको ग्रोथ थोरै बढेको जस्तो देखिन्छ। तर माग अझै पनि पर्याप्त छैन नै भनिन्छ। माग नबढ्नुको प्रमुख कारण के होला ?

मुख्य कुराचाहिँ कन्फिडेन्स नै हो। व्यवसायीहरूसित कुरा गर्दा पहिले ब्याजदरको कुरा गर्नु हुन्थ्यो। अहिले निक्कै घटी सक्यो। ब्याजदर समस्या भएन। तरलता पनि समस्या होइन। मुख्य कुराचाहिँ कन्फिडेन्स नै हो। मैले ऋण लिएर लगानी गरेपछि त्यसको साँवा व्याज फिर्ता गर्नु पर्ने हुन्छ। मैले लगानी गरेको व्यवसायबाट नाफा गर्न सक्छु कि सक्दिन भन्ने कन्फिडेन्स महत्त्वपूर्ण हो।

तपाईले नेपालको शेयर बजारलाई कसरी हेरिरहनु भएको छ ?

मैले नेपालको स्टक मार्केटलाई हेर्दा अलि हल्लै हल्लामा गएको हो कि जस्तो महसुस गर्छु। कम्पनीको अवस्था हेरेर अथवा आर्थिक गतिविधिलाई हेरेर शेयरमा लगानी गर्नु पर्ने हो जस्तो लाग्छ। यसो हेर्दा राम्रो कम्पनीको शेयर मूल्य निक्कै कम देखिन्छ। जसको प्रति शेयर आम्दानी दुई रुपैयाँ छ। उसको मूल्य २६ सय पुगेको देख्छु। म फाइनान्स कै विद्यार्थी हुँ। मैले पढेको मैलेको बुझेको अहिलेको व्यवसायिक अवस्था वा आउने दिनको अवस्थालाई हेरेर अहिले मूल्य निर्धारण हुनु पर्ने हो। सरल भाषामा भन्नु पर्दा अहिलेको प्रतिफल वा भविष्यको प्रतिफल। 

अझै जसको नम्बर अफ शेयर कम हुन्छ त्यसैको मूल्य बढी हुन्छ भन्ने सुन्छु। जसको नम्बर अफ शेयर नै कम छ त्यसको तरलता नै कम हुने भयो। भनेको बेला किन्ने मान्छे नपाइने हुन सक्छ। मुख्य कुरा त्यसको आम्दानी त्यसपछि लिक्विडिटि हेर्नु पर्ने हो। म शेयरको विज्ञ होइन तर फाइनान्सको विद्यार्थी भएको नाताले आर्जनसँग शेयरको मूल्यको ताल मेल नमिलेको हो कि जस्तो लाग्छ। अनि हल्ला खल्लाको पछि धेरै लागेको हो कि जस्तो पनि लाग्छ।

कुनै समय सबैभन्दा बढी कारोबार हुने सेक्टर बैंक वित्तीय संस्था हुन्थे। तर अहिले दैनिक कारोबारमा ५० प्रतिशत हिस्सा जलविद्युत कम्पनीले ओगट्न थालेका छन्। जलविद्युत क्षेत्रको दैनिक कारोबार बढ्नुलाई तपाईले कसरी हेर्नु भएको छ ?

मैले अघि नै भने म शेयर बजारको विज्ञ होइन तर फाइनान्सको विद्यार्थी हुँ। जलविद्युत कम्पनीहरूको हकमा लाइसेन्सको अवधि ३५ वर्ष हो। त्यसपछि त्यो सम्पत्ति नेपाल सरकारको हुन्छ। भन्नुको अर्थ त्यसको टर्मिनल भ्यालु जिरो हुन्छ। भनेपछि त्यसको अर्निङ कति हुन्छ ? हामीले त्यो हिसाब गर्नु पर्छ। जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरूलाई म के अनुरोध गर्छु भने त्यसको टर्मिनल भ्यालु जिरो हुँदै छ। जति लाभांश आउँछ त्यसलाई डिस्काउन्ट गर्नु पर्छ। अर्को तर्फ जलविद्युत क्षेत्रको आम्दानी कति हुन्छ भनेर पहिले नै अनुमान गर्न सकिन्छ। धेरैमा कति हुन्छ भन्ने पहिले नै थाहा हुन्छ। बरु कम कति हुन्छ भन्न सकिँदैन। जब अहिले नै कति धेरै आम्दानी हुन्छ भनेर हिसाब गर्न सकिने ठाउँमा पनि हामीले लगानी गर्दा बढी मूल्य तिर्छौ भने त्यसले लगानी कति सुरक्षित छ भन्ने प्रश्न उठ्छ नै।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।