दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM MeroLagani



बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।

लाभांश घोषणा गरेको दुवै कम्पनीले २० प्रतिशतभन्दा माथिको लाभांश घोषणा गरेका छन्। गत आव २०८०।८१ को नाफाबाट पहिलोपटक सुर्यलाइफ इन्स्योरेन्सले २० प्रतिशत नगद लाभांश घोषणा गरेको थियो। सुर्य लाइफ र ज्योति लाइफ मर्जर भएर बनेको सूर्यज्योति लाइफले गत वर्ष १०.२६ प्रतिशत बोनस र २४.७४ प्रतिशत नगद गरेर ३५ प्रतिशत लाभांश घोषणा गरेको थियो। बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पुँजी पुर्याएपछि भने कम्पनीले नगद लाभांशलाई जोड दिएको देखिएको छ।

जीवन बीमा कम्पनीमा नम्बर १ कम्पनी मानिएको नेपाल लाइफ इन्स्योरेन्सले यो वर्ष पनि २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले आव २०८०।८१ को नाफाबाट १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले अघिल्लो वर्ष पनि २१.०५ प्रतिशत नै लाभांश घोषणा गरेको थियो तर अघिल्लो वर्ष पुरै नगद लाभांश दिएको थियो। जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी रहेको नेपाल लाइफले प्रस्ताव गरेको बोनस शेयर सुचीकृत भएपछि कम्पनीको चुक्ता पुँजी ९ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ।

जीवन बीमा कम्पनीहरुको एक्च्युरी भ्यालुएसनमा समय लाग्ने हुँदा लाभांश घोषणा पनि ढिलै हुने गर्दछ। अघिल्लो आर्थिक वर्षमा मुद्दती निक्षेपमा अधिक व्याज दर रहेका कारण बीमा कम्पनीहरुको प्रतिफल पनि आकर्षक देखिएको जीवन बीमा कम्पनीका एक अधिकारीले मेरो लगानीलाई बताए। जीवन बीमा कम्पनीको लगानीयोग्य कोषको ८० प्रतिशतभन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरिएको हुन्छ। मुद्दती निक्षेपमा व्याज दर घट्दा जीवन बीमा कम्पनीहरुको लगानीबाट आउने प्रतिफलमा पनि व्यापक गिरावट आउने गरेको छ।

गत वर्ष अधिकांश जीवन बीमा कम्पनीहरु मर्जरमा गएको हुनाले पनि २०७९।८० को लाभांश पनि केही महिना अगाडि मात्रै घोषणा भएका छन्। गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ मर्जर भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले गत हप्ता मात्रै अघिल्लो वर्षको लाभांश घोषणा गरेको छ। कम्पनीले शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। ८ अर्ब २ करोड चुक्ता पुँजी रहेको हिमालयन लाइफ नेपाल लाइफपछि सबैभन्दा धेरै चुक्ता पुँजी भएको कम्पनी हो। कम्पनीले प्रस्ताव गरेको बोनस शेयरस सुचीकृत भएपछि कम्पनीको चुक्ता पुँजी ९ अर्ब १४ करोड पुग्नेछ।

त्यसैगरी सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जर भएर बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले पनि हालै मात्रै १८.३८ प्रतिशत बोनस शेयर साधारण सभाबाट पारित गरेर सुचीकृत गरेको छ। कम्पनीले मर्जर पछाडि शेयर किनेका लगानीकर्तालाई बोनस शेयर बापत् ५ प्रतिशत लाभांश कर तिर्न हालै एक सूचना समेत जारी गरेको छ। आइपीओ शेयर नै नबेचेका लगानीकर्ताले भने सो कर तिर्न नपर्ने सूचनामा उल्लेख छ।

प्रिमियममा आइपीओ जारी गरेको आईएमइ लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्समध्ये आव २०७९।८० मा सन आईएमई लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी २६.३२ प्रतिशत लाभांश दिएको थियो। त्यस्तै सन नेपाल लाइफले २५.०५ प्रतिशत, रिलायवल नेपालले १६.८४ प्रतिशत र सिटिजन लाइफ इन्स्योरेन्सले ५.२६ प्रतिशत लाभांश दिएको थियो। सिटिजन लाइफले गत वर्ष ५.२६ प्रतिशत लाभांश दिएकोमा पुनः सोही वर्ष २५ प्रतिशत बोनस शेयर घोषणा गरेको थियो। बीमा प्राधिकरणले एकै वर्ष दुई पटक लाभांश घोषणा गर्न नपाइने भनी हस्तक्षेप गरेपछि घोषित लाभांश फिर्ता भएको थियो। गत वर्षको नाफाबाट लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले मात्रै कुनै लाभांश दिएको थिएन।




comments powered by Disqus

एलन मस्कको एउटा शब्दले पाकिस्तानको ‘इगो हर्ट’, माफी नमागे परिणाम गम्भिर हुने चेतावनी

Jan 27, 2025 06:05 AM

भनिन्छ कसैले पनि कसैको ‘इगो हर्ट’ गर्नु हुँदैन । अर्थात जब कसैले अरु कसैको व्यवहारको कारण आफ्नो प्रतिष्ठामा आँच पुगेको महसुस गर्छ, तब उस्ले आफूले मौका पाउनासाथ त्यस्तो व्यक्तिसँग प्रतिशोध लिन्छ र त्यसले दुखद परिणाम निम्त्याउँछ ।