युनिलिभर नेपालको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

Feb 07, 2025 07:07 AM Merolagani



युनिलिभर नेपाल लिमिटेड (UNL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको सञ्चालन आम्दानी बढेको र कुल खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.९० प्रतिशत बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ३.०१ प्रतिशत बढेको छ भने कुल खर्च १.०९ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १२३ रुपैयाँ ३४ पैसा बढेर १ हजार ३७ रुपैयाँ ५७ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार ६४१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.२७ गुणा रहेको छ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ४ अर्ब १७ करोड ७८ लाख रुपैयाँ सञ्चित छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।