चालु आवमा सबैभन्दा धेरै खुद मुनाफा बढाउने कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले गतवर्ष १२ करोड ३७ लाख रुपैयाँ रहेकोमा चालु आवको दोस्रो त्रैमासमा ८६ दशमलब ७८ प्रतिशतले बढेर २३ करोड १० लाख रुपैयाँ पुगेको छ । कुल १३ वटा सूचीकृत जीवन बीमा कम्पनीम्ध्ये १ वटा लघु जीवन बीमा र दुई वटा जीवन बीमा कम्पनीको नाफा भने गत वर्षको दोस्रो त्रैमासको तुलनामा केही घट्न पुगेको छ ।
खुद मुनाफा बढ्दा कम्पनीको प्रति शेयर आम्दानीमा समेत बढेर ११ रुपैयाँ ७२ पैसा पुगेको छ । कम्पनी शेयर अहिले ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीको नेटवर्थमा समेत करिब २ प्रतिशतको सुधार आएर १ सय ७६ रुपैयाँ ९३ पैसा पुगेको छ ।
खुद मुनाफामा दोस्रो धेरै वृद्धि एसियन लाइफ इन्स्योरेन्सको देखिएको छ । कम्पनीले गत वर्षको दोस्रो त्रैमासको तुलनामा ५६ दशमलब ५५ प्रतिशतले नाफा वृद्धि गरी २५ करोड ३ लाख रुपैयाँ पुर्याएकाे छ । ७ दशमलब ७५ प्रतिशतले चुक्ता पुँजी वृद्धि गेर ३ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ पुग्दा पनि प्रति शेयर आम्दानी ४५.४५ प्रतिशतले बढाएर १४ रुपैयाँ ७२ पैसा पु्र्याएकाे छ । कम्पनीकाे नेटवर्थ अहिले १ सय १८ रुपैयाँ ८२ पैसा रहेको छ । कम्पनीको शेयर अहिले ७ सय ७३ रुपैयाँमा कारोबार भइरहेको छ ।
खुद मुनाफा वृद्धि दरको आधारमा तेस्रो स्थानमा रहेको रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासमा ३५ करोड ४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१ दशमलब ७० प्रतिशतले बढी हो । रिलावल नेपाल लाइफ इन्स्योरेन्सकाे प्रति शेयर आम्दानी १५ रुपैयाँ १० पैसा र नेटवर्थ १ सय ६२ रुपैयाँ ८० पैसा रहेको छ । कम्पनीको प्रति शेयर आम्दानीमा वृद्धि भए पनि नेटवर्थमा भने १.९६ प्रतिशतले गिरावट आएको छ ।
आईएमई लाइफले २५ प्रतिशतले चुक्ता पुँजी वृद्धि गर्दा समेत खुद मुनाफा समेत १४.१२ प्रतिशतले वृद्धि गरी २६ करोड ७९ लाख रुपैयाँ पुर्याएकाे छ । कम्पनीको प्रति शेयर आम्दानीमा भने ८.७० प्रतिशतले गिरावट आएर १० रुपैयाँ ७० पैसा पुगेको छ भने नेटवर्थमा समेत १४.७३ प्रतिशतले गिरावट आएर १ सय ४७ रुपैयाँ ८८ पैसा पुगेको छ ।
नेपाल लाइफले १० प्रतिशत चुक्ता पुँजी वृद्धि गरेर ९ अर्ब १४ करोड रुपैयाँ पुर्याउँदा खुद मुनाफामा समेत ९ दशमलब ४५ प्रतिशतले वृद्धि गरेर ४६ करोड ८२ लाख रुपैयाँ पुगेको छ । नेपाल लाइफको नेटवर्थ १७ दशमलब २२ प्रतिशतले बढेर १ सय ३५ रुपैयाँ ७ पैसा पुगेको छ । त्यसैगरी नेसनल लाइफले ४ प्रतिशतले चुक्ता पुँजी बढाएर ५ अर्ब २१ करोड पुर्याउँदा खुद मुनाफामा पनि ९.४० प्रतिशतले नै वृद्धि गरेर २७ करोड ९१ लाख रुपैयाँ पुर्याएकाे छ । कम्पनीको प्रति शेयर आम्दानीमा ५.११ प्रतिशतले वृद्धि भएर १० रुपैयाँ ७० पैसा पुगेको छ भने नेटवर्थ १ सय २२ रुपैयाँ ५५पैसा रहेको छ ।
चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा धेरै चुक्ता पुँजी वृृद्धि गर्ने लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले ८८ दशमलब ४५ प्रतिशत चुक्ता पुँजी वृद्धि गरेर ५ अर्ब रुपैयाँ पुर्याउँदा खुद मुनाफामा भने ३.८१ प्रतिशतको वृद्धि भएर १४ करोड १८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको नेटवर्थ अहिले ७.७२ प्रतिशतले बढेर २ सय २० रुपैयाँ ४० पैसा पुगेको छ ।
हिमालयन लाइफले ३७ करोड ६३ लाख रुपैयाँ कमाउँदा सानिमा रिलायन्सले २३ करोड १७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी इन्स्योरेन्सले १८ करोड २६ लाख रुपैयाँ खुद मुनाफा गरेका छन् ।
सन नेपाल लाइफ, सूर्य ज्योति लाइफ र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले भने गत वर्षको दोस्रो त्रैमासिक भन्दा कम मुनाफा गरेका छन् । सन नेपाल लाइफले गत वर्ष ३२ करोड ८४ लाख नाफा गरेकोमा चालु आवको दोस्रो त्रैमासमा २८ करोड २३ लाखमा सीमित भएको छ भने सूर्यज्योति लाइफको २३ करोड ६६ लाख रुपैयाँ रहेकोमा १९ करोड ६१ लाख रुपैयाँमा सीमित भएको छ ।
लघु बीमा मध्ये पहिलो आइपीओ निष्काशन गरेको गार्डियनाा माइक्रो लाइफ इन्स्योरेन्सले भने गत वर्ष २ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा आइपीओ निष्काशन पश्चात भने खुद मुनाफामा ५६ दशमलब १४ प्रतिशतले गिरावट आई १ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीकाे नेटवर्थ अहिले १ सय ६ रुपैयाँ ८९ पैसामा सीमित भएको छ ।