नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Feb 23, 2025 10:00 AM Merolagani



नेपाल माइक्रो इन्स्योरेन्सले आज (फागुन ११ गते), आइतबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशनमा ल्याएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वासाधारणका लागि निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले आज अर्थात फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो। सो आईपीओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि फागुन २५ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिन?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्।

मध्यम जोखिम जनाउने रेटिङ्ग

साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेड, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई २०८१ भदौ ६ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८२ भदौ ६ गतेसम्म बहाल रहनेछ।

कस्तो कम्पनी हो?

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम वि.सं. २०७९ पुस ८ नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो। बीमा ऐन २०७९ तथा बीमा नियमावली २०४९ अनुसार मिति २०७९ चैत २७ गतेका दिन नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा सम्बन्धी कारोबार गर्न इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० बैशाख २६ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ।

कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर महानगरपालिका वडा नं.१, चितवन जिल्लामा रहेको छ। साथै, कम्पनीको प्रादेशिक कार्यालय गैह्रिधारा, महामती भवन, काठमाडौंमा रहेको छ। कम्पनीले आवश्यकता अनुसार प्रचलित कानूनको अधीनमा रही सम्बन्धित निकायबाट स्वीकृति लिई स्वदेशमा प्रादेशिक, क्षेत्रिय र शाखा कार्यालयहरु तथा विदेशमा शाखा कार्यालयहरु स्थापना गर्न वा बन्द गर्न सक्नेछ।

चितवनमा केन्द्रिय कार्यालय रहको यस कम्पनीले कारोबार गर्ने मख्य स्थान काठमाडौंमा रहेको प्रादेशिक कार्यालय सहित ९ शाखा, २ उप शाखा तथा १३ एक्सटेनसन काउण्टरहरु मार्फत आफ्नो व्यवसाय नेपाल भर सञ्चालन गर्दै आईरहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्य अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पूँजी संकलन गर्न र सञ्चालक समितिमा सर्वसाधारणको समेत प्रतिनिधित्व गराउन कम्पनीले आईपीओ जारी गरेको हो।

यसका साथै, कम्पनीले आफ्नो सेवा विस्तार गर्ने क्रममा बीमा व्यवसायको जोखिम धारण क्षमता बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न पनि कम्पनीले आईपीओ निष्काशन गरेको हो।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

साधारण शेयर निष्काशन गरी प्राप्त हुने पूँजी कम्पनी ऐन, बीमा ऐन तथा अन्य प्रचलित कानुनको अधिनमा रही कम्पनीको व्यवसायिक प्रयोजनमा उपयोग गरिनेछ। यसैगरी नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको नयाँ लगानी निर्देशिकाले विभिन्न पूर्वाधारजन्य क्षेत्रहरु तथा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरुमा लगानीको अवसरहरु प्रदान गरेकोले त्यस्तो क्षेत्रहरुमा लगानी विस्तारका लागि उक्त रकम उपयोगको लागि पहल गरिनेछ।

वित्तीय अवस्था

आर्थिक वर्ष २०७९/८० मा कम्पनीको सञ्चित मुनाफा १७ लाख ९९ हजार रुपैयाँ थियो। त्यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको यस्तो मुनाफा ३० लाख ८८ हजार रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६२ लाख ९ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ भने आगामी आर्थिक वर्षमा १ करोड ९ लाख २९ हजार रुपैयाँ सञ्चित मुनाफा कमाउने प्रक्षेपण गरेको छ।

आर्थिक वर्ष २०७९/८० को अन्त्यमा कम्पनीको प्रतिशेयर आम्दानी ८० पैसा रहेको थियो भने प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८० पैसा रहेको छ। त्यसैगरी, गत आर्थिक वर्ष कम्पनीको प्रतिशेयर आम्दानी ५६ पैसा र प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा रहेको छ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार ७ जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति गठन हुने व्यवस्था रहेको छ। जसमध्ये संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गने सञ्चालकहरु ४ जना, स्वतन्त्र सञ्चालक १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना रहने व्यवस्था रहेको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा आशिष श्रेष्ठ रहेका छन् भने अन्य सञ्चालकहरुमा सिद्धान्त झुनझुनवाला, प्रविना दाहाल र लतिका गोल्यान रहेका छन्। कम्पनीको स्वतन्त्र सञ्चालक बद्री सिग्देल रहेका छन्।

भावी योजना तथा रणनीति

बीमा सेवालाई समाजका हरेक समुदायका व्यक्तिहरुसम्म विस्तार गर्न उपयुक्त लघु बीमा योजनाहरु तर्जुमा गरी गुणस्तरीय लघु बीमा सेवा प्रदान गर्ने कार्यमा प्रयासरत रहने कम्पनीको भावी योजना रहेको छ।

भविष्यमा समेत ग्राहकहरुबाट माग भए बमोजिमका लघु बीमा सेवा सुविधाहरु आफ्ना ग्राहकवर्गमा ल्याउन प्रयत्नरत रहने, आगामी दिनहरुमा शाखा विस्तारमा थप जोड दिने, कम्पनीको सूचना प्रविधिको विकास र विस्तारलाई थप तिव्रता दिई कार्यक्षमता र सुरक्षामा वृद्धि गर्ने, बीमितको सेवा प्रणालीमा गुणात्मक वृद्धि गर्ने, दाबी भुक्तानी प्रकृयामा सरलीकरण एवं नवीकरण बीमा शुल्क भुक्तानीमा सहजता अपनाउने, कर्मचारी तथा अभिकर्ताहरुको पेशागत दक्षता अभिवृद्धिका कार्यक्रमहरु तर्जुमा गर्ने लगायतका योजनाहरु रहेको छ। समयसापेक्ष रुपमा कार्य क्षेत्र विस्तार गरी कम्पनीको दायरा फराकिलो बनाउदै लग्ने योजना पनि रहेको छ।

ओपनिङ्ग रेञ्ज कति?

आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८० पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँ ८० पैसादेखि ३०२ रुपैयाँ ४० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।




comments powered by Disqus

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

Mar 07, 2025 10:35 AM

फागुन २३ गते, शुक्रबार, नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।