अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको ६ करोड ५५ लाख ७० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले जेठ २२ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा जेठ २७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि असार ५ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
कति कित्ता आवेदन दिने?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ६५ हजार ५७० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा कुनै कित्ता शेष नहुने भएकोले लगानीकर्ताले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुनेछ।
मध्यम जोखिम जनाउने रेटिङ्ग
साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई २०८२ असोज ९ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्ग २०८३ कात्तिक ६ गतेसम्म बहाल रहने छ।
कस्तो कम्पनी हो?
एभरेष्ट कलर प्राइभेट लिमिटेड कम्पनीको नाम बाट २०६८ बैशाख २२ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रुपमा दर्ता भएको यस कम्पनी २०८१ असार १० गते प्राइभेट लिमिटेड कम्पनीबाट “एभरेष्ट कलर लिमिटेड” पब्लिक लिमिटेड कम्पनीको रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता छ।
कम्पनीको रजिष्टर्ड कार्यालय मध्यपुर ठिमी नगरपालिका वडा नं. ३, कौशलटार, भक्तपुर जिल्ला ,नेपालमा रहेको छ। सम्बन्धित निकायको स्वीकृति लिई अन्य स्थानमा पनि शाखा तथा सम्पर्क कार्यालय खोल्न वा रजिष्टर्ड कार्यालय सार्न सकिनेछ। त्यस्तै, कम्पनीको कारखाना चितवन जिल्ला, खैरनी नगरपालिका, वडा नं. ३, टुंगारामा रहेको छ भने कम्पनीको शाखा कार्यालय अर्थात डिपो आइतवारे चोक जामुनगाँछी ४ बिराटनगर महानगरपालिका मोरङमा रहेको छ।
यस कम्पनी स्वदेशी युवाहरूको संगठित पहलबाट स्थापित भई विगत १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनीहरू सरह उच्च गुणस्तरीय पेन्ट उत्पादन तथा आपूर्ति गर्दै आएको एक प्रतिष्ठित नेपाली उद्योगको रूपमा परिचित छ। सहकारी मोडलमा स्थापना भएको नेपालको पहिलो पेन्ट उद्योगका रूपमा एभरेष्ट कलरले सबै वर्गका उपभोक्ताको आवश्यकता र नेपाली हावापानीलाई ध्यानमा राखी प्रिमियम देखि इकोनोमी ब्राण्ड सम्मका विविध प्रकारका उच्च गुणस्तरीय रंगहरू उत्पादन तथा बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीले बाहिरी सतहका लागि १२ वर्ष, १० वर्ष तथा ७ वर्ष वारेन्टी सहितका विभिन्न प्रिमियम र सुपर प्रिमियम पेन्टहरू, भित्रि सतहका लागि इमल्सन, डिस्टेम्पर तथा विशेष प्रयोजनका पेन्टहरू, प्राइमर, काठ तथा धातुमा प्रयोग हुने विशेष कोटिङ, औद्योगिक प्रयोजनका रंगहरू तथा आर्ट कार्यमा प्रयोग हुने पेन्टहरू उत्पादन गर्दै आएको छ।
कम्पनीले निकट भविष्यमा अन्तर्राष्ट्रिय बजारमा प्रचलित अत्याधुनिक प्रविधियुक्त नयाँ उत्पादनहरू समेत नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ। अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणाली सम्बन्धी प्रमाणपत्र प्राप्त यस कम्पनीले कुशल व्यवस्थापन, उत्पादनको गुणस्तर, वातावरणीय दायित्व, कार्यस्थलमा स्वास्थ्य तथा सुरक्षालाई उच्च प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय स्तरको प्रविधि र अत्याधुनिक मेसिनरी प्रयोग गरी उत्पादन तथा प्रयोगशाला परीक्षणपछि नेपाली बजारमा आफ्ना उत्पादनहरू वितरण गर्दै आएको छ।
आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीले आईपीओ निष्काशन गरी संकलन गरेको रकम को प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भए अनुसार कम्पनीको जारी पूँजीको २६.३३ प्रतिशत सात करोड ९० लाखबराबरको ७ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुको निमित्त छुट्याइएका कारण कम्पनीले आईपीओ जारी गरेको हो। त्यस्तै, कम्पनीको वित्तीय एवम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न कम्पनीले आईपीओ निष्काशन गरेको हो।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
निष्काशनबाट प्राप्त हुने पूँजी रकमलाई कम्पनीले थप जग्गा प्राप्त गर्न, भौतिक संरचना विस्तार गर्न तथा थप उपकरण खरिद गर्न निष्काशन वापत्को रकम खर्चका लागि प्रयोग गरिनेछ।

वित्तीय अवस्था
चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ४० पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३७ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको सञ्चित नाफा ९० लाख ३७ हजार रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा ३४ हजार २१७ रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ९७ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६० पैसा थियो।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ करोड ४४ लाख ८० हजार रुपैयाँ सञ्चित मुनाफा कमाउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८२ पैसा र प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ११ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना
कम्पनीको नियमावलीको नियम २७ वमोजिम कम्पनीमा सातजनाको सञ्चालक समिति रहने व्यवस्था छ। जसमा संस्थापक समूहबाट चारजना तथा सर्वसाधारण समूहबाट दुईजना र एक जना स्वतन्त्र सञ्चालक रहनेछन्।
हाल कम्पनीमा पाँचजना सञ्चालकहरु छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा महेश्वर खनाल रहेका छन्। त्यस्तै, कम्पनीको अन्य सञ्चालकमा सरोज लुइटेल, रोजिना श्रेष्ठ र राजन लाल श्रेष्ठ रहेका छन् भने स्वतन्त्र सञ्चालकमा कपिल देव महतो रहेका छन्।
भावी योजना तथा रणनीति
कम्पनीको भावी योजना अन्तर्गत कम्पनीले बिक्री प्रणालीको विकास र गुणस्तरलाई केन्द्रिकृत गर्ने योजना बनाएको छ। कम्पनीले प्रारम्भिक चरणमा मार्जिन आर्जन गर्ने भन्दा बिक्री परिमाणलाई वृद्धि गर्दै खरिद, स्रोत साधनको व्यवस्थापन र सञ्चालनको दक्षता सुधार गर्ने रणनीति तय गरेको छ।
कम्पनीले आफ्ना उत्पादनहरूको गुणस्तर तथा प्याकेजिङलाई बजारको अपेक्षाभन्दा सधैं उत्कृष्ट कायम गरिराख्न आवश्यक सम्पूर्ण पहलहरु सुनिश्चित गर्ने रणनीति तय गरेको छ। नेपाल विकासोन्मुख देश भएकाले यहाँ विभिन्न पूर्वाधारहरुको निर्माण गर्ने कार्य अझै बाँकी रहेको छ। विगतका केही वर्षबाट नेपालमा ठुला–ठुला विकासका परियोजनाहरुको निर्माण कार्यले गति लिएको छ। फलस्वरुप आउने वर्षहरुमा रङ्गकाे माग उच्च रहने अनुमान गरिएको छ। सोलाई मध्यनजर गरि सृजित हुने मागको आधारमा संगठित संस्थाले आफ्नो उत्पादन क्षमता विस्तार गरिसकेको र सोहि बमोजिम उत्पादन क्षमताको उपयोग वृद्धि गर्दै लैजाने रणनिति लिएको छ। साथै भविष्यको आवश्यकता अनुरुप क्षमता वृद्धि गर्दै जाने योजना रहेको छ।