कलंगा हाइड्रोको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

May 22, 2026 10:27 AM Merolagani



कलंगा हाइड्रो लिमिटेडले आज (जेठ ८ गते), शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशतले हुन आउने ४९ करोड रुपैयाँबराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र ३ लाख ५० हजार कित्ता साधारण शयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले १ लाख ९५ हजार कित्ता शेयर सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता शेयर कर्मचारीहरुमा बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको २८ करोड ७० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ लाख ७० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले जेठ ८ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि जेठ २२ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता हिमालयन क्यापिटल लिमिटेड र हिमालयन सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित हिमालयन क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको हिमालयन ८०–२० रहेको छ।

कति कित्ता आवेदन दिने?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार २ लाख ८७ हजार जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा कुनै कित्ता शेष नहुने भएकोले लगानीकर्ताले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुनेछ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। केयर रेटिङ्ग नेपालले कम्पनीलाई २०८२ पुस १५ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्ग २०८३ माघ ९ गतेसम्म बहाल रहने छ।

कस्तो कम्पनी हो?

कलंगा हाइड्रो लिमिटेड, १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्ने उद्देश्यका साथ कम्पनी ऐन, २०६३ बमोजिम २०६४ पुस ५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०७८ असार ३० गतेको निर्णय अनुसार प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कारोबार सञ्चालन गरी रहेको छ।

कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. ३, धोबिघाटमा रहेको छ भने आयोजनस्थल बझाङ जिल्ला सुनकुँडा, खिरातडी र बाँझ गाँउपालिकामा रहेको छ। कम्पनीले आवश्यकता अनुसार सम्बन्धित कार्यालयको स्वीकृति लिई कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्न र नेपाल भित्र वा विदेशमा समेत शाखा कार्यालय खोल्न सकिनेछ।

कम्पनीले बझाङ जिल्ला, सुनकुँडा, खिरातडी र बांझ गाउँपालिका भई बग्ने कालंगागाड खोलाको पानीको बहाव सदुपयोग हुने गरी १५.३३ मेगावाट क्षमताको कालंगा गाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ २७ गतेदेखि विद्युत उत्पादन शुरु गरेको थियो। उत्पादित विद्युत वित्थडचिर गाँउपालिका वडा नं ८ मा रहेको स्वीचयार्ड देखि करिब ३३.३ किलोमिटर (३.८ कि.मि. डबल सर्किट र २९.५ कि.मि. सिंगल सर्किट) १३२ के.भि प्रसारण लाईनमार्फत दार्चुला जिल्ला, शैल्यशिखर नगरपालिका वडा नं. १ स्थित नेपाल विद्युत प्राधिकरणको चमेलिया जलविद्युत केन्द्रको बलाँच सबस्टेसन हुँदै केन्द्रिय प्रशारण प्रणालीमा समाहित गरिएको छ।

कम्पनीले सञ्चालन गरेको आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख ४२ हजार ३१० रुपैयाँ ३ पैसा रहेको छ भने प्रतिमेगावाट लागत २८ करोड ३० लाख ६२ हजार १२० रुपैयाँ ६८ पैसा रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १८.०१ वर्ष रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रबन्धपत्रमा रहेको व्यवस्था अनुसार जारी पूँजीको १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुलाई तथा जारी पूँजीको ३५ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान अनुरुप शेयर निष्काशन गरी कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ पुर्याउन कम्पनीले आईपीओ जारी गरेको हो। त्यस्तै, कम्पनीले लिएको बैंक कर्जा रकम चुक्ता भुक्तानी गर्न, वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न कम्पनीले आईपीओ निष्काशन गरेको हो।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

सर्वसाधारणमा शेयर निष्काशन गरि प्राप्त भएको रकमलाई कम्पनीको हाल सञ्चालनमा रहेको १५.३३ मेगावाट जडित क्षमताको कालंगागाड जलविद्युत आयोजनाको आवश्यक मर्मत सम्भार, सुधार तथा सञ्चालन प्रयोजनका लागि लिइएको बैंक कर्जा रकमको साँवा रकम चुक्ता भुक्तानीमा खर्च गर्ने वित्तीय योजना तथा रणनीति रहेको छ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ९ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५३ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको सञ्चित नाफा ४ करोड ६२ लाख ९९ हजार रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा १ करोड ३१ लाख ४४ हजार रुपैयाँ ऋणात्मक थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ५६ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी १ रुपैयाँ ४८ पैसा थियो।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ करोड १६ लाख ८२ हजार रुपैयाँ सञ्चित मुनाफा कमाउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७७ पैसा र प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ८३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम २७ वमोजिम कम्पनीमा एकजना महिला सञ्चालक सहित सातजनाको सञ्चालक समितिको व्यवस्था रहेको छ। जसमा संस्थापक समूहबाट मनोनित र निर्वाचित चारजना तथा सर्वसाधारण समूहबाट निर्वाचित दुईजना र यस क्षेत्रको व्यवसायसँग सम्बन्धित विषयमा ज्ञान तथा अनुभव हासिल गरेको एक जना स्वतन्त्र सञ्चालक रहनेछन्।

हाल कम्पनीमा पाँचजना सञ्चालकहरु छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा खगेश्वर बोहरा रहेका छन्। त्यस्तै, कम्पनीको अन्य सञ्चालकमा विद्या लिम्बू, तिर्थराज चटौत, सम्पुर्ण लिम्बू र सुगम घिमिरे रहेका छन्।

भावी योजना तथा रणनीति

देशमा जलविद्युत शक्तिको विकास गर्न स्वदेशी वा विदेशी संघ, संस्था तथा निजी उद्यमी एवं लगानीकर्ताहरुलाई एक आपसमा आवद्घ गरी विद्युतशक्ति उत्पादन, वितरण, सञ्चालन, मर्मत संभार आदि कार्य गर्ने कम्पनीको योजना रहेको छ। त्यस्तै, नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिई नेपाल राज्यमा नदी नालाहरुबाट विभिन्न स्तरका जल विद्युत आयोजना निर्माण गरी सञ्चालन गर्ने र वायु शक्ति, डिजल प्लान्ट वा अन्य विकसित प्रविधिसंग सम्बन्धित अनुसन्धान कार्य गर्नुका साथै सम्भावना देखिएका योजनाहरु तर्जुमा गरी विद्युत उत्पादन गर्ने योजना पनि कम्पनीले बनाएको छ।




‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।