बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Sep 07, 2026 10:38 AM Merolagani



बेनी हाइड्रोपावर लिमिटेडले आज (भदौ २२ गते), सोमबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड ८० लाख रुपैयाँबराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले १० लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ४ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले २० हजार ८०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा ८ करोड ६३ लाख २० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले भदौ २२ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि असोज ५ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरो शेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता प्रभु क्यापिटल रहेको छ।

कति कित्ता आवेदन दिने?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा कुनै कित्ता शेष नहुने भएकोले लगानीकर्ताले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुनेछ।

मध्यम जोखिम जनाउने रेटिङ्ग

साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

इक्रा नेपालले कम्पनीलाई २०८२ फागुन १ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्ग २०८३ माघ २९ गतेसम्म बहाल रहने छ।

कस्तो कम्पनी हो?

जलविद्युत आयोजनाको विकास, निर्माण र सञ्चालन गर्ने मुख्य उद्देश्यका साथ कम्पनी ऐन, २०६३ बमोजिम २०६३ कात्तिक २४ गते बेनी हाईड्रोपावर प्रोजेक्ट प्रा. लिमिटेडको स्थापना भएको हो। प्राइभेट लिमिटेडको रुपमा दर्ता भएको यो कम्पनी २०७८ असार ३१ गते प्रा. लि. बाट पब्लिक लिमिटेडमा परिणत भएको हो। कम्पनीले २०७९ असोज १४ गतेदेखि कम्पनी रजिष्ट्रार कार्यालयबाट कारोबार स्वीकृति प्राप्त गरी कारोबार सञ्चालन गर्दै आएको छ।

कम्पनीको रजिष्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौं जिल्ला, का.म.न.पा वडा नं. ५ मा रहेको छ भने आयोजना स्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पूर्वाधारहरु सोलुखुम्बु जिल्ला स्थित हाल सोलु दुधकुण्ड वडा नं. २ र ३ (साविक बेनी, तामाखानी र सल्लेरी गा.वि.स. वडा नं. २, ३ र ४) गाउँपालिकामा रहेको छ।

कम्पनीले स्थापना भए पश्चात् सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका हुँदै बग्ने सोलु र जुनवेशी खोलाको पानी प्रयोग गरी कुल १९.८ मेगावाट क्षमताको माथिल्लो सोलु खोला जलविद्युत आयोजनबाट विद्युत उत्पादन गरिरहेको छ। माथिल्लो सोलु खोला जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत बिक्री गर्न कम्पनीले २०७७ साउन १५ गते विद्युत प्रसारणको अनुमतिपत्र प्राप्त गरेको थियो। सो अनुमति पत्रको अवधि २४ वर्ष बाँकी रहेको छ।

आयोजनाको कुल अनुमानि लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री गरी स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर दिन कम्पनीले आईपीओ निष्काशन गरेको हो। त्यस्तै, कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र प्रबन्धपत्रमा तोकिए बमोजिमको पूँजी संरचना कायम गर्न पनि कम्पनीले आईपीओ जारी गरेको हो। आईपीओ जारी गर्नुको मुख्य उद्देश्य प्राथमिक सार्वजनिक निष्काशनबाट प्राप्त भएको रकम बैंकबाट लिइएको ऋण भुक्तानीका लागि प्रयोग गर्नु रहेको छ।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

कम्पनीले साधारण शेयर जारी गरे पश्चात् सार्वजनिक निष्काशनबाट प्राप्त हुने रकम आयोजना निमार्ण गर्न बैंकबाट लिइएको ऋण भुक्तानी गर्न प्रयोग गरिनेछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ४३ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी २१ रुपैयाँ १७ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको सञ्चित नाफा १० करोड ३४ लाख ५८ हजार रुपैयाँ रहेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा ७ करोड २६ लाख ५५ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७० पैसा थियो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ९ करोड २२ लाख ४१ हजार रुपैयाँ सञ्चित मुनाफा कमाउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३४ पैसा र प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ८७ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम २७ (२) मा भएको व्यवस्था अनुसार सातजना सञ्चालक रहने सञ्चालक समिति रहने व्यवस्था रहेको छ। जसमा संस्थापक समूहबाट पाँचजना तथा सर्वसाधारण समूहबाट एकजना र एक जना स्वतन्त्र सञ्चालक रहनेछन्।

हाल कम्पनीमा पाँचजना सञ्चालकहरु छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा युग होल्डीङ प्रा. लि. का प्रतिनिधि गणेश कार्की रहेका छन्। त्यस्तै, कम्पनीको अन्य सञ्चालकमा वान वो वान कम्पनीका प्रतिनिधि हिरेन्द्र मान प्रधान, वाई कुमार श्रेष्ठ, सोनम छिरिङ शेर्पा र पेम्बा गेल्बु शेर्पा रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीले आगामी पाँच वर्षभित्र सम्भाव्य जलविद्युत क्षेत्रहरुको पहिचान तथा लगानी विस्तार गर्दै आर्थिक वर्ष २०८३/८४ सम्ममा एक सफल जलविद्युत कम्पनीको रुपमा स्थापित हुने लक्ष्य राखेको छ। उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने सम्झौता भइसकेको र देशमा विद्युतको माग उच्च हुनुका साथै भारत तथा बङ्गलादेशमा समेत विद्युत निर्यातको प्रचुर सम्भावना रहेकाले कम्पनीको बजार जोखिम र प्रतिस्पर्धा अत्यन्तै न्यून रहेको छ।