कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले १ लाख ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ५४ हजार कित्ता र सामूहिक लगानी कोषहरुलाई ९० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको १४ करोड ७६ लाख रुपैयाँबराबरको १४ लाख ७६ हजार कित्ता शेयर सर्वासाधारणका लागि निष्काशन गरेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले आज अर्थात फागुन २७ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा चैत ३ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि चैत १२ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
कति कित्ता आवेदन दिन?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार १ लाख ४७ हजार ६०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्।
मध्यम जोखिम जनाउने रेटिङ्ग
साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेड, काठमाडौँबाट रेटिङ्ग गराएको छ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई २०८१ माघ १० गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८२ माघ १३ गतेसम्म बहाल रहनेछ।
कस्तो कम्पनी हो?
ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित एक कम्पनी हो। कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं. १०, नयाँ बानेश्वर, काठमाडौँमा रहेको छ भने कारोबार गर्ने मुख्य स्थान पनि त्यही रहेको छ।
कम्पनीले औषधि ऐन २०३५ र औषधि दर्ता नियमावली २०३८ को अधीनमा रही २०७२ असार १७ गते ओमेगा फर्मास्युटिकल्स प्रा.लि. लाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय औषधि व्यवस्था विभागबाट देवीस्थान ६, पर्वतमा औषधि उद्योग स्थापनाको लागि सिफारिस प्राप्त गरेको थियो। औषधि व्यवस्था विभागको २०७३ फागुन २४ को निर्णयअनुसार ओमेगा फर्मास्युटिकल्स प्रा.लि. नाम संशोधन गरी ओम मेगाश्री फर्मास्युटिकल्स र ठेगाना संशोधन गरी उद्योग रहने स्थान कविलास गा.वि.स. वडा नं. ६ चितवन कायम भएको थियो।
ओम मेगाश्री फर्मास्युटिकल्स प्रा. लि. २०७३ साल जेठ ३० गते प्रा.लि.का रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको हो। कम्पनीले उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौँबाट २०७४ जेठ ७ गते ओम मेगाश्री फर्मास्युटिकल्स प्रा.लि. उद्योग दर्ता गर्यो। कम्पनीले २०७९ असार ३१ गते भने कम्पनी रजिष्ट्रारको कार्यालयको पत्रअनुसार प्रा.लि.बाट पब्लिक लिमिटेडमा परिणत भई ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडमा अभिलेख भई कारोबार सञ्चालन गर्दै आएको छ।
आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीले आईपीओ जारी गर्नुका मुख्य उद्देश्यहरु
१. ऋण भुक्तानीः उठाइएको रकम कम्पनीको वर्तमान ऋण भुक्तानी गर्न प्रयोग गरिनेछ, जसले वित्तीय दायित्व कम गर्दै कम्पनीको वित्तीय अवस्था सुधार गर्नेछ।
२. व्यवसाय विस्तारः यस पूँजीले कम्पनीका उत्पादन क्षमता विस्तार गर्न सहयोग गर्नेछ, जसले ठूलो बजारलाई सेवा सुविधा पुर्याउँदै विविध उत्पादन दायरा प्रदान गर्नेछ।
३. सर्वसाधारण शेयरधनीको प्रतिनिधित्वः सर्वसाधारणको लागि शेयर जारी गरी संगठित संस्थामा उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखिएको छ, जसले समावेशिता र साझेदारीलाई प्रवर्द्धन गर्नेछ।
४. वृद्धि दर प्रवर्द्धनः बलियो पूँजी आधारका साथ, कम्पनीले आफ्नो वृद्धि दरलाई तीव्र बनाउन चाहन्छ, उच्च गुणस्तरका औषधि बजारमा उपलब्ध गराउँदै नेपालको फार्मास्युटिकल उद्योगमा योगदान गर्ने लक्ष्य राखेको छ।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
आईपीओ निष्काशनबाट संकलन भएको १८ करोड रुपैयाँमध्ये ८ करोड रुपैयाँ कम्पनीले बैंकको ऋण भुक्तानी गर्न प्रयोग गर्नेछ भने बाँकी १० करोड रुपैयाँ व्यवसाय विस्तारका लागि प्रयोग गर्नेछ। कम्पनीले प्रभु बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिएको छ।
वित्तीय अवस्था
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चित नोक्सानी ४ करोड १३ लाख ६ हजार रुपैयाँ थियो। त्यस्तै, चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नोक्सानी ३ करोड ७१ लाख रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले सञ्चित नोक्सानी १ करोड १३ लाख रुपैयाँमा झर्ने प्रक्षेपण गरेको छ। त्यस्तै, आगामी आर्थिक वर्षमा कम्पनीले ४ करोड ६६ लाख रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ १७ पैसा रहेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ११ पैसा पुग्ने प्रक्षेपण रहेको छ।

सञ्चालक समितिको संरचना
कम्पनीको नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार एक महिलासहित ७ जनाको सञ्चालक समिति हुने व्यवस्था रहेको छ। जसमध्ये संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गने सञ्चालकहरु ४ जना, स्वतन्त्र सञ्चालक १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना रहने व्यवस्था रहेको छ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ रहेका छन् भने अन्य सञ्चालकहरुमा कमल पन्थी, अर्जुन प्रसाद काफ्ले, रविन्द्र राज श्रेष्ठ, सिताराम जोशी, नेत्रनाथ पौडेल र जेनी थापा मगर रहेका छन्।
भावी योजना तथा रणनीति
कम्पनीले हाल २० प्रतिशतमात्र उपयोग भएको उत्पादन क्षमतालाई पूर्ण उपयोग गर्ने, मधुमेह, कार्डियोभास्कुलर, न्यूरोसाइकेट्रिक र अन्य दीर्घकालीन रोगहरूको औषधिका विभागहरू विकास गर्ने, नयाँ औषधि विभागहरू थप्ने, प्रारम्भिक चरणमा दक्षिण एशियाली बजार, विशेषतः भारत र बंगलादेश, लक्षित गरी निर्यातको पूर्वाधार तयार गर्ने, स्वदेशी र कच्चा पदार्थको अधिकतम उपयोग गर्दै आयातलाई प्रतिस्थापन गर्ने, वितरण प्रक्रियालाई सहज र चुस्त बनाउन डिजिटल प्रणाली र एआई प्रविधिको उपयोग गर्ने, सरोकारवालाहरुसँग सहकार्य गर्ने लगायतका योजनाहरु बनाएको छ।
ओपनिङ्ग रेञ्ज कति?
आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ १७ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९० रुपैयाँ १७ पैसादेखि २७० रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।