अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य हरेक दिन बढदो अवस्थामा छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य १ लाख ७७ हजार ९ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य प्रति तोला २ हजार ३५ रुपैयाँ तोकिएको छ ।
गत वर्ष चैतमा सुनको मूल्य प्रति तोला १ लाख ३० हजार र चाँदी प्रति तोला १५ सय २५ रुपैयाँ थियो । हरेक वर्ष मूल्यवान हुँदै गएको सुन तथा चाँदी धितो राखेर बैंकहरुबाट ऋण लिनेको संख्या पछिल्लो समय बढ्दो क्रममा रहेको छ ।
एकदमै महंगो धातु भएकाले अहिले ग्राहकहरुले आफूसँग सुनका गरगरहना भए पनि बैंकको वा घरको लकरमा सुरक्षित राख्ने प्रचलन पछिल्लो समय बढ्दै गएको छ । त्यसको सट्टा नक्कली सुनको प्रयोग बढेको छ । लकरमा त्यतिकै राख्नुको सट्टा पछिल्लो समय त्यसलाई नै धितोको रुपमा प्रयोग गरेर समेत सर्वसाधारण मानिसले आफ्नो उद्देश्य पूर्तिको लागि ऋण लिने बढेको एक बैंकका शाखा प्रमुखले बताए ।
तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकमध्ये ५ वटा बैंकले भने सुन तथा चाँदीको धितोमा कुनै कर्जा प्रवाह गरेको देखिएको छैन । स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक र ग्लोबल आईएमई बैंकले सुन चाँदीको धितोमा कुनै ऋण प्रवाह गरेको तथ्यांक छैन । राष्ट्र बैंकको तथ्यांक अनुसार सबैभन्दा धेरै नेपाल बैंकले सुन तथा चाँदीको धितोमा २५ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेकाे छ जुन अघिल्लो वर्षको माघ महिनाको तुलनामा ४७.२७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको माघ मसान्तसम्म नेपाल बैंकले १९ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले सुन तथा चाँदीको धितोमा २३ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेकाे छ जुन अघिल्लो वर्षको माघ महिनाको तुलनामा २४ प्रतिशतले बढी हो । राष्ट्रिय वाणिज्य बैंकले सुन चाँदीको धितोमा १८ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेकाे छ ।
दुई वटा सरकारी बैंकपछि निजी क्षेत्रका बैंकमध्ये सबैभन्दा बढी सुन चाँदीको धितोमा कर्जा प्रवाह गर्ने बैंकमा प्राइम कमर्सियल बैंक अगाडि रहेको छ । बैंकले चालु आवको माघ मसान्तसम्म सुन चाँदीको धितोमा ६ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेकाे छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको माघ मसान्तसम्म प्राइम कमर्सियल बैंकले ६ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियाे ।
प्राइमपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि सुन चाँदीको धितोमा उल्लेख्य ऋण प्रवाह गरेकाे छ । बैंकले चालु आवको माघ मसान्तसम्म १ अर्ब ९९ करोड रुपैयाँ ऋण प्रवाह गरेकाे छ जुन अघिलो आवको माघ मसान्तसम्म १ अर्ब ७० करोड रुपैयाँ थियो ।
अन्य बैंकहरुले सुन चाँदीको धितोमा ऋण प्रवाह गरेपनि १ अर्ब भन्दा कम देखिएको छ । नबिल बैंकले ९६ करोड, लक्ष्मी सनराइज बैंकले ७३ करोड, सिटिजन्स बैंकले ७० करोड, माछापुच्छे बैंकले २३ करोड ३१ लाख, प्रभु बैंकले ७ करोड ४० लाख, एनआईसी एसिया बैंकले २ करोड २० लाख, कृषि विकास बैंकले १ करोड ३२ लाख, सिद्धार्थ बैंकले १ करोड, कुमारी बैंकले ४९ लाख र एनएमबी बैंकले ४ लाख रुपैयाँ ऋण प्रवाह गरेका छन् ।