हकप्रद घोषणा गर्दै मूल्य बढाउँदै कम्पनीहरु

Apr 02, 2025 06:07 AM Merolagani



बाबुकृष्ण महर्जन

नेप्सेमा हालै लघु बीमा कम्पनीअन्तर्गतको पहिलो कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स सूचीकृत भयो । हालै आइपीओ जारी भएर सूचीकृत भएको गार्डियन माइक्रो लाइफको शेयर मूल्य २३ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको थियो । 

कम्पनीले मंगलबार अकस्मात १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्ने घोषणा गर्नासाथ शेयर मूल्य १० प्रतिशतले बढेर २५७९.८० रुपैयाँमा अन्तिम कारोबार भयो । करिब ७५ करोड रुपैयाँ चुुक्ता पुँजी रहेको गार्डियन माइक्रो लाइफले नेप्सेमा सूचीकृत भएर हालै मात्रै साधारण सभा सम्पन्न गरेको थियो ।

साधारण सभा सम्पन्न गरेको केही समयमै पुनः १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने सञ्चालक समिति निर्णयसहित विशेष साधारण सभा आह्वान गर्ने सूचना सार्वजनिक भएको छ । आइपीओ निष्काशन भएर सुचीकृत हुँदा १० कित्ता नीतिकै कारण कम शेयर आपूर्ति हुने हुँदा शेयर मूल्य त्यसै पनि उच्च हुने गर्दछ । त्यसमाथि झन हकप्रद निष्काशन गर्ने समाचारले कम्पनीको शेयर मूल्यलाई अझै उचाईमा पुर्याएको छ ।

कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने सूचना प्रकाशन गरे पनि सो बापत्को रकम कुन प्रयोजनमा खर्च गर्ने भन्ने स्पष्ट योजना भने रहेको देखिंदैन । पछिल्लो समय धेरै कम्पनीहरुले हकप्रद निष्काशनलाई शेयर मूल्य बढाउने भर्याङको रुपमा उपयोग गरेको देखिएको छ । नेप्सेमा सूचीकृत अधिकांश हाइड्रोपावर कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेका छन् । नेप्सेमा उच्च मूल्य भएका कम्पनीहरु पनि प्रायः त्यस्तै हकप्रद निष्काशन गर्ने घोषणा गरेका कम्पनीहरु नै छन् ।

सेबोनमा हाइड्रोपावर र इन्स्योरेन्स गरेर कम्पनी गरेर डेढ दर्जन कम्पनीले हकप्रद शेयर निष्काशनको अन्तिम प्रतिक्षामा बसेका छन् । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई बाध्यकारी पुँजी वृद्धि नीति लिएका कारण हकप्रद निष्काशनको निर्णय लिएको भएपनि अधिकांश हाइड्रोपावर भने ऋण तिर्ने वा अन्य जलविद्युत आयोजना लगानी गर्ने उद्देश्य राखेर हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभामा राख्ने गरेका छन् ।

साधारण सभामा जस्तोसुकै प्रस्ताव राख्ने गरे पनि सबै कम्पनीको उद्देश्य दोस्रो बजारमा कम्पनीको शेयर मूल्य उचाल्नु नै रहेको हरेक साधारण सभामा उपस्थिति जनाउने एक लगानीकर्ताले मेरो लगानीलाई बताए । उच्च हकप्रद निष्काशन गर्ने कम्पनीहरुको लाभांश इतिहास हेर्दा भने अहिलेसम्म एक सुका पनि लाभांश नदिएका कम्पनीहरु हुने गरेको उनले आफ्नो अनुभव सुनाए ।

पछिल्लो समय गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स मात्रै होइन, दोस्रो बजारमा उच्च शेयर मूल्य कायम गरेका कम्पनीहरुले प्रायः हकप्रद शेयर घोषणा गरेका छन् । पछिल्लो समय हटकेक सावित भएको सीइडीबी होल्डिङस् लिमिटेडले ५४.५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव लिएर सेबोन गएको छ ।

लकिङ पिरियड खुलेपछि एकाएक शेयर मूल्य घटेर ६ सयको हाराहारीमा आएको कम्पनीको शेयर मूल्य अहिले २३ सय ८० रुपैयाँ छ । कम्पनीले अहिलेसम्म ११ प्रतिशतका दरले दुई आर्थिक वर्ष बोनस शेयर दिएको छ । पछिल्लो पटक बोनस शेयरसँगै हकप्रद शेयर समेत घोषणा गरेपछि भने कम्पनीको शेयर मूल्य आकाशिएको हो ।

त्यसैगरी अर्को लगानी समूहको कम्पनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले पनि १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ । सीडीडीबी जस्तै संस्थापकको लकिङ पिरियड सकिएपछि ३ सय रुपैयाँ भन्दा तल झरेको एनआरएरको शेयर मूल्य अहिले १५ सय ८३ रुपैयाँ छ । हरेक वर्ष ३ देखि ५.२६ प्रतिशतसम्म लाभांश दिएको एनआरनले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेपछि नै कम्पनीको शेयर मूल्य आकाशिएको हो ।

लगानी समूहको कम्पनी मात्रै होइन, नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य पनि हकप्रद निष्काशन गर्ने पर्ने बाध्यकारी अवस्थाका कारण बढ्न गएको लगानीकर्ताहरु बताउँछन् । निवर्तमान बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालले बीमा कम्पनीकै चुक्ता पुँजी झन्डै दोब्बरले बढेको अवस्थामा पुनर्बीमा कम्पनीको पनि चुक्ता पुँजी बढाएर १ वर्ष भित्रमा २० अर्ब पुर्याउन निर्देशन दिएका थिए ।

भर्खर मात्रै शेयर निष्काशन गरेर नेप्सेमा सुचीकृत भएको हिमालयन रिइन्स्योरेन्सले सो निर्देशन पुरा गर्न ८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गराए । सरकारी लगानी रहेको नेपाल पुनर्विमा कम्पनीले तत्काल हकप्रद निष्काशन गरेर तोकिएको चुक्ता पुँजी पुर्याउन नसक्ने देखिएपछि नियामक बीमा प्राधिकरणले दुई पुनर्विमा कम्पनीलाई थप १ वर्ष पुँजी वृद्धि गर्न सीमा प्रदान गरे ।

यद्यपि नेपाल पुनर्विमा कम्पनीले हकप्रदबाट पुँजी वृद्धि गर्ने सम्बन्धी कुनै ठोस प्रस्ताव साधारण सभाबाट पारित गराएका छैनन तर दोस्रो बजारमा भने कम्पनीको शेयर मूल्य १३ सय रुपैयाँ भन्दा माथि कारोबार भइरहेको छ भने हिमालयन रिइन्स्योरेन्सको शेयर १ हजार रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ ।

हकप्रद घोषणापछि शेयर मूल्य आकाशिने कम्पनीहरुमा होटल समूहका कम्पनीहरु पनि छन् । सिटी होटलले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएको छ । कम्पनीले आफ्नो ऋण चुक्ता गर्न सो प्रस्ताव गरेको जनाएको छ । सिटी होटलको शेयर अहिले ८ सय ५२ रुपैयाँमा कारोबार भइरहेको छ । हकप्रद निष्काशन गर्ने घोषणा गर्नासाथ कम्पनीको शेयर मूल्य ११ सय ६८ रुपैयाँँ ५० पैसाको उच्च मूल्यसम्ममा कारोबार भएको थियो ।

त्यसैगरी कालिन्चोक मन्दिरमा केबुलकार सञ्चालन गरिरहेको कालिन्चोक दर्शन लिमिटेडले पनि १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ । हकप्रद शेयर निष्काशन हुने सूचना सार्वजनिक हुनासाथै कम्पनीको शेयर मूल्य बढेर १३ सय ८१ रुपैयाँसम्म पुगेको भए पनि अहिले कम्पनीको शेयर ११ सय ३१ रुपैयाँमा मंगलबार अन्तिम कारोबार भयो ।

उत्पादनमुलक कम्पनीतर्फ घोराही सिमेन्टले पनि चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ । कम्पनीले पनि ऋण तिर्ने प्रयोजनकै लागि हकप्रद निष्काशन गर्न लागेको हो । ५ सय भन्दा तल्लो मूल्यमा कारोबार भइरहेको कम्पनीको शेयर मूल्य हकप्रदको सूचना बाहिरिनासाथ बढेर ६ सय रुपैयाँभन्दा माथिल्लो मूल्यमा कारोबार भइरहेको छ । पछिल्लो समय कम्पनीको शेयर ५ सय ६० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।

त्यस्तै अन्य समूहतर्फको नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले पनि १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएको छ । हकप्रद निष्काशन गर्ने सूचनापछि १२ सय ६४ रुपैयाँको उच्च मूल्यसम्ममा कारोबार भएको कम्पनीको शेयर मंगलबार ९ सय ७२ रुपैयाँमा अन्तिम कारोबार भयो ।

 




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।