कालिका सेक्युरिटीजका सञ्चालक तथा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष नरेन्द्र सिजापतिले फेसबुक मार्फत उक्त जानकारी दिएका हुन्। सिजापतिले आफ्नो फेसबुक पेजमा
“प्रिय लगानीकर्ताहरू आजदेखि हामीले नयाँ कारोबार प्रणालीको सुरुवात गरेका छौँ। हामी,शेयर ब्रोकर ४६ को रूपमा तपाईँहरूको विश्वास र सहयोगको कदर गर्दै यो नयाँ कदम चालेका हौँ। यो प्रणालीले तपाईँको लगानी अनुभवलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने हाम्रो प्रतिबद्धता हो।
यस अवसरमा हामी तपाईँहरूलाई धन्यवाद दिन चाहन्छौँ र आगामी दिनहरूमा पनि तपाईँको साथ र सहभागिताको अपेक्षा गर्दछौँ। लगानीका नयाँ अवसरहरू खोज्न र आफ्नो आर्थिक लक्ष्यहरू प्राप्त गर्न हाम्रो टिम सधैँ तपाईँको साथमा रहनेछ। सफल र समृद्ध लगानीको शुभकामना। कालिका सेक्युरिटीज प्रालि शेयर ब्रोकर ४६,” स्ट्याटस लेखेका छन्।
यसअघि गत असोजमा सेक्योर्ड सेक्युरिटीजले नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले उपलब्ध गराएको टिएमएस सेवा बन्द गरेर नयाँ टिएमएस सेवा सुरु गरेको थियो। उसले श्रीलङ्कन कम्पनी आइरन वान टेक्नोलोजीले निर्माण गरेको ए ट्रेड सिस्टमबाट अनलाइन सेवा दिन सुरु गरेको थियो। कालिकाले पनि सोही कम्पनीको टिएमएसबाट सेवा दिन सुरु गरेको हो।
गएको बुधवारदेखि ब्रोकर नम्बर १० प्रज्ञान सेक्युरुटीजले पनि नयाँ टिएमएसबाट सेवा दिन सुरु गरेको थियो। यसै साता थप तीन ब्रोकर कम्पनीले सेवा दिन सुरु गर्ने नेप्सेले जनाएको छ। “पछिल्लो समय हामीले पाँच ब्रोकर कम्पनीलाई नयाँ टिएमएस चलाउने अनुमति दिएका हौ। जसमा प्रज्ञान सेक्युरुटीजले गत बुधवारदेखि लाइभ गर्न सुरु गर्यो भने आज कालिकाले सुरु गरेको छ। यसै साता थप तीन ब्रोकरले लाइभ गर्ने छन्। जसमा ब्रोकर नम्बर १४ नेपाल स्टक हाउस त्यसैगरी ब्रोकर नम्बर ७५ एनआइएमबि स्टक मार्केट अनि ब्रोकर नम्बर ४४ डायनामिक मनि म्यानेजर र ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटीज छन्,” नेप्सेका एक अधिकारीले भने।
भटाभट नयाँ टिएमएसबाट सेवा सुरु गर्ने सबैले श्रीलङ्कन कम्पनी आइरन वान टेक्नोलोजीले निर्माण गरेको ‘ए ट्रेड’ सिस्टमबाट अनलाइन सेवा दिइरहेका छन्। जसको नेपाली मध्यस्थकर्ताको काम नेपाली आइटी कम्पनी डिजी हबले गरिरहेको छ।
नयाँ टिएमएसमा के छन् नयाँ सुबिधा ?
नेपालमा मोबाइल एपबाट सहज रुपमा शेयर कारोबार गर्ने सुविधा थिएन। जुन सुबिधा नयाँ टिएमएसमा छ। अर्कोतर्फ प्रयोगकर्ताले नयाँ टिएमएस चलाएबापत कुनै शुल्क तिर्नु पर्दैन। यो ब्रोकर कम्पनीले सित्तैमा उपलब्ध गराउने सुबिधा हो। यसमा सबैभन्दा लगानीकर्ताको लागि चाखलाग्दो फिचरमा शेयर बिक्री गरिसकेपछि पुन: स्वचालित रुपमा कोल्याट्रल लोड हुन्छ। यस अघिको टिएमएसमा यस्तो सुबिधा थिएन। ब्रोकर कम्पनीलाई टेलिफोन गरेर कोल्याट्रल हालिदिन भन्नु पर्ने हुन्थ्यो। अब शेयर बिक्री गरेको बराबर रकमको तुरुन्तै अर्को शेयर किन्न सकिन्छ। त्यस्तै नयाँ टिएमएस मार्फत ग्राहकले आफूले गरेको कारोबार विवरण,भुक्तानी लिन र दिन बाँकी रकमको हिसाबकिताब सहजै हेर्न सक्छन्। जबकि पहिलेको टिएमएस प्रयोगकर्ताले आफ्नो हिसाबकिताब ब्रोकर कम्पनीसँगै माग्नुपर्ने बाध्यता हुने गर्थ्यो। रेखा चित्र हेरेर कारोबार गर्ने लगानीकर्ताको लागि नयाँ टिएमएस निक्कै उपलब्धिपूर्ण हुने छ। जसमा प्राविधिक विश्लेषण समेत हेर्न सकिन्छ। हाल सञ्चालनमा रहेको टिएमएस भन्दा निक्कै छिटो र छरितो काम गर्ने भएकोले लगानीकर्ताको लागि लोकल गाडीबाट उत्रिएर एकदमै नयाँ एक्सप्रेस गाडीमा चढेको अनुभूति हुने कालिका सेक्युरिटीजका सञ्चालक नरेन्द्र सिजापतिको भनाई छ।