काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहले धम्की दिएको एक साता ४ दिन वित्यो । तर, न कर्मचारीले तलव पाए, न त उनको माग अनुसार सरकारले नयाँ कार्यकारी प्रमुख पठायो । बरु उनले कुनै हालतले हाजिर नगराउने अडान लिएका पुरानै प्रशासकीय अधिकृत सरोज गुरागाईँले फेरि पदभार ग्रहण गरे ।
महानगरको सुरक्षा बल लगाएर तालाबन्दीसहित बल प्रयोग गराउनुको साथै आफै हाजिरकपी बोकेर मेयर बालेन बेपत्ता भए पनि जनप्रतिनिधि र कर्मचारीको जोडबलमा गुरागाईंले ताला फोडे, नयाँ हाजिरकापीमा हाजिर गरे । माहानगरका रोकिएका काम अगाडि बढाउने घोषणा गरे ।
यो घटनापछि काठमाडाैं महानगरपालिका भित्रको विवाद उत्कर्षमा त पुगेको छ नै, मेयर बालेन सबैतिरबाट एक्लिएका छन् । संघीय सरकारसँग त उनको विवाद थियो नै, पहिले पहिले विवाद हुँदा समन्वयकारी भूमिका खेल्ने उपमेयर सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरुको साथै अधिकाँश कर्मचारीले मेयर बालेनको भूमिका माथि प्रश्न उठाउँदै प्रशासकीय अधिकृत गुरागाईंलाई स्वागत गरे ।
प्रशासकीय अधिकृत गुरागाईलाई रोक्न हदैसम्मका हथकण्डा अपनाउँदा पनि असफल भएका बालेन विहीबारको घटनापछि साँच्चैको एक्लिएका छन् । यो अवस्थामा उनले के गर्लान्, विहीबार दिउँसोसम्म कुनै प्रतिकृया दिएका छैनन् । सामान्यतया साँझ घाम अस्ताएपछि वा मध्यरातमा सामाजिक संजालबाट प्रतिकृया दिने बालेनले आफू एक्लिएको घटनालाई कसरी ‘फेस’ गर्लान् ? त्यो सर्वत्र चासोको विषय बनेको छ ।
किनकी अरु बेला बालेनको धम्की पछि संघीय सरकार पनि केही हदसम्म डराउने गरेको थियो । त्यहीकारण उनका धम्की वा प्रतिकृयापछि सरकारले ‘क्विक रेस्पोन्स’ गर्दथ्यो भने कर्मचारीहरुको साथै उममेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिहरु पनि बालेनलाई साथ दिने गरेका थिए । तर, विहीबारको घटनापछि अवस्था ठाक्कै उल्टिएको छ ।
संघीय सरकारले उनलाई पूर्णरुपमा बेवास्ता गरेको छ, जनप्रतिनिधिहरु मात्र होइन, अधिकांश कर्मचारीसमेत उनको विरोधमा उभिएका छन् । यसले गर्दा बालेन साँच्चैको एक्लिएका छन् । सबैतिरबाट एक्लिएका उनले अब केबल राजु पाण्डेको नेतृत्वमा रहेको नगर प्रहरी बलको ‘शक्ति’को आधारमा पहिले जस्तै आक्रामक भएर काम गर्न सक्लान् ? भन्ने प्रश्न उठेको छ ।
बालेनको लागि विहीबारको घटना ‘शत्रुलाई खान्छ श्रापले, आफूलाई खान्छ रिसले’ भनेजस्तो भएको छ । संघीय सरकार र गुरागाईंसँगको रिस पोख्न ‘सबलाई गाडिदिन्छु’ भन्ने बलिया मेयर कर्मचारीको हाजिर कापी बोकेर लुक्ने अवस्थामा पुग्नुले उनी कति कमजोर अवस्थामा पुगेका छन् भन्ने देखाउँछ ।
किनकी उनी बलियो भए हाजिर कापी लिएर भाग्दैनथे, कार्यालयमै ‘फेस टु फेस’ आफ्ना विरोधीहरुलाई जवाफ दिने थिए । तर, उनी त्यसो नगरि बेपत्ता भए । त्यसलाई गर्दा उनका विरोधीहरुलाई विरोधको आधार दियो भने समर्थकहरुलाई निराश बनायो ।
काठमाडाैं भ्यू टावर वा त्योसँग जोडिएर सृजना भएको गुरागाई प्रकरणमा मेयर बालेन कति सही छन्, कति गलत छन् ? त्यो विज्ञहरुले जान्नेकुरा भयो । तर, छानबिन गराएर छानबिन प्रतिबेदन सार्वजनिक नगर्नु, प्रमाणसहित भ्रष्टाचारी भन्न नसक्नु तर ‘इगो’ साँधेर हाजिर गर्न नदिने अडान लिनु र आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर संघीय सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने अडान राख्नु र कर्मचारीले राखेको माग सम्बोधन गर्नुको साटो संघीय सरकारलाई दोष दिंदै फेसबुकबाट ‘गाडिदिने’ जस्ता धम्की दिनुले मेयर बालेनमा रहेको ‘अल्लारेपन’लाई झल्काउने सरोकारवालाहरु बताउँछन् ।