त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ५८ हजार २०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख ४५ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर सर्वासाधारणका लागि निष्काशन गरेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले आज अर्थात जेठ ९ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि जेठ २३ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
कति कित्ता आवेदन दिने?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार २ लाख ४१ हजार ५३० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्।
औषत जोखिम जनाउने रेटिङ्ग
साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेड, काठमाडौँबाट रेटिङ्ग गराएको छ।
केयर रेटिङ्गस नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई २०२४ डिसेम्बर २४ तारिखमा क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०२६ फेब्रुअरी २७ तारिखसम्म रहनेछ।
कस्तो कम्पनी हो?
सान्भि इनर्जी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६८ साउन १८ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रुपमा दर्ता भई मिति २०७७ असार २५ गते पब्लिक लिमिटेडको रुपमा परिणत भएको हो।
कम्पनीकोे रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. २, लाजिम्पाट, उत्तरढोका, मेट्रोपार्क विल्डिङ्ग रहेको छ भने कम्पनीको आयोजना स्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पूर्वाधारहरु इलाम जिल्ला, इलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. १, ३ र ४ तथा सूर्याेदय नगरपालिका वडा नं. १० र ११ मा रहेको छ।
कम्पनी स्थापना भए पश्चात् इलाम जिल्लाको माई जोगमाई गाउँपालिका र इलाम नगरपालिकामा अवस्थित भई बग्ने जोगमाई खोलाको पानी प्रयोग गरी विद्युत उत्पादनका लागि जोगमाई खोला साना जलविद्युत आयोजनाबाट ७.६ मेगावाट जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा सञ्चालन गर्न नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट २०६९ चैत २९ गते विद्युत उत्पादनको अनुमति प्राप्त गरेको हो। त्यस्तै, माईजोगमाई गाउँपालिका वडा नं ३ र ४ (साविक नामसालिङ्ग गा.बि.स) तथा सुर्योदय नगरपालिका वडा नं. १० र ११ (साविक पञ्चकन्या गा.वि.स) भई बग्ने जोगमाई खोलाको पानी प्रयोग गर्ने गरी निर्माण गरिरहेको जोगमाई खोला क्यासकेड जलविद्युत आयोजनाबाट ५.२ मेगावाट जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा सञ्चालन गर्न नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट मिति २०७६ माघ १ गते विद्युत उत्पादनको अनुमति प्राप्त गरेको हो।

कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच मिति २०६९ मंसिर ७ गते जोगमाई खोला साना जलविद्युत आयोजना ७.६ मेगावाटको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार व्यापारिक विद्युत उत्पादन सुरु गर्नुपर्ने मिति २०७३ फागुन २७ गते रहेकोमा उक्त आयोजनावाट मिति २०७४ बैशाख १८ गतेदेखि व्यापारिक विद्युत उत्पादन सुरु भई सकेको छ।
कम्पनीले प्रबर्धन गरिरहेको ७.६ मेगावाटको जोगमाई खोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ५७ करोड २९ लाख ५२ हजार ५४४ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख ६७ हजार ४४० रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २३ वर्ष १ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.५३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.२९ वर्ष रहेको छ।
त्यसैगरी, निर्माणाधिन ५.२ मेगावाटको जोगमाई क्यासकेड जलविद्युत आयोजनाको अनुमानित कुल लागत १ अर्ब ९१ लाख १३ हजार ५४४ रुपैयाँ रहेको छ भने अनुमानित प्रतिमेगावाट लागत १९ करोड ४० लाख ६० हजार १९२ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष ११ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ११.१० वर्ष रहेको छ।
आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीले आयोजना प्रभावित स्थानीय वासिन्दाहरूलाई शेयर निष्काशन गरि सो मार्फत आयोजना प्रति उनीहरूको अपनत्व कायम गराउन र प्रबन्धपत्रमा भएको उद्देश्य प्राप्तिका लागि पूँजीको श्रोत पुरा गर्न आईपीओ जारी गर्न लागेको हो। त्यस्तै, प्रबन्धपत्रमा तोकिए बमोजिमको पूँजी संरचना कायम गर्न र आयोजना निर्माणका लागि लाग्ने खर्चको रकमको व्यवस्था गर्न पनि कम्पनीले आईपीओ निष्काशन गरेको हो।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
आईपीओ निष्काशनबाट संकलन भएको ३७ करोड ९० हजार रुपैयाँ कम्पनीले देहाय बमोजिम प्रयोग गर्नेछः

वित्तीय अवस्था
चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा १२ करोड १२ लाख ५९ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा रहेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको सञ्चित नाफा १० करोड ३८ लाख ८६ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ७४ पैसा थियो भने प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३ पैसा थियो।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १८ करोड ७७ लाख रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ३३ पैसा र प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना
कम्पनीको नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार कम्तिमा १ जना महिला सञ्चालक सहित ७ जनाको सञ्चालक समिति हुने व्यवस्था रहेको छ। जसमध्ये संस्थापक शेयरधनीहरुबाट निर्वाचित ४ जना, स्वतन्त्र सञ्चालक १ जना र सर्वसाधारण शेयरधनीहरुबाट निर्वाचित २ जना रहने व्यवस्था रहेको छ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अनुप आचार्य रहेका छन् भने प्रबन्ध सञ्चालक भानुभक्त पाखरेल रहेका छन्। त्यस्तै, कम्पनीका सञ्चालकमा दिपक बराल, हरिबाबु न्यौपाने, बन्दना पोखरेल र श्रेयन पोखरेल रहेका छन् भने स्वतन्त्र सञ्चालकमा नारायण प्रसाद पौड्याल रहेका छन्।
भावी योजना तथा रणनीति
जोगमाई खोला जलविद्युत आयोजना ७.६ मेगावाटको निर्माण सम्पन्न भई २०७४ बैशाख १८ गतेदेखि व्यापारिक उत्पादन शुरु भइसकेको छ। यससँगै कम्पनीले आफ्नो आयमा दिर्घकालिन बृद्धि ल्याउन जोगमाई क्यासकेड जलविद्युत आयोजना ५.२ मेगावाटको निर्माणलाई तिव्र रुपमा अगाडि बढाइरहेको छ जसको व्यवसायिक उत्पादन शुरु गर्ने अपेक्षित मिति २०८२ बैशाख १५ गते रहेको छ। यसको लागि नबिल बैंक लिमिटेडबाट आवश्यक वित्तीय व्यवस्थापनको कार्य सम्पन्न भई हाल आयोजनाको भौतिक निर्माण प्रगतिको आधारमा वित्तीय स्रोत प्राप्त भइराखेको छ।
ओपनिङ्ग रेञ्ज कति?
आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ७४ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १२० रुपैयाँ ७४ पैसादेखि ३६२ रुपैयाँ २२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।