कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशतले हुन आउने ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र २ लाख ९१ हजार ९५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख ४५ हजार ९७५ कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँबराबरको २४ लाख २३ हजार १८५ कित्ता शेयर सर्वासाधारणका लागि निष्काशन गरेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले आज अर्थात साउन १५ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि साउन २९ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
कति कित्ता आवेदन दिने?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार २ लाख ४२ हजार ३१८ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा ५ कित्ता शेष रहन्छ जुन सोही २ लाख ४२ हजार ३१८ जनामा नै बाँडफाँट गरिनेछ। र सो थप एक कित्ता शेयर प्राप्त गर्न लगानीकर्ताले २० कित्ताका लागि आवेदन दिनु पर्नेछ।
औषत जोखिम जनाउने रेटिङ्ग
साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।
इन्फोमेरिक्सले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
इन्फोमेरिक्सले कम्पनीलाई २०८२ जेठ २३ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८३ जेठ २२ गतेसम्म रहनेछ।
कस्तो कम्पनी हो?
नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी सम्भाव्यता अध्ययन, निर्माण र सञ्चालन गर्ने अभिप्रायले निजी क्षेत्रका उद्यमीहरु मिलेर दरमखोला हाईड्रो इनर्जी लिमिटेड, कम्पनी ऐन, २०६३ बमोजिम २०७२ साल पुस ५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आएको कम्पनी हो।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला काठमाडौँ महानगरपालिका वडा नं ११ मा रहेको छ। आवश्यकता अनुसार स्वीकृति लिई अन्य स्थानमा कम्पनीको रजिष्टर्ड कार्यालय नै सार्नसार्न सकिनेछ। कम्पनीको जलविद्युत उत्पादन केन्द्र गुल्मी जिल्ला मुसीकोट नगरपालिका, बाग्लुङ जिल्ला गल्कोट नगरपालिका, बाग्लुङ जिल्ला बडीगाड गाउँपालिकाको वडाहरुमा रहेको छ।
हाल यस कम्पनीमा ८६३ जना संस्थापक शेयरधनीहरु रहेका छन्। कम्पनीका संस्थापक शेयरधनीहरु विद्युत, बैंक/वित्तीय क्षेत्र, स्वास्थ्य, शैक्षिक क्षेत्र एवं व्यापार÷व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन्।
कम्पनीले बागलुङ जिल्लाको दरम खोला जलविद्युत आयोजनाबाट ९.६ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा संचालन गर्न विद्युत उत्पादनको अनुमति नेपाल सरकार उर्जा मन्त्रालयबाट क्रमशः २०७३ साल माघ ४ गते र २०७५ साल असोज १६ (पहिलो संशोधन) गतेका दिन प्राप्त गरेको हो।
२०८० साउन ३ र ४ गते परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोको कारण उत्पन्न काबु बाहिरको परिस्थितिले गर्दा आयोजनाको इन्टेक तथा पाईप लाइनमा ठूलो क्षति हुन गई यस आयोजनाको निर्माण कार्य अबरुद्ध भई स्थगित भएको जानकारी २०८० असार ५ गते नेपाल विद्युत प्राधिकरण, रत्नपार्क, काठमाडौँलाई जानकारी गराई विद्युत उत्पादन सुरु गर्नुपर्ने मिति १ वर्ष थप गर्न निवेदन पेश गरेको र सो सम्बन्धमा उर्जा मन्त्रालयबाट निर्णय हुने प्रकृयामा रहेको छ।
कम्पनीले निर्माण गरेको ९.६ मेगावाटको दरम खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट अनुमानित लागत २४ करोड ७९ लाख रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २८ बाँकी रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.८३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.९० वर्ष रहेको छ।
आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीको धितोपत्र जारी गर्नुको उद्देश्य आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री गरी स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर दिनु, आयोजनाको लागतमा भएको वृद्धिमा प्रयोग तथा बैंकबाट लिईएको कर्जा भुक्तानीको लागि रकम संकलन गर्नु यस निष्काशनको मुख्य उद्देश्य हो।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
आईपीओ निष्काशनबाट संकलन भएको ३९ करोड ५० लाख रुपैयाँ कम्पनीले देहाय बमोजिम कार्य गर्न प्रयोग गर्नेछ।

वित्तीय अवस्था
गत आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा २ लाख ८४ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ७७ पैसा रहेको छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा २ लाख ७२ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ८१ पैसा थियो भने प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४१ पैसा थियो।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २ लाख ६१ हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ३५ पैसा रहने प्रक्षेपण गरेको छ भने प्रतिशेयर आम्दानी १ रुपैयाँ ७१ पैसा ऋणात्मक हुने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना
कम्पनीको नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार ११ (एघार) जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति रहने व्यवस्था छ । जसमध्ये संस्थापक शेयरधनीहरुबाट निर्वाचित ६ जना, स्वतन्त्र सञ्चालक २ जना र सर्वसाधारण शेयरधनीहरुबाट निर्वाचित ३ जना रहने व्यवस्था रहेको छ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नर बहादुर पुन रहेका छन्। त्यस्तै, कम्पनीका अन्य सञ्चालकमा माधव प्रसाद खरेल, राम प्रसाद कडेल, शालिक राम सापकोटा, इन्द्रमणी सापकोटा, गायत्री देवी शर्मा, हरीप्रसाद सापकोटा, नर बहादुर घर्ति र भवदत्त सुवेदी रहेका छन्। कम्पनीको स्वतन्त्र सञ्चालक प्रा. डा तारा प्रसाद सापकोटा रहेका छन्।
भावी योजना तथा रणनीति
कम्पनीको उद्देश्य दरम खोला जलविद्युत आयोजनाबाट ९.६ मेगावाट निर्माण गरी सञ्चालन गर्ने रहेको र अन्य जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्न सक्ने भएको हुँदा हाललाई कम्पनीको भावी योजना दरम खोला जलविद्युत आयोजनाबाट ९.६ मेगावाट निर्माण कार्य सम्पन्न गरेर आयोजनालाई सुचारु रुपमा सञ्चालन गर्ने र आयोजना निर्माणको क्रममा लिएका बैंकबाट लिईएको ऋण फिर्ता/भुक्तानी गर्ने रहेको छ।
कम्पनीको मुख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ। नयाँ जलविद्युत आयोजनाहरुको सम्भावयता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्ने, कम्पनीले सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने, कम्पनीले आफनो उद्देश्य प्राप्तिका लागि व्यवसायिक रूपमा सम्भाब्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने कम्पनीका अन्य उद्देश्यहरु रहेका छन्।
ओपनिङ्ग रेञ्ज कति?
आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ८१ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १४२ रुपैयाँ ८१ पैसादेखि ४२८ रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।