बन्दीपुर केबलकारको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Aug 27, 2025 12:11 PM Merolagani



बन्दीपुर केबलकार एंड टुरिजम लिमिटेडले आज (भदौ ११ गते), बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशनमा ल्याएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशतले हुन आउने ५८ करोड ६० लाख रुपैयाँबराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले ५ लाख ६६ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ५ लाख २९ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले १ लाख ५८ हजार ८२० कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख ६४ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा ४३ करोड ४१ लाख ८ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले आजदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि भदौ १५ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिने?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ४ लाख ३४ हजार १०८ जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। त्यसैले, लगानीकर्ताले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुने देखिन्छ।

औषत जोखिम जनाउने रेटिङ्ग

साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

केयर रेटिङ्गले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

केयर रेटिङ्गले कम्पनीलाई २०८१ मंसिर ४ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८२ पुस ७ गतेसम्म रहनेछ।

कस्तो कम्पनी हो?

यस कम्पनी बन्दीपुर केवलकार प्रा.लि.को नामले कम्पनी ऐन २०६३ बमोजिम २०६९ पुस २२ गते प्राइभेट कम्पनीको रुपमा दर्ता भएकोमा २०७८ भदा १७ गतेदेखि प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा परिणत भई बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको नाममा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडाैँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं.१३, कालिमाटी, काठमाडौंमा रहेको छ भने फिल्ड कार्यालय तनहुँ जिल्ला, बन्दीपुर गाँउपालिका वडा नं. ४ ठूल्ढुङ्गा र वडा नं. ४ बरालथोक बन्दीपुरमा रहेको छ।

कम्पनी मार्फत केवलकार, होटल क्वीन टावर, रेष्टुरेण्ट तथा मनोरञ्जनात्मक बगैंचा लगायतका परियोजना सञ्चालन गर्ने गरी उद्योग मन्त्रालय, उद्योग विभागबाट क्रमशः २०७१ माघ २९ गते र २०७९ भदौ २७ गते स्वीकृति प्राप्त गरेको थियो। साथै राष्ट्रिय योजना आयोगको सचिवालयबाट २०७० फागुन २२ गते प्राप्त पत्र अनुसार यस आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा सूचीकृत भएकोे छ।

केवलकार परियोजना सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचनाहरु निर्माण सम्पन्न भई २०८१ जेठ ३१ गतेबाट व्यवसायिक सञ्चालनमा आइसकेकोे छ। केवलकारको तल्लो स्टेशनमा रहेको ड्राइभईन रेष्टुरेण्ट २०८१ वैशाख देखी व्यवसायिक सञ्चालनमा रहेको छ। साथै तल्लो स्टेशनमा रहेका मनोरञ्जनात्मक बगैँचा सञ्चालनमा आई नियमित आम्दानी समेत आर्जन गर्न सुरुवात गरिसकेका छन्।

यस कम्पनीका परियोजनाहरुको निर्माण तथा सञ्चालनको लागि आवश्यक कानूनी प्रकृया तथा प्राप्त गर्नु पर्ने ईजाजत समेत प्राप्त गरी अधिकांश परियोजनाहरु निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको र केहि निर्माणको अन्तिम चरणमा रहेका छन्। यद्यपि, क्वीन टावर होटललाई ५ तारे होटलको रुपमा सञ्चालन गर्नका लागि व्यवसायिक सञ्चालनमा आए पश्चात मात्र सम्बन्धित निकायमा स्तर प्रमाणिकरणका लागि आवेदन दिने योजना कम्पनीको रहेको छ। अन्तर्राष्ट्रिय व्यवस्थापन एवं होटल चेन मार्फत होटेलको व्यवस्थापन गर्ने नीति कम्पनीले तर्जुमा गरेको छ।

कम्पनीले सञ्चालन गरेको आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.०५ वर्ष रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको वित्तीय अवस्था सुदृढ गर्दै परियोजनाको निर्माण क्रममा लिइएको बैंक कर्जा भुक्तानी गरी आर्थिक स्थायित्व सुनिश्चित गर्न र परियोजनाको निर्माण क्रममा लागेका विभिन्न खर्चहरुको विजक भुक्तानी गर्न कम्पनीले आईपीओ जारी गरेको हो। त्यस्तै, आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर प्रदान गरी परियोजना प्रति स्थानीयको अपनत्व कायम गराउन, कम्पनीको ख्याति÷साखः वृद्घि गराउन र कम्पनीको सेवाहरुको विश्वसनिय बजारिकरण गर्न पनि कम्पनीले आईपीओ जारी गरेको हो। कम्पनीका समग्र कृयाकलापहरुमा पारदर्शिता कायम गर्न कम्पनीको सञ्चालनमा संस्थागत सुशासन कायम गर्न, कम्पनीको प्रबन्धपत्रमा भएको उद्देश्य प्राप्तिका लागि पुँजीको स्रोत पुरा गर्न आईपीओ जारी गर्नुका अन्य उद्देश्य रहेका छन्।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

आईपीओ निष्काशनबाट संकलन भएको रकममध्ये ९ करोड ९० लाख ३ हजार ५५२ रुपैयाँ नेपाल एसबिआई बैंकबाट लिइएको ब्रिज ग्याप बापतको कर्जा सुविधा भुक्तानी गर्न उपयोग गर्नेछ। बाँकी रहेको ४८ करोड ६९ लाख ९६ हजार ४४८ रुपैयाँ कम्पनीले अन्य भुक्तानीहरु गर्नका लागि प्रयोग गर्नेछ।

वित्तीय अवस्था

गत आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा १७ करोड ३ लाख ६३ हजार रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ४१ पैसा रहेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नोक्सानी १० करोड ६७ लाख ३६ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ २४ पैसा थियो भने प्रतिशेयर आम्दानी ३८ पैसा ऋणात्मक थियो।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको सञ्चित नाफा १५ करोड ६६ लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ २ पैसा रहने प्रक्षेपण गरेको छ भने प्रतिशेयर आम्दानी २ रुपैयाँ २३ पैसा ऋणात्मक हुने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना

कम्पनी ऐन २०६३ तथा यस कम्पनीको नियमावलीको नियम २७ (२) बमोजिम सञ्चालक समितिको गठन हुनेछ। यस कम्पनीमा हाललाई ७ जनाको सञ्चालक समिति हुनेछ। जसमध्ये संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व हुने ४ जना, स्वतन्त्र सञ्चालक १ जना र सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व हुने २ जना रहने व्यवस्था रहेको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रामचन्द्र शर्मा रहेका छन्। त्यस्तै, कम्पनीका अन्य सञ्चालकमा शिव प्रसाद शर्मा, तारा नाथ उपाध्याय, कृष्ण राज अधिकारी, हरिदत्त पौडेल र रमा सापकोटा रहेका छन्। कम्पनीको स्वतन्त्र सञ्चालक बाबुराम अर्याल रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीले आफ्नो उद्देश्य पूर्तिका लागि आफ्ना सम्बद्ध कम्पनीहरुको परिचालन गरी व्यवसायिक रुपमा सम्भव देखिएका पर्यटकीय र साहसिक पर्यटन आयोजनाहरुमा लगानी गर्ने योजना रहेको छ। परियोजना २०८२ साल असोज मसान्त भित्र नै सम्पन्न गरी, गुरूयोजना ‘बन्दीपुरहिल’ परियोजनाका क्रियाकलापहरु जस्तै जीप लाईन, पर्यटक कोर्ट एवं रेस्ट्रो जाेन, स्काई साइक्लिङ्ग, साथै, बैङ्क्वेट, अन्य प्रवर्धित कम्पनीहरुसँग समन्वय गरी बैङ्क्वेट हल, बिल्डिङ्ग स्काईवाक्, भ्यूज रूम पूर्ण रुपमा सञ्चालन गरी कम्पनीको आय आर्जन गर्ने योजना रहेको छ। त्यस्तै, लगानी रहेका कम्पनीहरुको विभिन्न संरचना तथा क्रियाकलापहरुलाई कम्पनीसँग संयुक्त रुपमा व्यवसायिक सञ्चालन गर्ने योजना रहेको छ।

ओपनिङ्ग रेञ्ज कति?

आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ २४ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९५ रुपैयाँ २४ पैसादेखि २८५ रुपैयाँ ७२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।