हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौँ

Jul 08, 2025 10:50 AM Merolagani



हिम स्टार उर्जा कम्पनी लिमिटेडले आज (असार २४ गते), मंगलबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्काशनमा ल्याएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुन आउने ११ करोड १९ लाख रुपैयाँबराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९३ हजार २५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरुलाई ४६ हजार ६२५ कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको ७ करोड ७३ लाख ९५ हजार ५०० रुपैयाँबराबरको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वासाधारणका लागि निष्काशन गरेको हो।

आईपीओमा कसरी आवेदन दिने?

कम्पनीले आज अर्थात असार २४ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि साउन ६ गतेसम्म लम्बिनेछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिने?

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ७७ हजार ३९७ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा ५ कित्ता शेष रहन्छ जुन सोही ७७ हजार ३९७ जनामा नै बाँडफाँट गरिनेछ। र सो थप एक कित्ता शेयर प्राप्त गर्न लगानीकर्ताले २० कित्ताका लागि आवेदन दिनु पर्नेछ।

औषत जोखिम जनाउने रेटिङ्ग

साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेड, काठमाडौँबाट रेटिङ्ग गराएको छ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

इक्रा नेपालले कम्पनीलाई २०८१ चैत १ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८२ फागुन २९ गतेसम्म रहनेछ।

कस्तो कम्पनी हो?

नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी संभाव्यता अध्ययन, निर्माण र सञ्चालन गर्ने हेतुले निजी क्षेत्रका उद्यमीहरु मिलेर २०६७ भदौ ३ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा हिम स्टार उर्जा कम्पनीको नाममा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आएको थियो। कम्पनीमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) का बासिन्दा तथा सर्वसाधारणहरुको जनसहभागिता बिस्तार गर्ने हेतुले २०७४ मंसिर २२ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भई हिम स्टार उर्जा कम्पनी लिमिटेडको नाममा कारोबार सञ्चालन गर्दै आएको कम्पनी हो। कम्पनीले आफ्नो आयोजनाबाट उत्पादित विद्युत बिक्री गर्ने प्रयोजनका लागि नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद बिक्री सम्झौता गर्दा ‘टेक एण्ड पे’ प्रावधानमा आधारित भई गरिएको छ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं ७ गौरीघाटमा रहेको छ। आवश्यकता अनुसार सम्बन्धित निकायबाट स्वीकृत लिई अन्य ठाउँमा पनि शाखा कार्यालय खोल्न सक्नेछ। कम्पनीको जलविद्युत उत्पादन केन्द्र कोशी प्रदेश सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकामा रहेको छ।

हाल यस कम्पनीमा ३५९ जना संस्थापक शेयरधनीहरु रहेका छन्। यस कम्पनीका संस्थापक शेयरधनीहरु जलविद्युत, बैंक÷वित्तीय क्षेत्र, शैक्षिक क्षेत्र एवं व्यापार÷व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दख्खल भएका प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन्।

कम्पनीले कोशी प्रदेश, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका स्थित बुकु कापटी खोला जलविद्युत आयोजनाबाट ५ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा संचालन गर्न नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट मिति २०७४ भदौ ८ गते विद्युत उत्पादनको अनुमति प्राप्त गरेको थियो २०८१ साल चैत्र मसान्तसम्म आयोजना ९५ प्रतिशत कार्य सम्पन्न भइसकेको हुँदा २०८२ जेष्ठ मसान्त भित्र विद्युतको व्यापारीक उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीले लिएको थियो।

कम्पनीले निर्माण गरेको ५ मेगावाटको बुकु कापटी खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २७.७ बाँकी रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.१४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ११.७५ वर्ष रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीको प्रवन्ध–पत्रमा जारी पूँजीको ५ प्रतिशत शेयर अयोजना प्रभावित क्षेत्रका बासिन्दालाई तथा २५ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान अनुरुप ११ करोड १९ लाख रुपैयाँ शेयर पूँजी अयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण नेपाली नागरिकहरु (कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई बिक्री वितरण गरी कम्पनीकोे जारी पूँजी रु.३७ करोड ३० लाख रुपैयाँ पुर्याउन आईपीओ निष्काशन गरेको हो। यसका साथै कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न, कम्पनीको प्रवन्ध–पत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न र बैकबाट लिईएको कर्जा भुक्तानी तथा कम्पनीबाट आयोजना निर्माणको लागि रकम संकलन गर्न पनि कम्पनीको आईपीओ जारी गर्नुका उद्देश्य रहेका छन्।

आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?

आईपीओ निष्काशनबाट संकलन भएको ११ करोड १९ लाख रुपैयाँ कम्पनीले देहाय बमोजिम कार्य गर्न प्राइम कर्सियल बैंकबाट लिएको ऋणको भुक्तानी गर्न प्रयोग गर्नेछ।

वित्तीय अवस्था

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा २८ लाख ५० हजार रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ १८ पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको सञ्चित नाफा २१ लाख ५९ हजार रुपैयाँ ऋणात्मक थियो। सो अवधिसम्ममा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ १७ पैसा थियो भने प्रतिशेयर आम्दानी २१ पैसा ऋणात्मक थियो।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ४९ लाख ५१ हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३३ पैसा र प्रतिशेयर आम्दानी १ रुपैयाँ ९१ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना

कम्पनीको नियमावलीको नियम २७ (२) मा भएको व्यवस्था अनुसार ५ जना सञ्चालक सदस्य रहेको सञ्चालक समिति रहने व्यवस्था छ। जसमध्ये संस्थापक शेयरधनीहरुबाट निर्वाचित ३ जना, स्वतन्त्र व्यवसायि विशेषज्ञ सञ्चालक १ जना र सर्वसाधारण शेयरधनीहरुबाट निर्वाचित १ जना रहने व्यवस्था रहेको छ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा ध्रुवलाल पाण्डे रहेका छन्। त्यस्तै, कम्पनीका अन्य सञ्चालकमा दिपक तिवारी, किशोर दत्त बराल, गोपाल प्रसाद दाहाल र सरिता हुमागाई रहेका छन्।

भावी योजना तथा रणनीति

कम्पनीको मुख्य उद्देश्य नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ। आगामी ३ वर्ष भित्र नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण विकास गर्ने, सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सो लाई नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई देशलाई सम्वृद्ध बनाउन सहयोग गर्ने कम्पनीको भावी योजना रहेको छ।

ओपनिङ्ग रेञ्ज कति?

आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ १७ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।