ग्वार्को फ्लाइओभरः २ वर्षमा बन्नुपर्ने २० महिना डिजाइनमै खेर, पेनाल्टी तिरेर भए पनि ठेकेदारले सकायो काम

Jun 20, 2025 11:23 AM merolagani



हरिप्रसाद शर्मा
काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक चापलाई कम गर्न सरकारले अघि बढाएको ग्वार्को फ्लाईओभर निर्माण कार्य सम्पन्न भएको छ । 

परियोजना निर्माणको ठेक्का पाएको आशिष–समानान्तर–रेलिगियर जेभीले ३ वर्ष ४ महिनाको अवधिमा फ्लाइओभर निर्माण सम्पन्न गरेको हो ।

ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले २ वर्षमा फ्लाइओभर निर्माण सम्पन्न गर्नु पर्ने थियाे । तर, ठेकेदारले निर्धारित समयभित्र भने परियोजना निर्माण कार्य सम्पन्न गर्न सकेन । २०७८ माघ २७ गतेदेखि औपचारिक रुपमा निर्माण सुरु गरेको ठेकेदारले बीचमा विभिन्न कारणले निर्माण कार्यलाई गति दिन भने सकेन ।

निर्माण सम्झौता अवधिभित्र सम्पन्न भएको भए २०८० माघ मसान्तसम्म उक्त परियोजना निर्माण सम्पन्न हुन्थ्याे । तर, विभिन्न कारणले ठेकेदारले तोकिएको समयभित्र निर्माण कार्य पूरा गर्न सकेन । फलस्वरुप, २ वर्षको निर्माण अवधि घर्किएपछि सरकारले एक वर्ष म्याद थप गरिदियो । थपिएको म्याद २०८१ पुस मसान्तसम्म पनि ठेकेदारले निर्माण पूरा गर्न सकेन । ठेकेदार कम्पनी १० प्रतिशत पेनाल्टीमा परिसकेको छ ।

परियोजना निर्माणमा ढिलाइ हुनुको पछि धेरै कारण होलान् । तर, मुख्य कारण त्यसको डिजाइन परिवर्तन, नयाँ प्रविधि भएकाले ठेकेदारको कम अनुभव, निर्माणमा सुस्ततालगायतका कारण नै हुन् । सुरुवातमा त निर्माण व्यवसायी परियोजनाको डिजाइनमै अल्मलियो ।

सुरु सुरुको डिजाइनअनुसार काम गर्दा सामान्य प्राविधिक त्रुटी देखिए । तर, फाइनल डिजाइन स्वीकृत भएर आउन नै २० महिना लागेको स्वंयम आयोजनाका कर्मचारी बताउँछन् । ‘परियोजनाको फाइनल डिजाइनको प्रतिवेदनको स्वीकृतिलगायतमा काम गर्न २० महिना लाग्यो,’ उनले भने, ‘इपीसी मोडेल भएको र अन्तराष्ट्रिय प्रविधिको प्रयोग गर्नुपर्दा केही अनुभवमा कमी रहे होलान । परियोजनाको थप व्ययभार ठेकेदारकै काँधमा छ ।’ 

सरकारले अन्य प्रविधिको तुलनामा ‘मेकानिकल्ली स्टेबलाइज अर्थ वाल’ प्रविधि सस्तो हुने भन्दै चक्रपथको ग्वार्कोचोकमा यो परियोजना निर्माण अघि बढाएको थियो । जाम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले अघि बढाएको यो परियोजना इन्जिनियरिङ, प्रोक्युमेन्ट एण्ड कन्ट्रक्सन(इपीसी) मोडलमा निर्माण गरिएको हो ।

इपीसी मोडेल भएकाले परियोजनाको समय र लागत जति नै बढे पनि त्यसको दायित्व स्वंयम निर्माण व्यवसायी माथि नै पर्छ । सरकारमाथि बढेको लागतको अतिरिक्त दायित्व यो परियोजनाले भने सिर्जना गर्दैन । चीन सरकारको अनुदान सहायतामा निर्माण भइसकेको कोटेश्वर–कलंकीखण्डको ग्वार्कोचोकमा निर्मित यो परियोजनाले त्यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग मिल्ने सडक विभागको दाबी छ । सडक विभागका प्रवक्ता प्रभातकुमार झाले चक्रपथअन्तरगत बालकुमारी–ग्वार्को खण्डमा हुने ट्राफिक जाम ३५ प्रतिशत कम हुने बताए ।

कुल ३१ करोड लागत अनुमान गरिएको परियोजनामा ठेकेदार कम्पनीले २० प्रतिशतभन्दा कम बोलकबोलमा ठेक्का पाएको थियो । परियोजना निर्माण सम्पन्न हुँदा कुल लागत १७ करोड ६ लाख रुपैयाँमध्ये पेनाल्टीबापत १० प्रतिशत कट्टा गरी निर्माण व्यवसायीले बाँकी भुक्तानी पाउनेछ ।

बीचमा किन भत्क्याइयो फ्लाइओभ ?

इपीसी मोडेलमा बन्ने भएकाले पनि परियोजनाको विस्तृत डिजाइन प्रतिवेदन, खरिद र निर्माणमा स्वंयम निर्माण कम्पनी नै जिम्मेवार हुन्छ । ठेक्का सम्झौताअनुसार निर्धारित समय र डिजाइअनुसार निर्माण अघि बढाउनु पर्ने हुन्छ । तर, ठेकेदारले परियोजना निर्माणमा भन्दा बढी डिजाइन बनाउने र डिजाइन परिवर्तन गर्नेलगायतका काममा बढी भुलेको थियो ।

आफैले बनाएको डिजाइनअनुसार निर्माण कम्पनीले काम गरिरहेको थियो । अचानक गत २०८१ चैतको पहिलो साता फ्लाइओभर निर्माणकै चरणमा प्राविधिक त्रुटी देखिएको थियो ।

परियोजना निर्माण डिजाइनमा पूर्वानुमान गरेअनुरुप नै धेरै स्थानमा माटो समान रुपमा दबेको तर सातदोबाटोतर्फको एक भागमा असमान रुपले माटो दबेको कारण प्यानल ४–५ बीचको ‘ज्वोइन्ट ग्याप’ बढेको देखिएपछि सडक विभागले तुरुन्तै पुननिर्माण गर्न निर्देशन दिएको थियो । ठेकेदारले आफ्नै खर्चमा भत्किएको भाग पुनर्निमाण गरी परियोजना निर्माण पूरा गरेको हो ।

डिजाइनमा के परिवर्तन गरियो ?

सुरुवातीे डिजाइनअनुसार परियोजना अघि बढाउँदा आवश्यक उपकरण उपलव्ध नहुने भएपछि निर्माण कम्पनीले डिजाइनमा केही परिवर्तन गरेको थियो । प्रारम्भिक डिजाइनअनुसार, प्रत्येक छेउमा १.५ व्यास र ३४ मिटर गहिरो र ४ वटा पाइल कंक्रिट हाल्नुपर्ने थियो । तर, भारतमा १.५ व्यास र ३४ मिटर गहिरो अस्थायी आवरण घुसाउने र हटाउने उपकरणको उपलब्धता नभएको बताउँदै निर्माण कम्पनीले डिजाइन परिवर्तन गरेको थियो ।

प्रत्येक छेउको ब्यास घटाएर र पाइल कंक्रिटको संख्या बढाएर डिजाइन परिवर्तन गरिएको छ । जसमा (१.२ मिटर व्यास, ३० मिटर गहिरो प्रत्येक छेउमा १२ वटा पाइल) मा परिवर्तन गरिएको हो । परिवर्तीत डिजाइनअनुसारको निर्माण सुरु गर्न नै निर्माण कम्पनीलाई ६ महिना लागेको सडक विभागको दाबी छ । कुल ६ मिटरको उचाइ हुने फ्लाइओभरको लम्बाइ बालकुमारीतर्फ ३२० र सातदोबाटोतर्फ १८५ मिटर छ ।

फ्लाइओभरमा १.२ मिटर व्यास र ३० मिटर लम्बाइका १२-१२ वटा गरी जम्मा २४ वटा पाइल हुनेछ । ग्वार्को फ्लाई–ओभरको लम्बाइ ४९० मिटर रहनेछ ।

कस्का पालामा ठेक्का लाग्यो ?

सडक विभाअन्तरगतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको सुपरिवेक्षण र डिजाइन स्वीकृतिमा निर्माण अघि बढेको थियो । २०७८ साउन २७ मा तत्कालीन सडक विभागका निमित्त महानिर्देशक शिवहरि सापकोटाका पालामा परियोजना ठेक्का सम्झौता भएको थियो । त्यस्तै, उनको अनिवार्य अवकाशपछि परियोजनाको डिजाइन परिवर्तनको स्वीकृति दिने बेला विभागको निमित्त महानिर्देशको जिम्मेवारीमा शिव नेपाल थिए ।

उनको कार्यकालमा पनि ग्वार्को फ्लाइओभर निर्माण र डिजाइनका कतिपय कामहरु भएका थिए । नेपाल विभागको निमित्त डीजी हुँदा केन्द्रको निर्देशकमा विभागका उपहानिर्देशकसमेत रहेका इन्जिनियर डा. बिजय जैशी थिए । जैशी हाल विभागका महानिर्देशक समेत हुन् ।

निष्कर्षमा, परियोजनाको डिजाइन निर्माण र पुनः परिवर्तन गर्नुपर्ने, स्वीकृति लिनुपर्ने, माटो परिक्षणलगायतका काममा बढी समय लगाएको देखिन्छ । जुन, काम डिजाइनपूर्व वा ठेक्का लाग्नुपर्ने थियो । फ्लाइओभर परियोजनाको डिजाइनको फाइनल रिपोर्ट २०८१ बैशाख २१ मा मात्र स्वीकृत भइ कार्यान्वयनमा आएको थियो ।