नीति सार्वजनिक भए लगत्तै ब्याजदरमा त्यसको प्रभाव परिसकेको छ। साउन महिनाको लागि भनेर वाणिज्य बैंकहरुले ब्याजदर प्रकाशित गरिसकेका छन्। प्रकाशित ब्याजदर असार महिना भन्दा व्यक्तिगत तर्फको औसत ब्याजदर ०.२० प्रतिशत र संस्थागत तर्फ ०.२६ प्रतिशतले थप घटेको छ।

साउन महिनाको लागि जुन प्रतिशतले ब्याजदर घटेको छ। त्यसले साउन महिनामा वाणिज्य बैंकले व्यक्तिगत निक्षेपकर्तालाई औसत ५.६९ प्रतिशत र संस्थागतलाई औसत ४.११ प्रतिशत ब्याज प्रदान गर्ने छन्। अझै कतिपय बैंकले संस्थागतलाई तीन प्रतिशत र व्यक्तिगतलाई ४ प्रतिशतको हाराहारीमा मात्रै ब्याज दिन सक्ने भनेका छन्। जुन ब्याजदर असाध्यै न्यून हो।
नेपाल राष्ट्र बैंकले जसरी थप ब्याजदर घटाउने नीति अघि सार्यो त्यसले निक्षेपकर्तालाई पुरै निरुत्साहित गरेको छ। राष्ट्र बैंकले मुद्रा स्फीति दर र ब्याजदर कायम गर्ने कुरामा भनाइ र गराइमा आकास जमिनको फरक पारेको छ। नेपाल राष्ट्र बैंकले मुद्रा स्फीति भन्दा कम ब्याजदर हुन नदिने भन्दै आइरहेको छ। तर उसले नीति भने मुद्रा स्फीति भन्दा कम हुने नीति अघि सारेको छ। किनकि आउने आर्थिक वर्षको मुद्रा स्फीति ५ प्रतिशतमा राख्ने उसको लक्ष्य छ। तर उसले ब्याजदर करिडाेरको तल्लो सीमा भने २.७५ कायम हुने भनेको छ। त्यो आफैमा बोलाइ र गराइमा आकाश जमिन फरक हुने कुरा भएको बैंकिङ क्षेत्र विश्लेषकको भनाई छ। “राष्ट्र बैंक भन्ने बेलामा मुद्रास्फीति र ब्याजदरको तालमेल गर्ने गरी अघि बढ्ने भन्छ। अनि आफै मुद्रा स्फीतिको लक्ष्य ५ प्रतिशत राख्छ अनि ब्याजदर करिडरको तल्लो सीमा २.७५ राख्छ। यो सरासर भनाइ र गराइमा आकाश जमिनको फरक हो,” नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी अधिकृत नरबहादुर थापाले मेरो लगानीसँग भने।
मुद्रा स्फीति भन्दा कम ब्याजदर हुने बित्तिकै त्यसले अनौपचारिक अर्थतन्त्रलाई सघाउने खतरा बढ्ने अनुमान विश्लेषकहरूले गर्न थालेका छन्। कुनै व्यक्तिसँग आज भएको एक सय रुपैयाँ आउने वर्ष ५ प्रतिशतले हुने मुद्रा स्फीतिले गर्दा उसको एक सय रुपैयाँ एक सय पाँच रुपैयाँ भन्दा बढी हुनै पर्छ। तर उसले बैंकमा राख्दा बढीमा एक सय चार रुपैयाँ पाउने स्थिति अहिलेको नीतिले गराउने छ। त्यसले गर्दा आजको एक सय रुपैयाँ आउने वर्ष एक सय पाँच भन्दा बढी होस् भन्ने चाहनाले मानिस अनौपचारिक अर्थतन्त्र प्रति आकर्षित हुन्छ। जसले गर्दा पूँजी पलायनको सम्भावनाको जोखिम पनि उत्तिकै हुने बताइएको छ। “मुद्रा स्फीति दर भन्दा कम ब्याज आउने भएपछि पक्कै पनि पैसा पलायन, अनौपचारिक अर्थतन्त्र र शेयर बजारमा बढी जान सक्छ,” थापाले भने।
ब्याजदर घट्दा फाइदा र बेफाइदा दुवै छन्। ब्याजदर घट्दा आम सर्वसाधारणको क्रय शक्ति घट्छ। जसले बस्तु र सेवाको माग घटाउँछ। तर अर्कोतर्फ ब्याजदर सस्तो हुँदा ऋण लिने बढ्न सक्छन्। जसले चाहिने भन्दा बढी ऋण उपयोग गर्न सक्छ। तिर्न सक्ने क्षमता भन्दा ऋण लिँदा पछिल्लो समय जस्तै खराब ऋणी बढ्ने खतरा हुन्छ। जसले अर्थतन्त्रलाई समस्यामा पार्न सक्छ। अझै पूँजीगत लाभ खोज्दै आम सर्वसाधारण शेयर बजारका इन्स्टुमेन्टमा लगानी बढाउन थाल्ने छन्। त्यसले माग बढाउँदा शेयर मूल्य बबल हुने सम्भावना हुन्छ। शेयर बजार बबल भएर फुट्दा धेरै लगानीकर्ताको लगानी जोखिममा पर्न सक्छ।
यस्तो खालको अवस्था धेरै पटक नेपालको शेयर बजारले देखाइसकेको छ। त्यसले गर्दा शेयर बजार बबल हुने सम्भावना निक्कै भएकोले लगानीकर्ताले होसियारीपूर्वक लगानी गर्न जानकारहरूले सुझाएका छन्।