दक्षिण एशियाली देशहरु मध्ये नेपालप्रति अमेरिकी कर नीति लचिलो, त्यसबाट फाइदा उठाउन सके नेपालको आर्थिक अवस्था सुधार हुन सक्ने

Aug 03, 2025 02:41 PM mero lagani



दक्षिण एशियाली देशहरुमध्ये नेपालप्रति अमेरिका लचिलो बनेको देखिएको छ । अमेरिकी सहयोग कर्पाेरेशन (एमसिसी)लाई निरन्तरता दिए लगत्तै गत बिहीवार अमेरिकाले जारी गरेको ‘फर्दर मोडिफाइङ द रेसिप्रोकल ट्यारिफ रेट्स’ मा नेपाल नपरेपछि अरु देशहरुको तुलनामा अमेरिका लचिलो बनेको देखिएको हो । यसले नेपालको निर्यात व्यापारमा केही मात्रामा पनि सहयोग पुर्याउने विज्ञहरुले बताएका छन् ।

बिहीवार ह्वाइट हाउसले जारी गरेको ‘फर्दर मोडिफाइङ द रेसिप्रोकल ट्यारिफ रेट्स’ अनुसार दक्षिण एशियाका देशहरुमा भारतलाई २५ प्रतिशत, बाङ्ग्लादेशलाई २० प्रतिशत, श्रीलङ्कालाई २० प्रतिशत, पाकिस्तानलाई १९ प्रतिशत र अफगानिस्तानलाई १५ प्रतिशत आयात कर लाग्नेछ । तर, विहिबार जारी लिष्टमा नेपालको नाम छैन । नेपाली समानहरुलाई उक्त कर १० प्रतिशत लगाउने घोषणा केही समय पहिले गरिएको थियो । त्यही घोषणालाई निरन्तरता दिइएकोले त्यसमा नाम उल्लेख नगरिएको बताइन्छ ।

अमेरिका नेपालको भारतपछिको दोस्रो ठूलो निर्यात मुलुक हो। गत वर्ष नेपालले २ खर्ब ७७ अर्ब रुपैयाँको कुल निकासी गरेकोमा सबैभन्दा धेरै भारतमा करिब सवा २ खर्ब रुपैयाँको निकासी गरेको थियो भने अमेरिकामा १८ अर्ब ३२ करोड रुपैयाँ बराबरका समान निर्यात गरेको थियो । जब कि अमेरिकाबाट यही अवधिमा नेपालले झन्डै २६ अर्ब रुपैयाँको आयात गर्यो। अर्थात् ७ अर्ब ६० करोड रुपैयाँले नेपाललाई अमेरिकासँग व्यापार घाटा भयो।

अघिल्लो वर्ष त्यस्तो घाटा जम्मा २ अर्ब १६ करोड रुपैयाँको थियो भने तीन वर्षअगाडि अमेरिकासँग नेपालको १४ करोड रुपैयाँको व्यापार नाफा थियो ।

नेपालसँगको व्यापारमा निरन्तर नाफामा रहेकोले पनि अमेरिकाले आयात करमा नेपालप्रति तुलनात्मक रुपमा लचिलो नीति अपनाएको विश्वास गरिएको छ ।

सो वर्षबाहेक सन् २००५ मा तयारी पोसाक निर्यातमा अङ्कुश लागेपछि अमेरिकासँग नेपालको निरन्तर व्यापार घाटा रहन थालेको छ।

नेपालले अमेरिकामा निर्यात गर्ने प्रमुख वस्तुहरूमा तिनै तयारी पोसाक तथा गलैँचाहरू छन् । भारत, वंगलादेशलगायतका दक्षिण एशियाली देशहरुले पनि अमेरिका निर्यात गर्ने बस्तुमा तयारी पोसाक नै मुख्य हो ।

वाणिज्य मन्त्रालयका पूर्व सचिव पुरुषोत्तम ओझा अरु देशको तुलनामा नेपाललाई आयात कर लगाउने अमेरिकी नीति नेपालको लागि व्यापार विस्तार गर्ने मौका हुनसक्ने बताउँछन् ।

अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम) का महाप्रबन्धक अमिरराज थापा अहिलेको अवस्थालाई अवसर हुन सक्ने मान्छन् । ‘यो फाइदा लिने मौका हो तर परम्परागत तरिकाले पुग्दैन। गलैँचा तथा तयारी पोसाकमा मात्र ध्यान दिएर पनि पुग्दैन। हामी अलि सिर्जनशील हुनुपर्छ,’ उनको भनाइ छ ।

स्मरणरहोस नेपालमा एक दशक अघि आएको विनाशकारी भूकम्पपश्चात् यहाँको आर्थिक पुनरुत्थानमा सहयोग पुगोस् भनेर फेब्रुअरी २४, २०१६ मा अमेरिकाले नेपाल व्यापार सौविध्य कार्यक्रम (एनटीपीपी) लागु गरेको थियो। त्यस्तै अमेरिकासँग नेपालको व्यापार तथा लगानीसम्बन्धी फ्रेमवर्क सम्झौता (टिफा) सन् २०११ देखि लागू भएको छ। त्यो अनुसार ७७ वटा नेपाली वस्तुलाई अमेरिकामा शून्य भन्सारको सुविधा प्राप्त छ। उक्त सम्झौता यसै वर्षको डिसेम्बरमा सकिने भएकोले त्यो सम्झौताको नविकरण गर्दै सुविधा थप गर्न पहल गर्नु पर्ने सरोकारवालाहरुको भनाइ छ ।




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।