गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.५१ प्रतिशत र सञ्चालन मुनाफा ४.४१ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा २५.२५ प्रतिशत बढेको छ भने वित्तीय खर्च १८.६५ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९० पैसा बढेर ६ रुपैयाँ १७ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९७.६३ गुणा रहेको छ।
६४ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ करोड ६१ लाख रुपैयाँ सञ्चित छ।
