खराब कर्जा घटेपछि स्वाभिमान लघुवित्तको नाफा उल्लेख्य बढ्यो

Aug 06, 2025 08:54 AM Merolagani



स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१९.०८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७८ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८६.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २०.५० प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७३.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १ हजार १०४.२० प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ३.१५ प्रतिशतविन्दु घटेर ४.२० प्रतिशतमा झरेको छ। त्यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज २ करोड १० लाख रुपैयाँ रिभर्स भएको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै उल्लेख्य बढ्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४१ रुपैयाँ ७६ पैसा बढेर ४७ रुपैयाँ १५ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ २७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.३८ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ३२ पैसा रहेको छ।

१५ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब ८८ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।