१० प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीको नाफा, नेपाल लाइफको नाफा सबैभन्दा उच्च

Aug 25, 2025 10:13 AM MeroLagani



आव २०८१/८२ मा जीवन बीमा कम्पनीहरुको नाफा औसतमा १० प्रतिशतले बढेको देखिएको छ । अर्थतन्त्रमा आएको मन्दीका बाबजुद पनि जीवन बीमा कम्पनीको नाफामा १० प्रतिशतको वृद्धि देखिएको हो । बीमा कम्पनीहरुको अधिकांश रकम मुद्दती निक्षेपमा रहेको हुन्छ । मुद्दती निक्षेपमा घट्दो ब्याज दरका बाबजुद पनि जीवन बीमा कम्पनीको नाफामा वृद्धि देखिएको हो ।

मेरो लगानी डाटा एनालाइटिक्समा इन्ट्री भएको गत आवको चौथो त्रैमासिक र अघिल्लो आवको चौथो त्रैमासिकमा प्रकाशित वित्तीय विवरणको तुलनात्मक अध्ययनको आधारमा यो रिपोर्ट तयार पारिएको हो । आव २०८१/८२ मा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चौथो त्रैमाससम्म ६० करोड ३३ लाख रुपैयाँ खुद मुनाफा गरेकाे छ ।

त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले सबैभन्दा कम ३१ करोड ५० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सले ६३ करोड ३९ लाख रुपैयाँ र सबैभन्दा कम लाइफ इन्स्योरेन्स कर्पोरेसनले २३ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा कमाएको वित्तीय विवरण प्रकाशित भएको थियो । नेपाल लाइफपछि सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा आईएमई लाइफ इन्स्योरेन्स रहेको छ । आईएमई लाइफले ५८ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । रिलायवल नेपाल, हिमालयन, सन नेपालको खुद मुनाफा ५० करोड भन्दा माथि छ भने नेसनल लाइफ एसियन लाइफको नाफा ४० करोड माथि रहेको छ । त्यस्तै सानिमा रिलायन्स, प्रभु महालक्ष्मी र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको नाफा ३० देखि ४० करोडको बीचमा रहेको छ । दुई लघु जीवन बीमा कम्पनी गार्डियन र क्रेस्टको खुद मुनाफा १० करोड भन्दा मुनि रहेको छ ।

यता प्रति शेयर आम्दानीको आधारमा भने एसियन लाइफ इन्स्योरेन्सको प्रति शेयर आम्दानी सबैभन्दा बढी १२ रुपैयाँ ४ पैसा देखिएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको प्रति शेयर आम्दानी सबैभन्दा कम ५ रुपैयाँ ७४ पैसा देखिएको छ । आईएमई, रिलायवल नेपाल र सन नेपाल लाइफको प्रति शेयर आम्दानी १० रुपैयाँभन्दा माथि छ । सिटिजन लाइफ, गार्डियन माइक्रो लाइफ, नेसनल लाइफ, सानिमा रिलायन्स लाइफ, प्रभु महालक्ष्मी लाइफ, सूर्य ज्योति लाइफ, नेपाल लाइफ र हिमालयन लाइफको प्रति शेयर आम्दानी ५ देखि १० रुपैयाँको बीचमा छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र क्रेस्ट माइक्रो लाइफको प्रति शेयर आम्दानी भने ५ रुपैयाँ भन्दा मुनि छ ।

नेटवर्थका हिसाबले भने अझै पनि लाइफ इन्स्योरेन्स कर्पोसन नेपाल अब्बल रहेकाे छ । कम्पनीकाे नेटवर्थ १ सय ८७ रुपैयाँ ४७ पैसा रहेको छ। नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुको नेटवर्थ १ सय रुपैयाँ भन्दा माथि नै रहेको छ सबैभन्दा कम नेटवर्थ भने क्रेस्ट माइक्रो लाइफको १ सय ४ रुपैयाँ ५१ पैसा रहेको छ ।

समीक्षा अवधिमा जीवन बीमा कम्पनीको चुक्ता पुँजी १० प्रतिशतले बढेको छ भने सञ्चित मुनाफा ३ प्रतिशतले घटेको छ । दुई वटा लघु जीवन बीमा कम्पनीको रिजर्भमा उल्लेख्य वृद्धि देखिएको छ भने एसियन लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र सन नेपाल लाइफको रिजर्भ बढेको छ । रिलायवल नेपाल लाइफ, सूर्यज्योति लाइफ, आईएमई लाइफ, सिटिजन लाइफ, नेसनल लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ र हिमालयन लाइफ इन्स्योरेन्सको रिजर्भ भने अघिल्लो आवको तुलनामा घटेको छ ।

दुई वटा लघु जीवन बीमा कम्पनीको बीमा कोषमा उल्लेख्य वृद्धि देखिएको छ। त्यस्तै आईएमई लाइफ, सिटिजन लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायवल नेपाल लाइफ, सन नेपाल लाइफ, सानिमा रिलाइन्स लाइफ, हिमालयन लाइफको बीमा ३० प्रतिशत भन्दा बढीले बढेको देखिएको छ ।

हिमालयन लाइफ, नेपाल लाइफ, नेसनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, एसियन लाइफ र सूर्य ज्योति लाइफ इन्स्योरेन्सको बीमा कोष भने १० देखि २० प्रतिशतको बीचमा मात्रै बढेको छ ।




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।