अडलट अर्डर देखिने बनाएपछि कारोबार दोब्बरले बढ्यो, अब रियल टाइम हुनु पर्ने लगानीकर्ताको माग

Aug 27, 2025 06:34 AM merolagani



सुवास निरौला

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गत साउन १ गतेदेखि लागु हुने गरी अडलट अर्डर देखिने बनाएपछि एकै महिनामा कारोबार दोब्बरले बढेको छ। नेप्सेले सार्वजनिक गरेको साउन महिनाको रिपोर्टमा कारोबार दोब्बरले बढेको देखिएको हो।

नेप्सेको रिपोर्टअनुसार गत साउन भरिमा २१ लाख एक हजार दुई सय ९३ कित्ता शेयर ७१ करोड ४४ लाख ५० हजार रुपैयाँमा किनबेच भए। जुन गत असारको तुलनामा ६४.०८ प्रतिशत बढी हो। गत असारमा ११ लाख ४४ हजार तीन सय ५४ कित्ता शेयर ४३ करोड ५४ लाख ३४ हजार पाँच सय रुपैयाँमा किनबेच भएका थिए।

जेठ महिनाको तुलनामा असारमा पनि अडलट कारोबार बढेको थियो। तर असारमा भने ३१.१८ प्रतिशतले मात्रै कारोबार बढेको थियो। गत जेठमा कुल १६ लाख ७८ हजार ६८४ कित्ता शेयर ३३ करोड १९ लाख २९ हजार पाँच सय रुपैयाँमा मात्रै कारोबार भएका थिए। गत जेठको तुलनामा साउनमा अडलट कारोबार ११५.२४ प्रतिशतले बढेको छ। जुन दोब्बर भन्दा बढी हो।

गत साउन महिनादेखि नेप्सेले अडलटको खरिद/बिक्री आदेश देखिने बनाएको छ। सोही कारण कारोबार दोब्बर बढेको हो। साउन अघि अडलटको खरिद/बिक्री आदेश राख्न मात्रै सकिने तर त्यसलाई अरू लगानीकर्ताले देख्न सक्दैन थिए। नेप्सेले अहिले ट्रेड म्यानेजमेन्ट सिस्टम(टिएमएस)मा राखेको खरिद/बिक्री आदेश आफ्नो वेबसाइटमा देखाइ दिने गरेको छ। नेप्सेको आधिकारिक वेबसाइटको मार्केट डेप्थमा अडलट आदेश देख्न सकिन्छ। टिएमएसमा राखेको एक मिनेटपछि मात्रै नेप्सेको वेबसाइटमा आदेश देखिन्छन्। किनकि टिएमएसको डाटा एक मिनेट पछि मात्रै वेबसाइटमा आउने गर्छ। सोही कारण एक मिनेट पछि मात्रै देखिने गरेको हो।

तर आम सर्वसाधारण लगानीकर्ताले भने टिएमएसमा नै देखिने बनाउनु पर्ने माग गरिरहेका छन्। तर नेप्सेले भने खर्चको कारणले गर्दा तुरुन्तै टिएमएसमा देखाउन नसकिने जनाएको छ। “अडलट शेयर कारोबार गर्न निक्कै समस्या भयो भन्ने गुनासो निक्कै बढी आयो। सोही गुनासोलाई नेप्सेले सम्बोधन गरेको हो। टिएमएस र वेबसाइटमा देखाउने बनाउँदा कुन कम खर्चिलो हुन्छ भनेर हामीले अध्ययन गर्दा टिएमएसमा नै गर्दा निक्कै कम्प्लेक्स आउनुका साथै खर्च पनि बढी लाग्ने देखियो। जसले गर्दा तत्काल समस्या पनि समाधान हुने र खर्च पनि कम लाग्ने भएको कारण वेबसाइटमा देखाइएको हो,” नेप्सेका एक उच्च अधिकारीले मेरो लगानीसँग भने।

खर्चकै कारण नेप्सेले वेभ साइटमा देखाएको विषयलाई लगानीकर्ताले निको मानेका छैनन्। “बजार सञ्चालकले कारोबारलाई जति सरल र आधुनिक गराउन सकिन्छ त्यति नै सरल र आधुनिक बनाउनु उसको कर्तव्य हो। तर अहिले आएर खर्च कै कारणले रियल टाइम बनाउन सकिएन भन्नु निक्कै लाजमर्दो विषय हो। त्यसले गर्दा बजार सञ्चालकले जति सक्दो छिटो यसलाई रियल टाइम टिएमएसमा नै देखाउने बनाउनु पर्छ,” लगानीकर्ता सन्तोष भट्टराईले मेरो लगानीसँग भने।

अडलट शेयर कारोबार भनेको के हो ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुनै पनि शेयरहरू दुई लर्ट हुन्छन्। जसलाई फेस भ्यालुको आधारमा तय गरिन्छ। जसलाई बोर्ड लट र अडलट भन्ने गरिन्छ। जस्तै कुनै शेयरको फेस भ्यालु १० रुपैयाँ छ भने त्यस्तो शेयर १०० कित्ता भए मात्रै त्यसलाई बोर्ड लट मानिन्छ। १०० कित्ता भन्दा कम भए त्यसलाई अडलट भनिन्छ। त्यस्तै फेस भ्यालु १०० रुपैयाँ भए १० कित्ता शेयर बोर्ड लट मानिन्छ। त्यसभन्दा कम भए अडलट हुने गर्छ। त्यसैगरि शेयरको फेस भ्यालु एक हजार रुपैयाँ भए एक कित्ता बोर्ड लट हुन्छ। त्यस भन्दा कम भए अडलट हुने गर्छ।

अनलाइन कारोबार सुरु गर्नु अघि भने नेप्सेले अडलट शेयरको कारोबार शुक्रवार मात्रै गराउने गरेको थियो। तर अनलाइन आएपछि भने त्यसलाई नियमित कारोबार समयमा नै कारोबार गर्न सकिने बनाइएको छ। तर अहिले पनि अडलट कारोबारले सूचक परिवर्तनमा भने कुनै भूमिका निर्वाह गर्दैन।   




मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने

Aug 24, 2025 05:10 PM

मेरो शेयर तथा सि–आस्बा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने भएको हो ।