७२ सालको भुकम्पमा भन्दा धेरै बीमा दाबी पर्ने अनुमान, नेपाल पुनर्विमा कम्पनीलाई बढी दबाब

Sep 16, 2025 05:56 PM MeroLagani



अहिले बीमा कम्पनीहरु धमाधम बीमा दाबी संकलन गरेर बीमा प्राधिकरणमा पेश गर्न व्यस्त रहेका छन् । जेनजी आन्दोलनको कारण निर्जिवन बीमा कम्पनीहरुमा परेको बीमा दाबी साप्ताहिक रुपमा (प्रत्येक हप्ताको बुधबार) पेश गर्न नियामक नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको थियो ।

नेपाल निर्जीवन बीमक संघका अध्यक्ष एवम् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर बैदवारले अहिलेसम्म संकलन भएको बीमा दाबीको विवरण प्राधिकरणमा पेश गरिसकिएको बताए तर प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बुधबारसम्म सबै निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीमा दाबीसहितको विस्तृत विवरण बुझाएपछि मात्रै सार्वजनिक गरिने बताए।

अहिले क्षतिको सिफारिका लागि आवश्यक पर्ने वडा कार्यालय तथा प्रहरी कार्यालयमा समेत आगजनी भएका कारण क्षति मूल्यांकनमा ढिलाइ हुने देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुले आजसम्म करिब २७ अर्ब भन्दामाथिको बीमा दाबी आइसकेको प्राधिकरण स्रोतले बतायो । कतिपय कम्पनीहरुले पठाउने क्रम अझै जारी रहेको कारण अझै बढ्न सक्ने उनले दाबी गरे।

अटो हबको रुप लिएको थापाथली स्थित क्षतिग्रस्त शोरुमको नवनियुक्त अर्थमन्त्री खनालले मंगलबार अवलोकन गरे । उनले व्यवसायीहरुलाई क्षति यकिन गरेर बीमाको रकम दाबी गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरे। भेटमा नाडाका अध्यक्ष करण चौधरीले बीमामा क्षति दाबी गर्दा पाइने रकम पहिले नै केही निश्चित प्रतिशत निकासा गर्ने व्यवस्थाका लागि सहजीकरण गर्न अर्थमन्त्री खनालले आग्रह गरे । पेश्कीको रुपमा केही रकम पाउँदै गर्दा बीमाको प्रक्रिया चल्दै गर्दा क्षतिग्रस्त शोरुमको मर्मत सम्भारको काम समेत अगाडि बढने उनले बताए । थापाथलीमा अवस्थित टाटा मोटर्स, महिन्द्रा, सुजुकी र हुन्डाईको थाथापली स्थित शोरुमा तोडफोडका साथै आगजनी भएको छ ।

 

काठमाडौंलगायतका क्षेत्रमा रहेका भाटभटेनीका २१ ओटा स्टोर, हिल्टन होटेल, एनसेलको केन्द्रीय कार्यालय, ग्लोबल कलेज, थापाथलीस्थित सेन्ट्रल बिजनेश पार्क र थापाथली क्षेत्रमै रहेका हुन्डाई, सुजुकी र टाटा मोटर्सलगायत सवारी साधन शोरुममा आगजनी भएको छ। त्यस्तै चौधरी समूहको कारखाना, चन्द्रागिरि केबलकारको स्टेशनलगायत संरचनामा समेत क्षति पुगेको छ।

भाटभटेनीले आफ्नो बीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योेरेन्स, शिखर इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीहरूमा बीमा गराएको छ। त्यस्तै, हिल्टन होटेलले दी ओरिएन्टल इन्स्योरेन्समार्फत बीमा गराएको छ । बीमा दाबी भुक्तानीका लागि बीमा गर्दा कबोल गरिएका सम्पत्ति र क्षतिको मूल्यांकनलाई आधार बनाइन्छ। आन्दोलनका कारण भएको क्षतिको दाबी हूलदंगा तथा आतंकवाद जोखिमअन्तर्गत पर्छ । सम्पत्ति बीमा जारी गर्दा यो जोखिम समावेश गर्न अनिवार्य गरिएको भए पनि यसको पुनर्बीमा विदेशमा नभई नेपाल पुनर्बीमा कम्पनीमा मात्र गरिएको छ । यसकारण, नेपाल पुनर्बीमामाथि ठूलो वित्तीय भार पर्ने देखिएको छ । बीमा कम्पनीहरूले हूलदंगा तथा आतंकवाद जोखिमअन्तर्गत ३५ प्रतिशत जोखिम आफूसँग राखेर बाँकी ६५ प्रतिशत नेपाल पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्दै आएका छन् । नेपाल पुनर्बीमाले पनि विदेशी कम्पनीमा गराएको रिट्रोसेशन बाहेकको दायित्व वहन गर्नुपर्ने हुन्छ ।

नेपाल पुनर्विमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले अहिले प्रारम्भिक रुपमा बीमा कम्पनीहरुबाट बीमाको दाबी आउन थालेको भए पनि यकिन तथ्यांक आइनसकेको बताए। बीमा दाबी पछि बीमा कम्पनी र पुनर्विमा दुवैको बीमा सर्भेयरले क्षति मूल्याकंन गरेर मात्रै यथार्थ दायित्व यकिन हुने उनले बताए । हुलदंगा तथा आतंकवादको बीमा भने नेपाल पुनर्विमा कम्पनीमा मात्रै निहित रहेको हुँदा यसमा निजी क्षेत्रबाट खुलेको दोस्रो पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्समा भने खासै दाबी पर्ने देखिएन।

अहिलेको आन्दोलनमा धेरै क्षति भएको हुँदा २०७२ सालको भुकम्पको भन्दा धेरै बीमा दाबी पुग्ने अनुमान बीमा कम्पनीहरुले गरेका छन् ।

गण्डकीमा १ अर्ब १३ करोडको बीमा दाबी पर्ने अनुमान

जेनजी प्रदर्शनका कारण गण्डकी प्रदेशमा मात्र बीमा कम्पनीमा १ अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले भदौ ३० सम्म संकलन गरेको विवरणअनुसार विभिन्न बीमा कम्पनीमा जम्मा सो रकम बराबरको दाबी पर्ने अनुमान गरिएको हो ।

तथ्यांकअनुसार गण्डकी प्रदेशमा भदौ ३० गतेसम्म प्राधिकरणले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५० करोडको ९ वटा तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३५ करोडको ५० वटा दाबी पर्ने अनुमान छ । त्यसैगरी ओरियन्टल इन्स्योरेन्स कम्पनीमा ७ करोड रुपैयाँको १३ वटा दाबी पर्ने अनुमान गरिएको छ भने राष्ट्रिय बीमा कम्पनीमा ७ करोडको २० वटा, युनाइटेड अजोड इन्स्योरेन्समा २ करोडको ६ वटा, नेको इन्स्योरेन्समा ४ करोड ४५ लाखको १६ वटा दाबी पर्ने अनुमान गरिएको छ ।

आईजीआई प्रुडेन्सियलमा ३ करोड १५ लाखको ३ वटा, शिखर इन्स्योरेन्समा ७५ करोडको ५ वटा, एनएलजी इन्स्योरेन्समा ८० लाखको ६ वटा, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५ करोडको १५ वटा बीमा दाबी पर्ने अनुमान गरिएको छ । यस्तै, सानिमा जिआईसी इन्स्योरेन्समा २ करोडको ११ वटा र नेपाल माइक्रो इन्स्योरेन्समा २५ लाख रुपैयाँ बराबरको ५ वटा बीमा दाबी पर्ने अनुमान गरिएको छ ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।