फिल्म प्रदर्शनमा रोक लगाएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु यो फिल्म अस्करमा छनाेट भएपछि आक्रामक देखिएका छन् । सँगसँगै यो फिल्मले केवल फिल्मी क्षेत्रका दर्शकहरुलाई मात्र नभएर राजनीति र आर्थिक क्षेत्रका मानिसहरुको ध्यान समेत आकर्षित गरेको छ ।

यो विवादसँगै यो फिल्मको लोकप्रियता हवात्तै बढेको छ, युट्युव, गुगलसहितका सामाजिक संजालहरुमा यो फिल्मको बारेमा सोधखोज गर्नेहरुको संख्या विगत केही घण्टामा हवात्तै बढेको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
शाई कार्मेली पोलकले लेखन र निर्देशन गरेको यो फिल्म बाहेर आगबरियाले निर्माण गरेका हुन् । यो फिल्मका मुख्य कलाकारहरुमा मोहम्मद गजबी, खलिफा नटौर, गार्बिएल हर्नलगायत रहेका छन् । कथाकार, निर्माता र कलाकार सबै इजरायली नै हुन् ।
फिल्मले प्यालेष्टाइनमाथि इजरायलले कसरी आतँक मच्चाइरहेको छ र त्यहाँ कसरी नरसंहार मच्चाउँदैछ भन्ने कुराको भण्डाफोर गरेको छ ।
९३ मिनट लामो यो फिल्मले पहिलो पटक समुद्र तटमा जान आफ्नो ज्यान जोखिममा पार्ने १२ वर्षीय प्यालेस्टिनी बालकको कथालाई आधार बनाएको छ । उक्त बालक तथा उनका साथीहरुमाथि इजरायली सैनिकहरुले कसरी ज्यादती गर्छन् र इजरायलले समग्र प्यालेष्टाइनमा कसरी आतँक मच्चाइरहेको छ भन्ने देखाइएको छ ।
यो फिल्म द सीको जेरुसेलम फिल्म फेस्टिभलमा प्रिमियर हुनासाथ इजरायली सरकारले त्यो फिल्म चल्न नदिने घोषणा गरेको छ । अहिले अस्करमा मनोनयन भएपछि इजरायल सरकार आक्रोसित भएको छ । इजरायलका संस्कृति मन्त्री मिकी जोहरले उक्त फिल्मलाई ओस्कार पुरस्कार दिइए बलिउडका कुनै पनि फिल्म इजरायलमा चल्न नदिने चेतावनी दिएका छन् । इजरायल सरकारले फिल्म विरुद्ध अभियान चलाउँदै निर्माता र कलाकारलाई देशद्रोहको अभियोग लगाउने चेतावनी दिएपछि त्यसले विश्वभरकै फिल्म उद्योग तरंगित भएको छ । गत हप्ता, १,३०० भन्दा बढी फिल्म निर्माता, अभिनेताहरुले उक्त फिल्मलाई अवरोध नगर्न अनुरोध गर्दै इजरायली सरकारलाई एक प्रकारको चेतावनी नै दिएका छन् ।
स्मरण रहोस् इजरायलबाट अहिलेसम्म १० पटकसम्म अस्कर अवार्डमा मनोनयन भएको छ, तर मनोनयनमा परेका कुनै पनि फिल्मले अवार्ड जित्न सकेका छैनन । चर्काे विवादका बीच द सीलाई अस्कर अवार्ड जित्न सक्ने फिल्मको रुपमा लिइएको छ ।