त्यसबाहेक टीका लगाउने साइत र टीका लगाएपछि दिइने दक्षिणाको पनि आ-आफ्नै महत्त्व रहेको उनीहरूले बताएका हुन्।
घटस्थापनाबाट सुरु हुने दशैँमा दशौँ दिन अर्थात् दशमीको दिन मान्यजनको हातबाट टीका थापेर दक्षिणा लिने वा दिने गरिन्छ। त्यसपछि आशीर्वाद लिने वा दिने काम गरिन्छ।

ठाउँअनुसार दशैँमा कुनै समुदायले रातो, कुनैले सेतो, कुनैले पहेँलो र कुनैले कालो रङको समेत टीका लगाउने गर्छन्।
दशैँमा धेरै मानिसहरूले खासगरी हिन्दू समुदायका धेरैले रातो टीका लगाउने गरेको पाइन्छ। राई, लिम्बु, मगर, थारु, तामाङ र गुरुङ समुदायका कैयौँले भने दशैँमा अबिर वा केशरी नमिसाइएको सेतो टीका लगाउने गरेको पाइन्छ।
कसै कसैले दशैँमा देवीका लागि बालिएको दियोमा जम्मा हुने ध्वाँसो चामलमा मिसाएर मुछेर कालो टीका बनाएर लगाएको पनि देखिन्छ।
त्यस्तै पश्चिम नेपालको दैलेखको दुल्लुमा पहेँलो टीका लगाउने चलन रहे पनि पछिल्लो समय त्यो चलन हट्दै गएको त्यहाँका संस्कृतिविद्हरू बताउँछन्।
यसरी ठाउँ अनुसार फरक फरक टीका लगाउनुको पनि आफ्नो महत्त्व रहेको संस्कृतिविद् डाक्टर कान्ता भट्टराई बताउँछिन्।
विजया दशमी भनेको शक्तिको उपासना गरिने पर्व हो। रातो शक्तिको प्रतीक हो, सेतो सत्वको प्रतीक हो भने कालो महाकालीको स्वरूप भएका कारण शक्तिकै प्रतीक हो। पहेँलो भनेको पनि सत्वको प्रतीक हो। भगवान् नारायण पीताम्बरधारी हुनुहुन्छ। उहाँकी पत्नी लक्ष्मी पनि त्यही स्वरूपको प्रतीक हो। त्यसैले पहेँलो रङ्गको टीका लगाउनुको पनि आफ्नै अर्थ छ ।
दशैंमा लगाइने टीकामा के के प्रयोग गरिन्छ र किन ?
दशैँमा लगाइने टीकामा अक्षता, दही, रङका लागि अबीर वा केशरी अनि केरा मिसाउने गरिन्छ। यी सबै सामग्रीको पनि आफ्नै महत्त्व भएको डाक्टर भट्टराई बताउँछिन्।
'हामी कृषिसँग पनि सम्बन्धित छौँ, पशुपालनसँग पनि सम्बन्धित छौँ। प्रकृतिको पर्व पनि हो। सबै विषयलाई यसले समेटेको हुनाले टीकामा अक्षता, दही, केरा र रङको प्रयोग भएको हो', उनले भनिन्।
धर्माशास्त्रमा केरालाई बृहस्पति मानिन्छ। केराको वृक्षलाई गुरु मानिन्छ। हामीलाई ज्ञान पनि चाहिएको छ, शक्ति पनि चाहिएको छ, ऐश्वर्य पनि चाहिएको छ। मान्यजनको दर्शन मात्रै प्राप्त हुँदा पनि हामीमा त्यो ऊर्जा र शक्ति प्राप्त हुने भएकाले यो सबैको समन्वित रूप नै दशैँ हो।
साइत हेरेरै टीका लगाउनुपर्ने हो ?
प्रत्येक वर्ष नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीका लागि उत्तम साइत हेरेर सर्वसाधारणका लागि समय तोक्ने गरेको छ।
यो वर्ष पनि साइत सार्वजनिक गर्दै समितिले असोज १६ गते बिहीबार पर्ने विजया दशमीमा देवी विसर्जनको समय बिहान ९ बजेर २३ मिनेट तोकेको छ।
त्यस्तै टीका लगाउने साइत भने ११ बजेर ५३ मिनेट तोकेको छ। टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किन पनि सुझाइएको छ।
यसरी दिशा तय गरिनुको कारणबारे डाक्टर भट्टराई भन्छिन्,त्यो आफ्नो आफ्नो परम्परामा पनि भर पर्छ। तर प्रायस् टीका लगाइदिने मानिस पश्चिम फर्किने र लगाइमाग्ने मान्छे पूर्व फर्किनुपर्छ। चन्द्रमा कता फर्किएका छन् त्यो अनुसार कता फर्किने भन्ने हुन्छ। तर दक्षिण दिशामा चाहिँ फर्किनुभएन।
देशैंपिच्छे किन फरक साइत ?
विगत केही वर्षदेखि विकास समितिले नेपालमा मात्रै नभई विश्वभरि नेपालीहरू धेरै रहेका विभिन्न ३२ देशमा टीका लगाउने साइत हेर्ने गरेको छ।
टीका ग्रहणका लागि देशैपिच्छे उत्तम साइत हेर्नुको कारणबारे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य सचिव लक्ष्मण पन्थीले भने, त्यही देशको अक्षांश, देशान्तर, सूर्योदय, स्थानीय समय अनुसार तिथि निर्माण भएका कारण तिथिको भोग्य आधार मानेर साइत हुन्छ। सूर्योदय र चन्द्रको आधारमा त्यो समयमा कुन तिथि चलेको छ त्यसका आधारमा हाम्रो धर्मशास्त्रले निर्दिष्ट गरे अनुसार हामी कुन समयमा टीका लगाउन ठिक हुन्छ भनेर तय गर्छौँ।
तर उनका अनुसार दशमीको दिनमा घटस्थापनादेखि पूजा गरिँदै आएको देवी विसर्जनपछि टीका लगाउन मिल्ने र त्यो दिनभरि नै टीका लगाउँदा फरक नपर्ने पन्थी बताउँछन्।
कतिपयको घरमा जुठो सुतक पर्ने सम्भावना देखिए मानिसहरूले पञ्चाङ्ग समितिले तोकेको भन्दा अगाडिकै साइतमा पनि टिका लगाउने गरेको बताइन्छ।
दशैँमा दक्षिणा नदिए टीका पूर्ण हुँदैन ?
दशैँमा मान्यजनका हातबाट थापिने टीकाको जति महत्त्व छ त्यति नै महत्त्व दक्षिणाको पनि भएको संस्कृतिविद् कान्ता भट्टराई बताउँछिन्।
तर मान्यजनले टीका लगाइदिने भए पनि दक्षिणा भने मान्यजनले आफूभन्दा सानालाई मात्रै दिने गरिँदैन। बुवा आमाले छोराबुहारीलाई टीका लगाइदिए दक्षिणा भने छोराबुहारीले आमाबुवालाई दिने चलन रहेको उनी बताउँछिन्। त्यस्तै छोरीज्वाईँ वा दिदीबहिनीलाई भने आमाबुवा वा दाजुभाइले दक्षिण दिनुपर्ने नियम रहेको उनले बताइन्।
'जति टीकाको महत्त्व छ त्यति नै महत्त्व दक्षिणाको पनि छ। दक्षिणा नदिँदासम्म टीका पूरा हुँदैन। तर दक्षिणा दिँदा आफ्नो गच्छे अनुसार दिनुपर्छ। जसले दिन्छ उसको हात माथि हुन्छ', भट्टराईले भनिन्।
( बिबिसीबाट)