हाइ माष्ट लाइट, जसले बनाउँदै उज्यालो काठमाडौँ महानगर, तर दशैँ अघि सकिएन, तिहारसम्म सकिएला ?

Oct 01, 2025 11:10 AM Merolagani



सुवास निरौला

 

माथि राखिएको फोटो दरबार मार्ग स्थिति नारायणहिटी संग्राहालय अगाडिको हो। उक्त फोटोमा निक्कै ठुलो पोल छ। पोलको माथि बत्तीहरू जडान गरिएका छन्। यो बत्ती सामान्य बत्ती होइन। यो निक्कै धेरै उज्यालो पार्ने बत्ती हो। जुन बत्तीलाई “हाइ माष्ट लाइट ” भनिन्छ।

हाई मास्ट लाइट (High Mast Light) भनेको एउटा धेरै अग्लो पोलमा जडान गरिने प्रकाश यन्त्र हो। जसलाई ठुलो क्षेत्रमा उज्यालो बनाउन प्रयोग गरिन्छ। यसलाई प्रायः राजमार्ग, खेल मैदान, पार्क, एयरपोर्ट, र अन्य सार्वजनिक स्थानहरूमा सुरक्षा र रातका प्रस्ट दृश्यताको लागि प्रयोग गरिन्छ।

नेपालमा पनि माष्ट लाइटको प्रयोग बढ्दो छ। विशेष गरी,काठमाडौँ उपत्यका,पोखरा, ललितपुर, र अन्य प्रमुख सहरहरूमा माष्ट लाइट जडान गरिएका छन्। काठमाडौँ महानगरपालिकाले उज्यालो महानगर योजना अन्तर्गत विभिन्न स्थानमा माष्ट लाइट जडान गर्दैछ। काठमाडौँ महानगरले ६२ वटा चोकमा यो बत्ती जडान गरिरहेको छ। जसमा केही ठाउँमा यो बत्ती बल्न पनि सुरु गरिसकेको छ भने अन्य ठाउँमा बाल्ने क्रम जारी छ। बत्तीको लागि ६२ ठाउँमा नै पोल भने गाडी सकिएको महानगरले जनाएको छ। महानगरका अनुसार २१ वटा पोलको उचाइ १२.५ मिटर छ भने १६ मिटर उचाइको ४१ वटा पोल छन्। सबै पोलमा दशैँ अघि नै बत्ती बालिसक्ने योजना  भएपनि सम्पन्न हुन सकेन । तिहारसम्म सम्पन्न गर्ने योजना अनुरूप काम भइरहेको महानगरले जनाएको छ। तर यसको निर्माण  सम्पन्न हुने मिति आउने पुस ३० गते हो। त्यस अघि नै सम्पन्न गराउने तयारीमा महानगर जुटेको छ। यसको ठेक्का सूर्योदय ऊर्जा ब्राइट सन जेभि पाएको हो। उसले ९ करोड ९९ लाख ६४ हजार ९सय ९५.८० रूपैयामा ठेक्का पाएको हो।      

काठमाडौँमा मात्रै यो लाइट सीमित छैन। यस अघि नै रेसुङ्गा नगरपालिकाले गुल्मी जिल्लाको तम्घास बजार क्षेत्रमा माष्ट लाइट जडान गरिसकिएको छ। नेपालमा माष्ट लाइटको प्रयोगले सडक सुरक्षा, रातको समयमा दृश्यता सुधार र आपराधिक गतिविधिहरूमा कमी ल्याउन मद्दत पुर्‍याएको छ। साथै, यसले ट्राफिक दुर्घटनाहरूको सङ्ख्या घटाउन र सार्वजनिक स्थानहरूको सुरक्षा बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

विश्वमा माष्ट लाइट पोल सामान्यतया ३० मिटर (९८ फिट) वा सोभन्दा बढी उचाइको हुन्छ। यस पोलको माथिल्लो भागमा एक वा एकभन्दा बढी बत्ती जडान गरिएको हुन्छ। जसले चारैतिर उज्यालो फैलाउँछ। यी यन्त्रहरूमा प्रायः उच्च दबाबको सोडियम बल्ब, मर्क्युरी भाप बल्ब, मेटल हलाइड बल्ब, वा एलईडी बल्ब प्रयोग गरिन्छ। माष्ट लाइटको पोलको माथिल्लो भागमा एक लुमिनेयर रिङ जडान गरिएको हुन्छ। जसमा चार, छ, आठ, दस, बार, वा सोर वटा बत्तीहरू जडान गरिन्छ।

मेन्टेनेन्सका लागि, यी यन्त्रहरूलाई पोलको माथिल्लो भागबाट तल झारेर मर्मत गर्न सकिन्छ। यसका लागि पोलको माथिल्लो भागमा विन्च र मोटर जडान गरिएको हुन्छ। जसले लुमिनेयर रिङलाई पोलको माथिबाट तल झार्न मद्दत गर्दछ। यसरी, मर्मत कार्य गर्दा यातायातमा अवरोध नपरोस् भनेर विशेष ध्यान दिइन्छ।

माष्ट लाइटको इतिहास र विकास

माष्ट लाइटको अवधारणा १९६० को दशकमा विकसित भएको मानिन्छ। विशेष गरी,१९६६ मा अमेरिकाको टेक्सास राज्यको फोर्ट वर्थ सहरमा १२० फिट उचाइको अस्थायी माष्ट लाइट टावर जडान गरिएको थियो। यस प्रयोगबाट प्राप्त सकारात्मक परिणामहरूले माष्ट लाइटको प्रयोगलाई प्रोत्साहन दियो। त्यसपछि, १९६८ मा टेक्सास राज्यको सान एन्टोनियो सहरमा १०० फिट उचाइका २० वटा माष्ट लाइट टावर जडान गरिए। यी टावरहरूमा १० वटा १,००० वाटका फ्लड लाइटहरू जडान गरिएको थियो। यस अध्ययनले माष्ट लाइटलाई राजमार्ग र सार्वजनिक स्थानहरूको उज्यालो बनाउन प्रभावकारी उपायको रूपमा प्रमाणित गर्‍यो।

युरोपमा पनि १९६० को दशकमा माष्ट लाइटको प्रयोग सुरु भएको थियो। बेल्जियमलाई संसारको सबैभन्दा राम्रो उज्यालो भएका राजमार्गहरूको देश मानिन्छ। अमेरिकामा ह्यूस्टन सहरलाई माष्ट लाइटको प्रयोगमा अग्रणी मानिन्छ। आधुनिक माष्ट लाइट टावरहरू सामान्यतया १२५ देखि १५० फिट उचाइका हुन्छन् र ७०० फिटको दूरीमा जडान गरिन्छ।




सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश

Sep 26, 2025 12:09 PM

सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।