अहिलेको सरकारले विकास निर्माणको कामसँगै राजनीतिक स्थिरता दिने : कुलमान घिसिङ

Oct 02, 2025 05:51 PM Merolagani



भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अबको तीन दिनसम्म अत्याधिक वर्षा हुनसक्ने पूर्वानुमान रहेको भन्दै शतर्कताका साथ यात्रा गर्न आग्रह गरेका छन् ।

विपी राजमार्गको अवलोकन एवं निरीक्षण गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री घिसिङले बुधवार विपी राजमार्गको अवलोकन एवं निरीक्षण गरेका थिए। जसमा गत वर्षको बाढी र पहिरोले धेरै क्षति पु-याएको र अहिलेसम्म पनि पुल र सडक नबनेकाले अब नयाँ अध्ययन गरेर काम अघि बढाइने र छिटो काम सम्पन्न गर्नेगरी अघि बढ्ने बताए । अब आउने हिउँददेखि विपी राजमार्गको सडक बनाउन शुरु गरिने बताए । सरकार अफ्ठ्यारो स्थिति रहेको भन्दै विषम परिस्थितिलाई सुरक्षित अवतरण गर्नु सरकारको चुनौति रहेको बताए । उनले अहिलेको सरकारले विकास निर्माणको कामसँगै राजनीतिक स्थिरता दिने बताए । आफूहरुले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाए । उनले छोटो समयमा धेरै विकास निर्माणका काम गर्नुपर्ने अवस्था रहेको बताए । 

मन्त्री घिसिङले भने, ‘विपी राजमार्ग र मुग्लिङ–नारायणगढ सडकमा धेरै ठूलो पानी पर्ने भन्ने पूर्वानुमान छ, त्यसले सबैले यात्रालाई सुरक्षित हिसावले शतर्कतासाथ गर्नुहोला । नेपाल सरकारले गर्नुपर्ने काम टेण्डर भइसकेको छ । अब आउने हिउँददेखि विपी राजमार्गको सडक बनाउन छिटो भन्दा छिटो गरेर पहिलाकै अवस्थामा ल्याउन पहल गर्नेछौँ । पक्की पुलहरु पनि गत सालको बाढीले बगाएको अवस्था छ । कसरी त्यसको विकल्प दिने र पक्की पुल कसरी बनाउने र कहाँ बनाउने भन्ने निरीक्षणमा हामी छौँ । रोशी खोलाको बेलिब्रिज भत्किएको अवस्था रहेछ, कसरी त्यसलाई सुचारु गर्ने भन्नेमा सोचिरहेका छौँ । धेरै जाम नहोस् भनेर निरीक्षणका लागि आएका हौँ । विपी हाइवे र मध्यपहाडी हाइवेमा जोड्ने पुलहरुको अवस्था खैरहनी घाटको पुल गत सालको बाढीले बगाएको थियो । त्यसलाई बेलिब्रिज कसरी तत्काल बनाउने भनेर अध्ययन गरेर अघि बढाउँछाँै ।’


मन्त्री घिसिङले अब देशभरकै लामो समयसम्म सम्पन्न नभएका सडक, पुलका ठेक्का तोडेर नयाँ ठेक्क लगाइने बताए । उनले मरिन डाइभर्सनको बारेमा धेरै छलफल भएको र कन्ट्याक्टरसँग धेरै चरणको छलफल भएको र कसरी सम्पन्न गर्न सकिन्छ भनेर निश्चित समयावधिअनुसार योजना बनाएर ल्याउन आग्रह गरेको बताए ।




सुन र चाँदीको मूल्यमा रेकर्ड ब्रेक, कति पुग्यो मूल्य ?

Sep 28, 2025 10:58 AM

असोज १२ गते, आईतबार,नेपाली बजारमा सुन र चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो ।