जेनजी आन्दोलन पछि नयाँ सरकार गठन भयो। यस अघि नयाँ सरकार बन्दा शेयर बजारले बढ्दो लय समाउने गर्थ्यो। तर यस पटक विपरीत शेयर बजार घट्यो। शेयर बजारले नयाँ सरकारलाई विश्वास गरेन। सोही कारण शेयर बजार घट्यो। त्यसलाई पनि स्वाभाविक नै मान्नु पर्छ।
तर अहिले पनि शेयर बजारले लय समाउन सकिरहेको छैन। लय समाउन नसक्नुको प्रमुख कारणको रुपमा दलहरू निर्वाचनमा जाँदैनन् कि भन्ने आशङ्का र निर्वाचनको विषयलाई लिएर दलहरू पिच्छे फरक फरक मत हनुलाई लिइएको छ। कारोबारको हिसाबले नेपाको सबैभन्दा ठुलो ब्रोकर कम्पनी नाशा सेक्युरुटीजका प्रमुख कार्यकारी अधिकृत मदन पौडेल भन्छन्“अहिले शेयर बजार घट्नुको प्रमुख कारण नै राजनैतिक अस्थिरता हो। दलहरूपिच्छे फरक मत हुनु र आगामी निर्वाचनका दलहरू सहभागी हुँदैनन् कि भन्ने आशङ्का र मुठभेडको वातावरण बन्ने हो कि भन्ने छ”
पौडेले मात्रै होइन शेयर बजारका जानकारहरूले अहिले शेयर बजार घट्नुको प्रमुख कारण यही नै रहेको औँल्याइरहेका छन्। तर के अहिले राजनीतिक विषयलाई लिएर जसरी अनुमान आइरहेको छ, त्यस्तै अवस्था आउला ? पछिल्लो समय बिस्तारै बदलिँदै गएको राजनीति अवस्थाले भने त्यस्तो अवस्था आउने देखाउँदैन।
किनकि जेनजी आन्दोलन पछि पहिलो पटक सार्वजनिक भएका काँग्रेस सभापति शेर बहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकबाटै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति घोषणा गरेर आफू पार्टी नेतृत्वबाट अलग हुने सन्देश दिए। अझै, देउवाले फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले भाग लिने उल्लेख गर्दै देशलाई संवैधानिक बाटोमा फर्काउने आधार नै निर्वाचन भएको बताए। यसले काँग्रेस आगामी निर्वाचनमा सहभागी हुन्छ भन्ने जनाउ दिन्छ।
उता माओवादी पहिले देखिनै निर्वाचनमा जान तयार छ। माओवादीका शीर्ष नेता पुष्प कमल दाहालले सार्वजनिक अभिव्यक्ति दिँदै सो कुरा बताउँदै आएका छन्।
वाँकी रह्यो नेकपा एमाले मात्रै एउटा यस्तो पार्टी हो जसले निर्वाचनलाई भन्दा बढी संसद् पुरस्थापनालाई जोड दिई रहेको छ। "नेकपा एमालेका नेता केपी ओलीले मात्रै अहिलेको सरकारको निन्दा गरिरहेका छन्। उनलाई पनि पार्टीका तल्लो तहका नेताले दबाब बढाउँदै लगेका छन्। तर उनी गलेका छैनन्। मुलुकका सबै राजनीतिक दलले आउने निर्वाचनमा भाग लिने निर्णय गर्दै गर्दा एमाले एक्लो भाग नलिने राजनीतिक दल पक्कै हुने छैन। उसले पनि नेपाली जनताको लागि नै राजनीति गर्ने हो। फेरि आम सर्वसाधारण समेत निर्वाचन कै पक्षमा छन्। लोक निर्वाचनको पक्षमा हुँदै गर्दा एक्ला केपी ओली मात्रै निर्वाचनको विपक्षमा जान सक्ने छैनन्। तत्कालै निर्वाचन स्वीकार गर्न मात्रै उनलाई असजिलो भएको हो। ढिलो चाँडो उनी पनि निर्वाचनको पक्षमा आउने नै छन्" लगानीकर्ता केशब कोइरालाले भने।
जब मुलुक बिस्तारै निर्वाचनको पक्षमा जाँदै गर्दा एक्लो शेयर बजारले मात्रै निर्वाचनमा संशय राखी राख्न सक्दैन। जति जति राजनैतिक दलहरूले निर्वाचनको तयारी गर्दै जाने छन्। त्यति त्यति शेयर बजारले पनि लय समाउनेमा संङ्का छैन। तर तत्काल भने शेयर बजारका लगानीकर्ता चाहिँदो भन्दा बढी डराएको देखिन्छ। जसले गर्दा शेयर बजार पनि सुस्त हुँदै गइरहेको छ। चाहिने भन्दा बढी डर पनि त्यति स्वास्थ्यकर हुँदैन। चाहिने भन्दा बढी आशङ्का र डरले नै शेयर बजारलाई जसरी प्रभाव पारिरहेको छ। त्यसले शेयर बजार र लगानीकर्ता दुबैलाई राम्रो गर्दैन।