दीपहरुको पर्वका रुपमा समेत मनाइने तिहारका अवसरमा यस वर्ष ३० करोड बराबरको झिलिमिली बत्तीको कारोबार हुने देखिएको छ ।
यसपालीको तिहारमा पनि करिब ३० करोड बराबरको झिलिमिली बत्तीको कारोबार हुने देखिएको नेपाल विद्युत्तीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले बताए । ‘यस वर्षको तिहारमा पनि ३० करोड हाराहारीकै बत्तीको कारोबार हुने देखिएको छ,’ उनले बताए ।

उनका अनुसार, विगतका वर्षहरुको तुलनामा बत्तीहरुको व्यापार केही घटेको छ । ‘विगत तीन वर्षअघि जस्तो उत्साह छैन । घर निर्माणहरु कम हुँदै गए । एकपटक किनेको बत्ती पुनः प्रयोग गर्न मिल्ने भएकाले पनि कारोबार केही घट्ने देखिन्छ,’ उनले बताए ।
तिहारका लागि आवश्यक पर्ने झिलिमिलि बत्ती सबैभन्दा बढी चीनबाट आयात हुने गर्छ । तर, चिनिँया तातोपानी नाकाको सहजताका कारण सबै व्यापारीले बत्ती ल्याइ नसकेको उनको भनाइ छ । ‘तिहारका लागि झिलिमिली बत्तीको व्यापार सुरु भएको छ,’ उनले भने, ‘केही व्यापारीले तातोपानी नाका अवरुद्ध हुँदा ल्याइपुर्याउनुभएको छैन ।’
बजारमा झिलिमिली बत्तीहरू फरक–फरक मूल्यमा उपलब्ध छन् । न्युनतम प्रतिगोटा डेढ सयदेखि २० हजार रुपैयाँसम्म पर्ने बत्तीहरू तिहारका लागि आयात हुन्छन् । विभिन्न रङमा बल्ने–निभ्ने यस्ता बत्ती उपभोक्ताले घर, बगैंचा, कार्यालय, बिजनेस मल लगायतको सजावटका लागि अत्यधिक प्रयोग गर्छन् ।
खासगरी तिहार सकिने बित्तिकै छठ पर्व सुरू हुने भएकाले व्यवसायीहरुले सो समयसम्मका लागि धान्ने गरी बत्ती आयात हुने गरेको छ । अहिले काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका सहरमा यस्ता बत्तीको माग बढ्दै गएको महासंघको भनाइ छ ।
पछिल्लो समय सिजनको व्यापार भएकाले तिहारका लागि भित्रिएका सामान फुटपाथमै पनि व्यापारीले बिक्री गर्ने गरेका छन् । तर, यो पटक गत वर्ष जस्तो रौनक भने छैन ।
तिहारका बेला देवी देवताका फोटोमा जोडिएको बत्तीको व्यापार समेत हुने गरेको छ । नेपालमा ४ हजार बढी व्यवसायीले विद्युत्तीय बत्तीको कारोबार गर्दै आएको महासंघले जनाएको छ ।