शेयर बजारका समस्या सानो मसाजले समाधान हुँदैन, ठूलो सर्जरी गर्नुपर्छ

Oct 16, 2025 06:56 PM Merolagani



शेयर बजार निरन्तर घटेको छ । निरन्तर घटेको बजार आज २५ सयको मनोवैज्ञानिक विन्दुबाट २४ सयको लाईनमा झरेको हो । बिहीबारको शेयर बजार १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेको छ । यसदिन तीन अर्ब २७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

पछिल्ला दिनहरुमा नेप्से सूचकसँगै कारोबार रकम समेत घटेको छ । बजारमा निरन्तरको गिरावट हुँदा लगानीकर्ताहरु लगानी गर्न तयार भएका छैनन् । सोही कारण बजारमा खरिदकर्ता भन्दा पनि बिक्रीकर्ता नै हाबी हुने गरेका हुन् । सूचकमा घटबढ हुनु बजारको सामान्य प्रकृया हो । तर निरन्तरको गिरावटले बजारको मनोभावना समेत गिराएको लगानीकर्ताहरुको भनाइ छ ।

शेयर बजार सुधारको लागि सरकारले नीतिगत सहज बनाउँदैछ । बजारलाई अप्ठ्याराे पारेका नीतिहरु खुकुलो हुँदैछन् । तर बजारमा त्यसको सकारात्मक प्रभाव देख्न सकिएको छैन । अहिले  शेयर बजारमा ठूलो समस्या छ । यो समस्या समाधान गर्न सानो मसाजले पुग्दैन र ठूलै सर्जरी गर्नुपर्ने लगानीकर्ता हरिबहादुर केसीले बताए । कार्यदलको सुझाव बजारको लागि सामान्य मसाज मात्रै भएको केसीको बुझाई छ । त्यसले बजारको समस्यामा केही राहत हुनेछ । तर बजारका वास्तविक समस्या समाधा हुँदैनन् । बजारको सबै भन्दा ठूलो समस्या सुशासन हो ।

 

 

यसको समाधानको लागि ऐनको संशोधन नै गर्न जरुरी छ । बजारमा लगानीकर्ता र कम्पनीहरुको गतिविधिलाई कानुनी दायरामा ल्याउनु पर्छ । बजारको प्रभावकारी नियमन हुनुपर्छ । साथै सरोकारवाला निकाय पारदर्शी र जिम्मेवार भए मात्रै शेयर बजारको सुधार र विकास हुने केसीको धारणा छ ।