डिजिटल ठेगानामा लोकेशन र घरसँग सम्बन्धित विवरण राखिने भएकाले घरधनीको व्यक्तिगत जानकारी पनि सार्वजनिक हुने र सुरक्षा खतरा बढ्ने आशंकाले उनीहरु अन्योलमा परेका हुन् ।
महानगरपालिकाले कता हो एप डाउनलोड गरेपछि उपभोक्ताले डिजिटल ठेगानासम्बन्धी क्युआर लिनसक्ने र महानगरपालिकाले त्यसलाई जडान गर्ने बताएका छन् । स्थानीय कोड र गुगलप्लस कोडमा समेत आधारित यो एफमार्फत् क्युआर जडान गरेपछि सम्बन्धित स्थानबारे सहजै जानकारी प्राप्त गर्न सक्ने महानगरपालिकाको भनाइ छ । उक्त एप अड्रेसग्राफ नेपाल प्रालि नामक कम्पनीले तयारी गरेको हो । कम्पनीको अध्यक्ष लक्ष्मण रिमाल रहेका छन् ।

क्युआर जडानपछि स्थानीय ठेगानालाई सहज बनाउने र दमकल, एम्बुलेन्सलगायतका अति आवश्यक सवारी साधनको आवातजावतमा मद्धत पुग्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरको भनाइ छ ।
स्थानीयवासीले भने घरको डेटा सुरक्षामा चिन्ता गरेका छन् । घरबाहिरको क्यूआर कोड स्क्यान गर्दा घरका विवरणहरू पाइने भएकाले घरमा कोही नभएका बेला चोरी भए के गर्ने भन्ने स्थानीयले गरेका छन् । महानगरपालिकाले भने त्यस्तो स्क्यान गर्दा घरको ठेगाना मात्र देखिने घर भित्रका विवरण नदेखिने दावी गरेको छ । त्यसप्रति स्थानीय वासिन्दा विश्वस्त हुन सकेका छैनन् ।
डिजिटलरुपमा बैंकिङ प्रणालीसमेत सुरक्षित हुन नसकेको अवस्थामा घर बाहिर राखिने क्यूआर कोड ह्याक गरेर दुरुपयोग हुन सक्दैन भन्ने के ग्यारेण्टी भन्ने स्थानीय वासिन्दाहरुको आंशका रहंदै आएको छ । क्यूआर कोड जडान गरेपछि घरमा चोरी, लुटपाटलगायतका घटना भए त्यसको जिम्मेवारी महानगरपालिकाले लिन सक्नु पर्ने गुनासो आइरहेको वडा नं २६ का एक जनप्रतिनिधिले मेरो लगानीसँग भने ।
कात्तिक महिनाभरिमा वडाभित्रका सबै ६,९०० घरमा जडान गरिसक्ने लक्ष्य राखेको महानगरपालिकाले जानकारी दिएको छ ।