लाइन काटिने भएपछि १६ उद्योगले गुहारे प्रधानमन्त्री कार्यालय, तथ्य प्रमाण दिलाए महशुल तिर्न तयार रहेको दाबी

Oct 17, 2025 02:20 PM merolagani



ट्रंक तथा डेडिकेटेड महशुल बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने भएपछि विभिन्न १६ वटा उद्योग तथा प्रतिष्ठानहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संयुक्त रुपमा निवेदन बुझाएका छन् ।

उनीहरुले उद्योगमा खपत भएको विद्युतबापत नेपाल विद्युत् प्राधिकरणबाट जारी भएको सम्पूर्ण बिजकको रकम तिरिसकेको बताएका छन् ।

 

उनीहरुले कुनै पनि बक्यौता नराखेकाे बताएका छन् । यसअघि लाल आयोगको सिफारिस बमोजिम प्रमाणका आधारमा जे जति रकम बक्यौता कायम हुन आउँछ सो रकम तिर्न बुझाउन तयार रहेको भए पनि प्राधिकरणले बिना प्रमाण विशेष दरमा महशुल माग गरेको उनीहरुको भनाइ छ ।

विशेष दरमा महशुल माग गरेकोविरुद्ध रितपूर्वक पुनरावलोकनका लागि निवेदन गरेको र उक्त निवेदन विचाराधीन रहेको अवस्थामा नै सम्पूर्ण पुनरावलोकन रद्ध गर्ने निर्णय प्राधिकरणको सञ्चालक समितिबाट गरेर आगामी कात्तिक २ गतेभित्र बक्यौता नतिरे विद्युत् लाइन नै काट्ने सूचना पठाएपछि उद्योगीहरुले प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।

प्राधिकरणले लाल आयोगले सिफारीस गरेअनुसार टाइम अफ द मिटर(टीओडी) मिटरका आधारमा स्पष्ट प्रमाण र तथ्य बुझाएमा मात्र बक्यौता तिर्न तयार रहेको बताएका छन् । अन्यथा, उनीहरुले लिँदै नलिएको विद्युत् सेवाको महशुल बक्यौता तिर्न बाध्य नहुने बताएका हुन् ।