अन्तरिम सरकारको कामको प्राथमिकताबारे प्रधानमन्त्रीकाे विभिन्न देशका राजदुतसँग ब्रिफिङ

Oct 17, 2025 04:27 PM merolagani



प्रधानमन्त्री सुशील कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको बताएकी छिन् ।

शुक्रवार अपरान्ह सिंहदरवारमा नेपालस्थित विभिन्न देशका राजदुत तथा कुटनीतिक नियोग प्रमुखहरुसँग पहिलो पटक सामुहिक भेटगरी उनले आफू नेतृत्वको अन्तरिम सरकारको कामको प्राथमिकताबारे ब्रिफिङ गरेकी हुन् ।

परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री कार्कीले नेपालको विदेश सम्बन्ध र त्यसका नीतिका बारेमा पनि आफ्नो धारणा राखेकाे परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । त्यस अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहयोगको अपेक्षा गरिएको पनि बताएन । उनले निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षक परिचालन र विदेशमा रहेका सबै नेपालीहरुलाई पनि मतदानमा सहभागी गराउने विषयमा पनि छलफल भइरहेको बताइन । फागुन २१ गतेको निर्वाचनमा विदेशमा रहेका सबै नेपाली नागरिकलाई मतदानमा भाग लिन लगाउने विषयमा पनि आफूले छलफल गरिरहेको कुरा पनि प्रधानमन्त्री कार्कीले राजदुतहरुसँग गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री कार्कीसँगको भेटमा नेपालस्थित विभिन्न देशका राजदुत र कुटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी भएका थिए ।